1तब अय्यूबले जवाफ दिए:
2मैले यस्ता कुरा धेरै सुनेको छु, तपाईंहरू त सबै व्यर्थका सान्त्वना दिनेहरू मात्र हुनुहुन्छ,
3के तपाईंहरूका वाहियात कुराको अन्त हुनेछैन? केले तपाईंलाई झिँझ्याउछ र तपाईं निरन्तर वहस गरिरहनुहुन्छ?
4यदि तपाईंहरू र मैले आफ्नो स्थान साटासाट गरेको भए त म तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ, तपाईंहरूका विरुद्धमा राम्रा-राम्रा भाषण दिन सक्थें, म मेरो औँला तपाईंहरूलाई ठड्याउनेथिएँ!
5तर तपाईंहरूलाई उत्साह दिन म साहसको वचन बोल्नेथिएँ तब मेरो सहानुभूतिले तपाईंलाई शान्ति मिल्नेथियो।
6“तर पनि म बोलें भने मेरो पीड़ा कम हुँदैन, म चूप लागें भने पनि मेरो कष्टले मलाई छोड्नेछैन।
7हे परमेश्वर, तपाईंले मलाई व्याकुल पार्नुभएको छ, तपाईंले मेरो परिवारलाई सखाप पार्नुभएको छ।
8तपाईंले मलाई बाँध्नुभएको छ, र यो कुरा साक्षी भएको छ। म हड्डी र छाला भएको छु, यसैले मेरो विरुद्धमा साक्षी दिन्छ।
9क्रोधमा परमेश्वरले मलाई छिन्नभिन्न पार्नुहुन्छ, र मेरो विरुद्ध दारा किट्नुहुन्छ। मेरा शत्रुले मलाई तर्केर हेर्नुहुन्छ।
10मानिसहरू मेरो गिल्ला गर्छन्, तिनीहरू मलाई थप्पड़ लाउँछन्, तिनीहरू मेरा चारैतिर मेरो विरुद्धमा एक हुन्छन्।
11परमेश्वरले मलाई कुकर्मीहरूका हातमा छोड़िदिनुभएको छ, र दुष्ट मानिसहरूका हातमा फालिदिनुभएको छ।
12म ता आराममा बसिरहेको थिएँ, तर उहाँले ममाथि आक्रमण गरेर लुछ्नुभयो। उहाँले मलाई घिच्रोमा अँठ्याएर धुजा पार्नुभयो, उहाँले मलाई आफ्नो तारो बनाउनुभएको छ।
13उहाँका धनुर्धारीहरू मेरा चारैतिर छन्, निर्दयतापूर्वक उहाँले मेरो मिर्गौला छेड्नुभयो। उहाँले मेरो पित्त भूइँमा पोखाउनुभयो।
14बारम्बार उहाँ ममाथि आइलाग्नुहुन्छ एक लड़ाकू मानिसझैँ उहाँ ममाथि आइलाग्नुभयो।
15“मेरो शरीर ढाक्नलाई मैले भाङ्ग्रा सिएँ, मैले आफ्नो निधार धूलोमा गाड़ेँ।
16रुँदा-रुँदा मेरा गालाहरू राता भएका छन्, मेरा आँखाका चारैतिर कालो भएको छ।
17तापनि मेरा हात उपद्रवमा लागेका छैनन्, अनि मेरो प्रार्थना साँचो छ।
18“हे पृथ्वी, मेरो रगतलाई नढाक्, अनि मेरो पुकारा कहिल्यै नथामिओस्!
19किनभने अहिले, मेरा गवाही ता स्वर्गमा हुनुहुन्छ, ⓢ मेरो निम्ति जवाफ दिनलाई उच्चमा एउटा वकील तयारी हुनुहुन्छ।
20मेरा मध्यस्थ मेरा साथी हुनुहुन्छ, जसै मेरा आँखाले परमेश्वरको अघि आँसु बगाउँछ,
21मानिसको निम्ति परमेश्वरसित तिनी बिन्ती गर्छन्, जसरी मानिसले आफ्नो साथीको निम्ति बिन्ती गर्दछ
22“म फेरि नफर्कने यात्रामा लाग्नभन्दा अघि रहेका वर्षहरू थोरै मात्र छन्।