अय्‍यूब 24:1-25 NNRV2012 - Bible AI

1“सर्वशक्तिमान्‌ले दण्‍डको दिन किन ठहराउनुहुन्‍न? उहाँलाई चिन्‍नेहरूले किन त्‍यस्‍ता दिनहरूलाई व्‍यर्थमा खोजी गर्नुपर्छ?

2मानिसहरू साँधसिमानाको ढुङ्गा हटाउँछन्, तिनीहरूले चोरेको भेड़ाका बगाल तिनीहरू चराउँछन्‌।

3तिनीहरू टुहुरा-टुहुरीहरूको गधा धपाएर लान्‍छन्, र विधवाको गोरु बन्‍धकमा लान्‍छन्‌।

4तिनीहरू गरीबहरूलाई आफ्‍नो बाटोदेखि धक्‍का दिँदै हिँड्‌छन्, तिनीहरू कङ्गालीहरूलाई जबरदस्‍ती लुक्‍ने ठाउँमा पठाउँछन्‌।

5आहारको लागि वन-गधा वनमा घुमफिर गरेझैँ गरीबहरू खाना खोज्‍न जान्‍छन्, उजाड़-स्‍थानले तिनीहरूका छोराछोरीहरूको लागि भोजन जुटाउँछ।

6गरीबहरू खेतमा सुक्‍खा अन्‍न टिप्‍छन्, दुष्‍ट मानिसको दाखबारीबाट तिनीहरू अङ्‌गूर बटुल्‍छन्‌।

7लुगा नभएको हुनाले तिनीहरू नाङ्गो भएर रात बिताउँछन्, जाड़ोमा ढाक्‍नलाई तिनीहरूको केही हुँदैन।

8पहाड़बाट आएको वृष्‍टिले तिनीहरू निथ्रुक्‍क भिज्‍छन्, शरणस्‍थान नभएको हुनाले चट्टाननेर तिनीहरू थुप्रन्‍छन्‌।

9बुबा नभएका नानीहरूलाई दुष्‍टहरूले आमाको काखबाट खोसेर लान्‍छन्, र गरीब मानिसको बालकलाई तिनीहरू ऋणको सट्टा लैजान्‍छन्‌।

10लुगा नभएका हुनाले तिनीहरू नाङ्गै जान्‍छन्‌। तिनीहरू आफ्‍ना अन्‍नका बिटा बोक्‍छन्‌ तर पनि भोकै हुन्‍छन्‌।

11तिनीहरू कौसीमा जैतून पेल्‍छन्, तिनीहरू कोल ता पेल्‍छन्‌ तापनि तिर्खाउँछन्‌।

12सहरबाट मर्न लागेको मानिसको आर्तनाद निस्‍कन्‍छ, र चोट लागेको मानिस सहायताको लागि कराउँछ, तर पनि परमेश्‍वर भूल गरेको दोष लाउनुहुन्‍न।

13“कोही मानिसहरू ज्‍योतिको विरुद्धमा विद्रोह गर्छन्, तिनीहरू त्‍यसको विषयमा केही जान्‍दैनन्‌ र त्‍यसको ज्‍योतिमा हिँड्‌दैनन्‌।

14हत्‍याराचाहिँ साँझ परेपछि उठेर गरीब र आवश्‍यकतामा परेकाहरूलाई मार्छ र रातीचाहिँ त्‍यसले चोरले झैँ लूटपीट गर्छ।

15व्‍यभिचारीले उत्‍सुकतासित साँझको प्रतीक्षा गर्छ, त्‍यसलाई कसैले नदेखोस्‌ भनेर आफ्‍नो भेष त्‍यसले बद्‌लन्‍छ।

16राती चोर घर फोरेर पस्‍छन्, तर दिनमा तिनीहरू लुक्‍छन्‌ र उज्‍यालोदेखि अलग बस्‍छन्‌।

17तिनीहरू सबैका निम्‍ति निस्‍पट्ट अँध्‍यारोचाहिँ तिनीहरूको बिहानी हो, तिनीहरूले अन्‍धकारको त्रासलाई मन पराउँछन्‌।

18“त्‍यस्‍ता मानिसहरू पानीको सतहमा फिँज जस्‍तै हुन्, तिनीहरूका खेतले देशभरि नै श्राप पाएको हुन्‍छ। यसरी कोही पनि दाखबारीमा जाँदैन।

19जसरी पग्‍लेको हिउँलाई खड़ेरी र तापले सुकाउँछ, त्‍यसरी नै चिहानले [1] पापीलाई विनाश पार्छ।

20कोखले त्‍यसलाई बिसर्नेछ, कीराले त्‍यसलाई खाइहाल्‍छ, दुष्‍ट मानिसहरूको सम्‍झना गरिनेछैन, र तिनीहरू रूखझैँ भाँचिनेछन्‌।

21तिनीहरूले बाँझी र बालक नभएकी स्‍त्रीलाई अत्‍याचार गर्छन्‌ र विधवालाई कुनै दया देखाउँदैनन्‌।

22परमेश्‍वरले आफ्‍नो सामर्थ्‍यमा शक्तिशालीलाई पनि नाश गर्नुहुन्‍छ, तिनीहरू उठे तापनि तिनीहरूको जीवनको आशा हुँदैन।

23परमेश्‍वरले तिनीहरूलाई सुरक्षाको अभासमा रहन दिनुभए तापनि, उहाँले हरसमय तिनीहरूको चालमाथि आफ्‍नो नजर राख्‍नुहुन्‍छ।

24केही क्षणको निम्‍ति दुष्‍ट मानिस उचालिन्‍छ, त्‍यसपछि त्‍यो नाश हुन्‍छ, अरूहरूलाई झैँ त्‍यसलाई तल झारिन्‍छ र जम्‍मा गरिन्‍छ र काटेर राखेको अन्‍नको बालाझैँ त्‍यो ओइलाइहाल्‍छ।

25“यदि यो होइन भने, कसले मलाई झूटा ठहराउन सक्‍छ र? मेरा वचन निरर्थक भनी कसैले प्रमाण गर्न सक्‍छ र?”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>