1तब अय्यूबले जवाफ दिए:
2“शक्तिहीन मानिसलाई तपाईंले के सहायता गर्नुभयो, निर्बल हातलाई तपाईंले कसरी बचाउनुभयो?
3बुद्धि नभएका मानिसलाई तपाईंले के सल्लाह दिनुभयो, अनि तपाईंले कुन ठूलो अन्तर्ज्ञान प्रदर्शन गर्नुभयो?
4यस्ता कुरा गर्न तपाईंलाई कसले उक्सायो? अनि तपाईंको मुखबाट कसको आत्माले बोल्यो?
5“मरेकाहरूका आत्मा गहिरो वेदनामा छन्, पानी मुनि भएकाहरू र त्यहाँका बासिन्दाहरू सबैलाई त्रासले छाएको छ।
6मृत्यु परमेश्वरको अघि नाङ्गो छ र विनाश उदाङ्गै भएको छ।
7उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ, र शून्यतामा पृथ्वीलाई झुण्ड्याउनुहुन्छ।
8उहाँले पानीलाई बादलको थुप्रोमा बन्द गरी राख्नुहुन्छ, तापनि तिनको भारले मेघहरू फुटेर निस्कँदैनन्।
9आफ्ना बादलहरू फैलाएर उहाँले पूर्णिमाको चन्द्रमालाई ढाक्नुहुन्छ।
10उज्यालो र अँध्यारोको बीचको सिमानामा उहाँले पानीको सतहमा क्षितिजलाई स्थिर राख्नुभएको छ।
11उहाँको हप्काइमा आकाशका खम्बाहरू काम्छन्, र डरले विस्मित हुन्छन्।
12आफ्नो बलियो बाहुले उहाँले समुद्रलाई साम्य गराउनुभयो, र आफ्नो बुद्धिले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो।
13उहाँको सासमा आकाश सफा भयो, वेगले भागिरहेको सर्पलाई उहाँको हातले छेड्नुभयो।
14यी ता उहाँको शक्तिको एक छेउ मात्र हुन्, हामीले सुन्ने उहाँको मधुर सोर कति मधुरो छ। तब उहाँको शक्तिको गर्जन कसले बुझ्न सक्छ र?”