अय्‍यूब 12:1-25 NNRV2012 - Bible AI

1तब अय्‍यूबले जवाफ दिए:

2“निस्‍सन्‍देह तपाईंहरू मानिस हुनुहुन्‍छ, र सम्‍पूर्ण बुद्धि तपाईंहरूसितै मर्नेछ!

3तर तपाईंहरूको जस्‍तो मेरो पनि मन छ, केही कुरामा पनि म तपाईंहरूभन्‍दा कम छैनँ। यस्‍ता कुरा कसले जान्‍दैन र?

4“तापनि म मेरा मित्रहरूको निम्‍ति एउटा हाँसोको पात्र भएको छु, यद्यपि मैले परमेश्‍वरलाई पुकारें, र उहाँले उत्तर दिनुभयो— निर्दोष र निरपराध भए पनि हाँसोको पात्र।

5सुखमा बस्‍ने मानिसहरू दुर्भाग्‍यलाई घृणा गर्दछन्‌। चिप्‍लन लागेका पाउजस्‍तै तिनीहरू हुन्‍छन्‌।

6लूटपीट गर्नेहरूका पालमा खलबल हुँदैन, र परमेश्‍वरलाई रीस उठाउनेहरूचाहिँ सुरक्षित रहन्‍छन्‌— तिनीहरू जसले आफ्‍ना देवहरूलाई आफ्‍ना हातमा बोक्‍छन्‌।

7“तर गएर पशुलाई सोध्‍नुहोस्‌ र तिनीहरूले तपाईंलाई सिकाउनेछन्, अथवा आकाशका चराहरूलाई, अनि उनीहरूले तपाईंलाई बताउनेछन्,

8अथवा पृथ्‍वीसित बोल्‍नुहोस्, र त्‍यसले तपाईंलाई सिकाउनेछ, वा समुद्रका माछालाई तपाईंलाई सिकाउन दिनुहोस्‌।

9परमेश्‍वरको आफ्‍नै हातले यी सबै गर्नुभएको हो भनी यी सबैमध्‍येबाट कसले जान्‍दैन र?

10जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्‍मा परमेश्‍वरकै हातमा छ।

11के जिब्रोले खानेकुराको स्‍वाद लिएझैँ बोलेका वचन कानले जाँच गर्दैन र?

12के पाकाहरूका बीचमा बुद्धि पाइँदैन र? के लामो आयुले समझ ल्‍याउँदैन?

13“बुद्धि र पराक्रम परमेश्‍वर कै हुन्, उहाँसँगै सल्‍लाह र समझ छन्‌।

14उहाँले भत्‍काउनुभयो भने त्‍यो पुनर्निर्माण हुँदैन, उहाँले कैद गर्नुभएको मानिसको छुटकारा हुँदैन।

15उहाँले पानी रोक्‍नुभयो भने खड़ेरी पर्छ, उहाँले त्‍यो छोड़िदिनुभयो भने त्‍यसले भूमिलाई सर्वनाश पार्छ।

16सामर्थ्‍य र विजय उहाँ कै हुन्, धोका दिने र धोका खाने दुवै उहाँकै हुन्‌।

17उहाँले सल्‍लाहकारहरूलाई निर्बुद्धि तुल्‍याउनुहुन्‍छ, र न्‍यायाधीशहरूलाई मूर्ख बनाइदिनुहुन्‍छ।

18राजाहरूले लगाइदिएका बन्‍धनलाई उहाँले फुकाल्‍नुहुन्‍छ, अनि तिनीहरूका कम्‍मरमा अधिकारको पटुका लगाइदिनुहुन्‍छ।

19उहाँले पूजाहारीहरूलाई नाङ्गो पारी डोर्‍याउनुहुन्‍छ, र चिरकालदेखि काम गर्ने मानिसहरूलाई उहाँले खारिज गरिदिनुहुन्‍छ।

20भर पर्न सक्‍ने सल्‍लाहकारलाई उहाँले चूप तुल्‍याउनुहुन्‍छ, वृद्ध मानिसको बुद्धि उहाँले रद्द गर्नुहुन्‍छ।

21उहाँले शासकहरूमाथि निन्‍दा खन्‍याउनुहुन्‍छ, र शक्तिशालीलाई नि:शस्‍त्र पार्नुहुन्‍छ।

22उहाँले अन्‍धकारका गहिरा रहस्‍यहरू प्रकट गर्नुहुन्‍छ, र निस्‍पट्ट अँध्‍यारोमा उहाँले प्रकाश ल्‍याउनुहुन्‍छ।

23उहाँले जाति-जातिहरूलाई महान्‌ बनाउनुहुन्‍छ र तिनीहरूलाई नाश गर्नुहुन्‍छ उहाँले जातिहरूलाई विस्‍तार गर्नुहुन्‍छ र तिनीहरूलाई तितरबितर पार्नुहुन्‍छ।

24उहाँले पृथ्‍वीका शासकहरूका बुद्धि खोस्‍नुहुन्‍छ, र बाटो नभएको उजाड़-स्‍थानमा यताउता बरालिन तिनीहरूलाई छोड़िदिनुहुन्‍छ।

25उज्‍यालोविना तिनीहरू अन्‍धकारमा छामछाम-छुमछुम गरिहिँड्‌छन्, र मताहा मानिसझैँ धरमरिँदै हिँड्‌नलाई उहाँले तिनीहरूलाई त्‍यागिदिनुहुन्‍छ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>