अय्‍यूब 21:1-34 NNRV2012 - Bible AI

1तब अय्‍यूबले जवाफ दिए:

2“सुन्‍नुहोस्, कृपा गरी सुन्‍नुहोस्, यो नै तपाईंहरूले मलाई दिनुहुने सान्‍त्‍वना होस्‌।

3मैले कुरा गर्दा तपाईंहरूले सुनिदिनुहोस्, मैले बोलिसकेपछि तपाईंहरूको गिल्‍ला जारी रहोस्‌।

4के मेरो झगड़ा मानिसहरूसितको हो र? म अधैर्य किन नहुने?

5मलाई हेर्नुहोस्, र अवाक्‌ हुनुहोस्, र हातले मुख छोप्‍नुहोस्‌।

6जब म यो सम्‍बन्‍धमा सोच्‍दछु, म त्रासले भरिन्‍छु, र मेरो सारा शरीर नै थरथर काम्‍छ।

7दुष्‍टहरू किन चिरञ्‍जीवी हुन्‍छन्‌? वृद्धावस्‍था र शक्तिमा किन बढ्‌दैरहन्‍छन्‌?

8आफ्‍ना छोराछोरीहरूलाई आफ्‍ना वरिपरि राम्ररी स्‍थापित भएका, र तिनीहरूका सन्‍तानलाई फलिफाप भएका तिनीहरू देख्‍न पाउँछन्‌।

9तिनीहरूका परिवारहरू सुरक्षित र डरबाट स्‍वतन्‍त्र हुन्‍छन्‌। परमेश्‍वरको न्‍यायको दण्‍ड तिनीहरूमाथि पर्दैन।

10तिनीहरूका बहर मिसिन्‍छन्‌ र खेर जाँदैनन्, तिनीहरूका गाईहरू बियाउँछन्‌ तर तुहिँदैनन्‌।

11तिनीहरूका छोराछोरीहरू थुमाहरूझैँ खेल्‍न कुद्‌छन्, र तिनीहरूका ससाना नानीहरू नाच्‍दै उफ्रन्‍छन्‌।

12खैँजड़ी र वीणासित तिनीहरू आनन्‍द मनाउँछन्, र बाँसुरीको सोरमा तिनीहरू रमाउँछन्‌।

13सम्‍पन्‍नतामा नै तिनीहरूको जीवन बित्‍छ, र शान्‍तिसित तिनीहरू चिहानमा जान्‍छन्‌।

14तापनि तिनीहरू परमेश्‍वरलाई भन्‍छन्, ‘हामीलाई छोड़िदिनुहोस्‌!’ हामी तपाईंका मार्गहरू जान्‍न चाहन्‍नौं।

15सर्वशक्तिमान्‌ को हो र हामी उहाँको आराधना गरौं? उहाँसँग प्रार्थना गरेर हामीले के पाउँछौं र?

16तर दुष्‍टहरूको उन्‍नति तिनीहरूको आफ्‍नै हातमा हुँदैन, त्‍यसकारण दुष्‍टहरूको सल्‍लाहदेखि म अलग रहन्‍छु।

17“तापनि दुष्‍टको बत्ती कति पल्‍ट निभाइन्‍छ र? कति पल्‍ट तिनीहरूको नाश तिनीहरूमाथि नै आइपर्छ र? परमेश्‍वरले आफ्‍नो क्रोधमा दुष्‍टलाई कहिले दण्‍ड दिनुहुन्‍छ र?

18दुष्‍ट मानिस कति पल्‍ट बतासमा परालको टुक्राझैँ, र हुरीले उड़ाएको भुसझैँ हुन्‍छ र?

19यो भनिएको छ, ‘मानिसको दण्‍ड परमेश्‍वरले तिनका छोराछोरीहरूका निम्‍ति साँचिराख्‍नुहुन्‍छ’। तर परमेश्‍वरले त्‍यसलाई नै दण्‍ड देऊन्, यसरी त्‍यस मानिसले थाहा पाउनेछ!

20त्‍यसकै आँखाले त्‍यसमाथि आउने नाश देखोस्, अनि सर्वशक्तिमान्‌को क्रोध त्‍यसले पिओस्‌।

21जब मानिसको आफ्‍नै जीवन समाप्‍त भएको छ भने, के त्‍यसले आफ्‍ना छोराछोरीहरूको सुखको वास्‍ता गर्छ र?

22के मानिसले परमेश्‍वरलाई ज्ञान सिकाउन सक्‍छ र? परमेश्‍वरलाई, जसले स्‍वर्गमा हुनेहरूलाई पनि न्‍याय गर्नुहुन्‍छ?

23कोही मानिस त मृत्‍युको दिनसम्‍मै पूरा स्‍वस्‍थ रहेको हुन्‍छ, सुख र चैनमा त्‍यो मर्छ।

24त्‍यसको शरीर हृष्‍टपुष्‍ट हुन्‍छ, त्‍यसको हड्डीमा मासीले रसिलो भएकै हुँदा त्‍यो मर्छ।

25अर्को मानिस मनको तीतोपन मै मर्छ, सुखको स्‍वाद त्‍यसले चाखेकै हुँदैन।

26ती सबै माटोमा सँगसँगै गाड़िन्‍छन्, अनि कीराहरू नै तिनीहरूका कात्रो भएका हुन्‍छन्‌।

27“तपाईंहरू के सम्‍झँदैहुनुहुन्‍छ मलाई राम्ररी थाहा छ, र मेरो विरुद्धमा रचिरहेका तपाईंहरूको योजनाहरू मलाई थाहा छ।

28‘अब त्‍यो ठूलो मानिसको घर कहाँ छ, खोइ? त्‍यो दुष्‍टको घर के भयो?’ भनी तपाईंहरू मलाई सोध्‍नुहुनेछ।

29के तपाईंले कहिल्‍यै यात्रीहरूलाई प्रश्‍न गर्नुभएको छैन? तिनीहरूका वर्णनहरूबाट के तपाईंहरू सिक्‍न सक्‍नुहुन्‍न—

30आपत्‌ परिआउँदा दुष्‍ट जोगिन्‍छ, र क्रोधको दिनको अघि नै त्‍यो सुरक्षित स्‍थानमा सारिन्‍छ?

31कसैले त्‍यसलाई त्‍यसको मुखेन्‍जी दोषी ठहराउँदैन, त्‍यसले गरेको कामको निम्‍ति कसैले साटो लिँदैन?

32जब त्‍यो चिहानमा लगिन्‍छ, त्‍यसको चिहानमा पहरा राखिन्‍छ,

33भूइँको माटो त्‍यसलाई मीठो लाग्‍छ, सबै मानिस त्‍यसको पछि लाग्‍छन्‌ र अनगिन्‍ती घुँइचो त्‍यसको अघि जान्‍छन्‌।

34“यसैकारण तपाईंहरूका निरर्थक कुराहरूले कसरी मलाई सान्‍त्‍वना दिन्‍छन्‌! तपाईंहरूका जवाफमा झूटबाहेक अरू केही रहँदैन।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>