1“यी सबै ता मैले आफ्नै आँखाले देखेको छु, मेरा आफ्नै कानले ती सुनेको छु, र मैले ती बुझेको छु।
2तपाईंहरू जे जान्नुहुन्छ, त्यो म पनि जान्दछु। कुनै कुरामा म तपाईंहरूभन्दा कम छैनँ।
3तर मचाहिँ त सर्वशक्तिमान्सँग कुरा गर्न, र परमेश्वरसँग बहस गर्न चाहन्छु।
4तपाईंहरूचाहिँ आफ्ना झूटा कुराले सत्यलाई कलङ्कित पार्नुहुन्छ, तपाईंहरू सबै बेकम्मा वैद्यहरू हुनुहुन्छ, तपाईंहरू सबै!
5तपाईंहरू चूप लागी बसे ता हुनेथियो! चूप लागेकोले नै तपाईंहरू बुद्धिमान् ठहरिनुहुनेथियो!
6अब मेरो बहस सुन्नुहोस्, अनि मैले मेरो मामिला पेश गर्दा ध्यानसित सुन्नुहोस्।
7के तपाईंहरू परमेश्वरको पक्षमा भएर यसरी अप्रिय कुरा बोल्नुहुन्छ? अथवा उहाँको पक्षमा भएर तपाईंहरू झूटो कुरा साबित गर्नुहुन्छ?
8के तपाईंहरूले परमेश्वरको पक्ष लिनैपर्छ? अथवा उहाँको निम्ति मामिला पेश गर्नुहुन्छ?
9उहाँले तपाईंहरूको जाँच गर्नुहुँदा के सबै ठीकै पाइएला? के मानिसहरूलाई छक्क्याएझैँ तपाईंहरू उहाँलाई पनि छक्क्याउनुहुन्छ?
10मलाई झूटा दोष लाएर तपाईंहरूले उहाँको पक्ष लिनुभयो भने, उहाँले निश्चय नै तपाईंहरूलाई हप्काउनुहुन्छ।
11के परमेश्वरको महामहिमाले तपाईंहरूलाई भयभीत पार्दैन र? के उहाँको भयले तपाईंहरूलाई विह्वल पार्दैन?
12तपाईंहरूको सिद्धान्त त धूलो र खरानी मात्र हो, तपाईंहरूका सुरक्षा माटोजस्तै हुनेछन्।
13“तपाईंहरू चूप लागी बस्नुहोस्, मलाई मेरो मनको कुरा बोल्न दिनुहोस्, अनि ममाथि जे हुन आउँछ, सो आउन दिनुहोस्।
14म किन आफूलाई खतरामा हाल्छु, र मेरो प्राण आफ्नै हातमा लिन्छु?
15उहाँले मलाई मार्नुभए तापनि म उहाँमाथि आफ्नो आशा राख्नेछु। म अझै मेरो मामिला उहाँको सामुन्ने पेश गर्ने नै छु।
16अवश्य यो मेरो छुटकाराको निम्ति हुनेछ। किनकि कुनै पनि ईश्वरहीन मानिस उहाँको सामुन्ने आउने आँट गर्दैन।
17सुन्नुहोस्, मेरो कुरा सुन्नुहोस्, र मेरो व्याख्यामा कान थाप्नुहोस्।
18अब मैले मेरो मामिला तयार गरेको छु, मलाई यो थाहा छ म निर्दोष ठहरिनेछु।
19के कसैले मेरो विरुद्धमा दोष लाउन सक्छ? यदि हो भने, म मौन रहनेछु र मर्नेछु।
20“मलाई यी दुई कुराहरू मात्र मन्जूर होस्, हे परमेश्वर! तब म तपाईंको दृष्टिमा लुक्नेछैनँ।
21तपाईंको गह्रौँ हात मबाट टाढ़ा लैजानुहोस्, र तपाईंको डरले मलाई भयभीत नपारोस्।
22तब मलाई डाक्नुहोस्, र म जवाफ दिनेछु, अथवा म बोल्नेछु, र तपाईंले मलाई जवाफ दिनुहोस्।
23मैले कति धेरै अधर्म र पाप गरेको छु? मलाई मेरा कसूर र मेरो पाप जनाइदिनुहोस्!
24तपाईं आफ्नो मुख किन लुकाउनुहुन्छ? र मलाई आफ्नो शत्रुझैँ व्यवहार गर्नुहुन्छ?
25के तपाईं उड़ाएको पातलाई पनि खेद्नुहुन्छ? के तपाईं सुकेको भुसको पछि लाग्नुहुन्छ?
26मेरो निम्ति तपाईंले दण्ड तोकिदिनुभयो, मेरो युवावस्थाका दोष भोग्न लाउनुभयो।
27ठिँगुरामा मेरो खुट्टा ठोकिदिनुभयो, मेरा सबै मार्गहरूलाई जाँच्नुभयो। ⓠ मेरो पैतालामा कमाराको निशान लगाउनुभयो।
28“यसकारण मानिस सड़ेको वस्तु र नाश हुने र कीराले खाएको वस्त्रजस्तै नष्ट हुँदैछन्।