अय्‍यूब 2:1-13 NNRV2012 - Bible AI

1अर्को एक दिन स्‍वर्गदूतहरू परमप्रभुको सामुन्‍ने उपस्‍थित हुँदा शैतान पनि आफूलाई उहाँको अगाड़ि उपस्‍थित गराउन तिनीहरूसँगै गयो।

2अनि परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आईस्‌?” त्‍यसले भन्‍यो, “पृथ्‍वीमा चारैतिर घुमफिर गर्दैआएको हुँ।”

3तब परमप्रभुले शैतानलाई भन्‍नुभयो, “के तैंले मेरो दास अय्‍यूबलाई याद गरिस्‌? परमेश्‍वरसँग डर राख्‍ने र दुष्‍ट कामबाट अलग रहने त्‍योजस्‍तो निर्दोष र सोझो मानिस पृथ्‍वीमा अरू कोही छैन। विनाकारण त्‍यसलाई नाश गर्नलाई तैंले मलाई उस्‍काइस्‌। तर त्‍यसको निष्‍ठा अझसम्‍म ढलपल भएको छैन।”

4शैतानले परमप्रभुलाई जवाफ दियो, “चामको साटो चाम। आफ्‍नो ज्‍यान बचाउन मानिसले आफूसँग भएका सबै कुरा दिँदैन र?

5आफ्‍नो हात पसारेर तिनको शरीरमा चोट पुर्‍याउनुहोस्‌ अनि तिनले तपाईंको मुखकै सामुन्‍ने तपाईंलाई सराप्‍नेछन्‌।”

6तब परमप्रभुले शैतानलाई भन्‍नुभयो, “लौ त, त्‍यसो भए त्‍यो तेरो हातमा छ। तर त्‍यसको ज्‍यानचाहिँ छोड़िदे।”

7तब शैतान परमप्रभुको सामुन्‍नेबाट निस्‍क्‍यो। त्‍यसले अय्‍यूबको पैतालादेखि टाउकोसम्‍म कष्‍टप्रद खटिरा उब्‍जाइदियो।

8खरानीमा बसेर कन्‍याउनलाई तिनले एउटा फुटेको माटोका भाँड़ाको टुक्रा लिए।

9तिनकी पत्‍नीले तिनलाई भनिन्, “के तपाईं आफ्‍नो निष्‍ठामा अझै अड़ी नै रहनुहुन्‍छ? परमेश्‍वरलाई सराप्‍नुहोस्‌ र मर्नुहोस्‌।”

10अय्‍यूबले जवाफ दिए, “तिमी एक मूर्ख आइमाईजस्‍तै कुरा गर्दछ्यौ। परमेश्‍वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने?” यी सबै कुरामा आफूले बोलेको कुरामा अय्‍यूबले पाप गरेनन्‌।

11अय्‍यूबका तीन जना मित्र, एलीपज तेमानी, बिल्‍दद शुही र सोपर नमातीले तिनीमाथि आइपरेका यी विपत्तिका कुरा सुनेपछि सहानुभूति प्रकट गर्न र तिनलाई ढाड़स दिन आ-आफ्‍ना घरबाट सँगै मिलेर आए।

12तिनीहरूले तिनलाई टाढ़ैबाट देखे, तर चिन्‍न सकेनन्‌। तिनीहरू चिच्‍च्‍याएर रोए, अनि आफ्‍ना लुगा च्‍यातेर आफ्‍ना शिरमा धूलो छरे।

13तब तिनीहरू सात दिन सात रात भूइँमा तिनको छेउमा बसे। अनि तिनीहरूमध्‍ये कसैको मुखबाट एक शब्‍द पनि निस्‍केन, किनभने तिनीहरूले देखे उनको कष्‍ट कति ठूलो थियो।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>