अय्‍यूब 23:1-17 NNRV2012 - Bible AI

1तब अय्‍यूबले जवाफ दिए:

2आज पनि मेरो गुनासो तीतो भएको छ, किनभने मेरो आर्तनादमा पनि परमेश्‍वरको गह्रौँ बाहु ममाथि परेको छ।

3उहाँलाई भेट्टाउन मात्र सके त, उहाँको वासस्‍थानमा पस्‍न मात्र पाए त,

4म मेरो मामिला उहाँको सामुन्‍ने र मेरो सम्‍पूर्ण बहस उहाँकै अगि राख्‍नेथिएँ!

5उहाँले कस्‍तो जवाफ दिनुहुनेथियो म जान्‍नेथिएँ, र उहाँले के भन्‍नुहुनेथियो म थाहा पाउनेथिएँ।

6के उहाँले आफ्‍नो सारा महाशक्तिले मेरो विरुद्ध गर्नुहुन्‍छ र? अँहँ, परमेश्‍वर आफैले त मेरो विरुद्धमा कहिल्‍यै दोष लाउनुहुनेछैन।

7त्‍यहाँ सोझा मानिसहरूले उहाँको सामुन्‍ने आफ्‍नो मुद्दा पेश गर्न सक्‍नेछन्, र मेरा न्‍यायकर्ताबाट म सधैँको निम्‍ति छुटकारा पाउनेछु।

8“यदि म पूर्वतिर गएँ भने उहाँ त्‍यहाँ हुनुहुन्‍न, पश्‍चिमतिर गएँ भने म उहाँलाई त्‍यहाँ पाउँदिनँ।

9उहाँले उत्तरतिर काम गर्नुहुँदा उहाँलाई भेट्टाउँदिनँ, उहाँ दक्षिणतिर फर्कनुहुँदा पनि म उहाँलाई देख्‍न सक्‍दिनँ।

10तर मैले लिएको बाटो उहाँ जान्‍नुहुन्‍छ। उहाँले मलाई जाँच गर्नुहुँदा म खारिएको सुनझैँ ठहरिनेछु।

11मैले उहाँको पाइला पछ्याएको छु, म उहाँको मार्गमा चलेको छु, अनि त्‍यसबाट म यताउता लागेको छैनँ।

12उहाँको मुखबाट निस्‍केको आज्ञालाई म इन्‍कार गर्दिनँ, मेरो दैनिक भोजनभन्‍दा उहाँले भन्‍नुभएको कुरा मैले हृदयमा धेरै सञ्‍चय गरिराखेको छु।

13“तर उहाँ एकलो हुनुहुन्‍छ, अनि कसले उहाँलाई विरोध गर्न सक्‍छ? उहाँले आफ्‍नो मनको इच्‍छाबमोजिम गर्नुहुन्‍छ।

14उहाँले आफ्‍नो आदेश मेरो विरुद्धमा पूरा गर्नुहुन्‍छ। यस्‍ता योजनाहरूले उहाँको हृदय भरिपूर्ण छ।

15यसैकारण उहाँसँग भेट गर्न मलाई डर लाग्‍छ, यी सबै कुराहरूका विषयमा विचार गर्दा मलाई डर लाग्‍छ।

16परमेश्‍वरले नै मलाई निरुत्‍साहित तुल्‍याउनुहुन्‍छ, सर्वशक्तिमान्‌ले नै मलाई भयले भरिदिनुभएको छ।

17तापनि अन्‍धकारले मलाई चूप लाउन सक्‍दैन, न त मेरो अनुहारलाई ढाकिदिने रहस्‍यले मलाई चूप लाउन सक्‍छ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>