1तब एलीपज तेमानीले जवाफ दिए:
2के मानिस परमेश्वरको लागि केही लाभको हुन्छ र? ⓤ के कुनै बुद्धिमानी मानिस पनि उहाँको निम्ति लाभको हुन सक्छ र?
3यदि तपाईं धर्मी हुनुभए पनि सर्वशक्तिमान्लाई यसले के आनन्द दिन्छ र? तपाईंका मार्गहरू निर्दोष भए तापनि त्यसले उहाँलाई के लाभ हुन्छ र?
4“के तपाईंको धार्मिकताको लागि उहाँ तपाईंलाई हप्काउनुहुन्छ र तपाईंको विरुद्ध दोष लाउनुहुन्छ?
5के तपाईंको दुष्टता ठूलो छैन? र के तपाईंको दुष्टताको सीमा नाघिसकेको छैन र?
6केही कारणविना नै तपाईं आफ्ना भाइहरूबाट सुरक्षा माग्नुहुन्छ? तपाईं मानिसहरूका लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुहुन्छ।
7थाकेको मानिसलाई तपाईंले पानी दिनुभएन, र भोकाएको मानिसलाई तपाईं भोजन दिनलाई इन्कार गर्नुहुन्छ।
8तपाईं जमिन भएका शक्तिशाली मानिस, त्यहाँ बस्ने इज्जतदार मानिस भए तापनि
9तपाईंले ता विधवाहरूलाई रित्तो हात फर्काउनुभयो, र टुहुरा-टुहुरीहरूको बल तोड्नुभयो।
10यसैले तपाईंका मार्गका चारैतिर पासोहरू छन्, अनि तपाईं एक्कासि डरले भरिनुहुन्छ।
11यसैले धेरै निस्पट्ट अँध्यारो भएको छ र तपाईं देख्न सक्नुहुन्न, र भलको पानीले तपाईंलाई डुबाएको छ।
12“निश्चय नै परमेश्वर त आकाशको शिरबिन्दुमा हुनुहुन्छ, र सबै सर्वोच्च ताराहरू कति महान् छन् भनी देख्नुहुन्छ।
13तर तपाईं भन्नुहुन्छ, परमेश्वर के जान्नुहुन्छ र? ‘उहाँले यस्तो अँध्यारोबाट न्याय गर्नुहुन्छ?
14आकाशमण्डलमा उहाँ यताउता हिँड्नुहुँदा, उहाँको आँखाले बादलहरूको पर्दालाई छिचल्न सक्दैन।
15दुष्ट मानिसको पुरानो चालमा के तपाईं हिँड्नुहुन्छ?
16तिनीहरू आफ्नो समय अघि नै हटाइए, भलले तिनीहरूका जग नै बगाएर लग्यो।
17ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई छोड़िदिनुहोस्, सर्वशक्तिमान्ले हामीलाई के गर्न सक्नुहुन्छ र?’
18तापनि उहाँले तिनीहरूका घरहरू असल-असल थोकहरूले भरिदिनुभएको थियो। यसर्थ म दुष्टको सल्लाहदेखि अलग बस्छु।
19तिनीहरूका दुर्दिन देखेर धर्मीहरू आनन्दले मग्न हुनेछन्, निर्दोषहरू तिनीहरूको ठट्टा गरेर यसो भन्दै हाँस्छन्,
20निश्चय हाम्रा शत्रुहरू नाश पारिए, र तिनीहरूका धन-दौलत आगोले भस्म हुन्छ।
21“अब परमेश्वरका अधीनमा हुनुहोस् र उहाँसित मिलाप गर्नुहोस्। यसरी तपाईंको सुदिन फर्केर तपाईंकहाँ आउनेछ।
22उहाँको मुखबाट शिक्षा लिनुहोस्, र तपाईंले आफ्नो हृदयमा उहाँका वचनहरू सञ्चय गर्नुहोस्।
23नम्रसित तपाईं सर्वशक्तिमान्तिर फर्केर आउनुभयो भने, तपाईंलाई पुनर्स्थापना गरिनेछ, तपाईंले आफ्नो घरबाट खराबी त्यागिदिनुभयो भने,
24तपाईंले आफ्ना सुनका ससाना ढिकाहरू धूलोमा मिलाउनुभयो भने, ओपीरको सुनलाई खोल्साको ढुङ्गासरह मान्नुभयो भने,
25सर्वशक्तिमान् नै तपाईंको निम्ति सुन हुनुहुनेछ, र उहाँ नै तपाईंको निम्ति सबैभन्दा असल चाँदी हुनुहुनेछ।
26तब सर्वशक्तिमान्मा नै तपाईंले आनन्द पाउनुहुनेछ। र तपाईंले आफ्ना नजर परमेश्वरतिर उठाउनुहुनेछ।
27तपाईंले उहाँलाई प्रार्थना गर्नुहुनेछ, र उहाँले सुन्नुहुनेछ, र तपाईंले आफ्नो भाकल पूरा गर्नुहुनेछ।
28तपाईंले जे निर्णय गर्नुहुनेछ, त्यो पूरा हुनेछ, तपाईंको बाटोमा ज्योति चम्कनेछ।
29जब मानिसहरू होच्याइन्छन् र तपाईंले भन्नुहुनेछ, ‘यिनीहरूलाई उचाल्नुहोस्,’ र उहाँले होच्याइएकालाई बचाउनुहुनेछ।
30उहाँले निर्दोष नभएकालाई पनि छुटाउनुहुनेछ। तपाईंको हात निर्दोष भएकोले गर्दा उहाँले उनीहरूलाई छुटकारा दिनुहुनेछ।”