1सोपर नमातीले उत्तर दिए:
2“के यो कुराको जवाफ नदिने? के यो बकबकेलाई समर्थन गर्ने?
3के तपाईंको नटुँङ्गिने कुराले मानिसलाई मौन बनाउँछ? के तपाईंले ठट्टा गर्दा कसैले तपाईंलाई नहप्काउने?
4‘मेरा विचार ठीकै छन् र तपाईंको दृष्टिमा म चोखो छु’ भनी तपाईं परमेश्वरलाई भन्नुहुन्छ।
5परमेश्वर बोलून्, उहाँले आफ्नो मुख तपाईंको विरुद्धमा खोलून् भन्ने मेरो कस्तो चाहना छ।
6अनि तपाईंका बुद्धिका रहस्यहरू खोलिदेऊन्। किनकि सत्य बुद्धिका दुई पक्ष छन्। यो जान्नुहोस् परमेश्वरले तपाईंका कति वटा पाप भुलिसक्नुभएको छ।
7“के तपाईं परमेश्वरको रहस्यको गहिराइलाई बुझ्न सक्नुहुन्छ? के तपाईं सर्वशक्तिमान्को सीमालाई जाँच्न सक्नुहुन्छ?
8त्यो त स्वर्गभन्दा अल्गो छ, तपाईं के गर्न सक्नुहुन्छ? त्यो ता चिहानभन्दा [1] गहिरो छ, तपाईं के जान्न सक्नुहुन्छ?
9त्यसको नाप पृथ्वीभन्दा लामो छ, र समुद्रभन्दा चौड़ा छ।
10“उहाँ आउनुभई तपाईंलाई बन्दीगृहमा राख्नुभयो, र अदालत बोलाउनु भयो भने, कसले उहाँको विरोध गर्न सक्छ?
11कुन-कुन मानिस झूटा छन् उहाँले निश्चय जान्नुहुन्छ, अनि उहाँले अधर्म देख्नुभयो भने, के उहाँले त्यसको लेखा राख्नुहुन्न?
12तर मूर्ख मानिस बुद्धिमान् हुन सक्दैन, जसरी वन-गधाको बछेड़ा मान्छे भएर जन्मन सक्दैन।
13“तर पनि तपाईंले आफ्नो हृदय ठीक बाटोमा लगाउनुभो, र आफ्ना हात उहाँतिर पसार्नुभो,
14तपाईंको हातमा भएको पाप दूर गर्नुभयो भने, र कुनै अधर्मलाई तपाईंको घरमा बस्न दिनुभएन भने,
15तब कुनै शर्मविना तपाईंले आफ्नो शिर खड़ा गर्नुहुनेछ, तपाईं डरविना स्थिर मानिस हुनुहुनेछ।
16तब तपाईंले आफ्नो दु:ख बिर्सनुहुनेछ। बगेर गएको पानीझैँ त्यो तपाईंले सम्झनुहुनेछ।
17जीवन मध्यदिनभन्दा उज्यालो हुनेछ, र अन्धकारचाहिँ बिहानमा परिवर्तन हुनेछ।
18आशा भएको हुनाले तपाईं सुरक्षित हुनुहुनेछ। तपाईंले चारैतिर हेर्नुहुनेछ, र निर्धक्क सुत्नुहुनेछ।
19तपाईं कसैको डर नमानी पल्टनुहुनेछ, र धेरै मानिसहरूले तपाईंको निगाह प्राप्त गर्न खोज्नेछन्।
20तर दुष्टहरूका आँखा बन्द हुनेछन्, भाग्ने बाटोहरू तिनीहरूका निम्ति बन्द हुनेछन्, र तिनीहरूको आशा अन्तिम सुस्केरा हुनेछ।”