1“मेरो जीवनलाई नै म घृणा गर्दछु। यसर्थ मेरो दु:ख नरोकी म पोखाउनेछु, र म मेरो मनको पीरमा बोल्नेछु,
2म परमेश्वरलाई भन्नेछु: मलाई दोषी नठहराउनुहोस्, तर मेरो विरुद्धमा भएका तपाईंका अभियोग मलाई बताइदिनुहोस्,
3के तपाईं आफ्नो सारा हातका कामलाई तुच्छ ठानी ममाथि अत्याचार गर्न खुशी हुनुहुन्छ, जब कि दुष्टहरूको योजनामा हाँस्नुहुन्छ।
4के तपाईंका मानिसका जस्ता आँखा छन्? के तपाईं मरणशील मानिसझैँ देख्नुहुन्छ?
5के तपाईंका दिन मरणशील मानिसका जस्तै छन्? अथवा तपाईंको आयु मानिसको जस्तै छ?
6र तपाईं ममा दोष खोज्नुहुन्छ, र मेरा पापको खोजपत्ता गर्नुहुन्छ?
7यद्यपि म निर्दोष छु अनि तपाईंको हातबाट कसैले मलाई बचाउन सक्दैन भनी तपाईं जान्नुहुन्छ।
8“तपाईंकै हातले मेरो आकार बनाए अनि मलाई सृष्टि गरे, के अब फर्केर तपाईं मलाई नाश गर्नुहुन्छ?
9यो कुरा सम्झनुहोस् कि तपाईंले नै मलाई माटोलाई झैँ आकार दिनुभयो, के अब मलाई धूलैमा परिणत गर्नुहुन्छ?
10के तपाईंले मलाई दूधझैँ खन्याउनुभएको होइन? र दहीझैँ मलाई जमाउन लगाउनुभएको होइन?
11के तपाईंले मलाई मासु र छालाले पहिर्याउनुएको होइन? र हड्डी र नसाहरूले मलाई गाँस्नुभएको होइन?
12तपाईंले मलाई जीवन प्रदान गर्नुभयो, र आफ्नै निगाहमा मलाई राख्नुभयो, अनि मेरो आत्मालाई तपाईंकै ईश्वरीय अनुग्रहले रेखदेख गर्यो।
13“तर यसलाई तपाईंले हृदयमा गुप्त राख्नुभयो, अनि म जान्दछु कि यो तपाईंको मनमा थियो,
14यदि मैले पाप गरेको भए तपाईंले मलाई हेरिरहनुहुन्थ्यो, र मेरो दोषबाट मलाई तपाईंले छोड्नुहुनेथिएन।
15म साँच्ची नै दुष्ट छु भने, मलाई धिक्कार होस्। म निर्दोष छु भने पनि मेरो शिर म खड़ा गर्न सक्दिनँ, किनभने लाजले भरिएर म मेरो कष्टमा झुकेको छु।
16यदि म अभिमानी भए, सिंहझैँ तपाईं मलाई खोज्नुहुन्छ, र फेरि भयानक शक्तिले तपाईं मेरो सामना गर्नुहुन्छ।
17तपाईं मेरो विरुद्धमा नयाँ साक्षी ल्याउनुहुन्छ, र मप्रति रीस बढ़ाउनुहुनेछ। मेरो विरुद्धमा तपाईंका लहर-लहर फौज आउनेछन्।
18“तपाईंले किन मलाई गर्भबाट निकाल्नुभयो? म त्यहीँ नै खतम भएको र कुनै आँखाले पनि मलाई नदेखेको भए त हुनेथियो!
19म हुँदै नभएको भए वा गर्भैबाट चिहानमा पुर्याएको भए हुनेथियो!
20के मेरो छोटो जीवन बितिजाने समय भएन र?
21अन्धकारको देशमा जान अघि, घनघोर अन्धकारको देशबाट कहिल्यै नफर्कनु अघि,
22छायाहरू जम्मा हुने देश, अँध्यारो व्याप्त हुने देश, उज्यालोको किरणले प्रकाश नदिएको देश, निस्पट्ट अँध्यारोमा जान अघि, मबाट फर्कनुहोस् र केही क्षणको निम्ति म सुखी हुन सकूँ।”