1तब अय्यूबले आफ्नो बहस फेरि सुरु गरे:
2“परमेश्वर जीवित हुनुभए झैँ जसले मेरो इन्साफ गर्नलाई इन्कार गर्नुभयो, सर्वशक्तिमान्को नाउँमा, जसले मेरो मन तीतो बनाइदिनुभयो।
3मेरो शरीरमा प्राण रहुञ्जेल, र परमेश्वरको सास मेरो नाकमा रहुञ्जेल,
4कुनै पनि असत्य वचन मेरो मुखबाट निस्कनेछैन, अनि मेरो जिब्रोले कुनै झूट बोल्नेछैन।
5तपाईंहरू ठीक हुनुहुन्छ भनी म कहिल्यै स्वीकार गर्ने छैनँ, म नमरुञ्जेल म आफ्नो ईमान्दारीलाई अस्वीकार गर्ने छैनँ।
6म ठीकै छु भन्ने मेरो दाबीलाई म कायम राख्नेछु, म बाँचुञ्जेल मेरो विवेकले मलाई दोष लगाउनेछैन।
7“मेरा शत्रुहरू दुष्टझैँ होऊन्, मेरा विरोधीहरू अन्यायीजस्तै।
8किनकि ईश्वरहीन मानिस नाश हुँदा त्यसको के आशा हुन्छ र जब परमेश्वरले त्यसको प्राण लिइहाल्नुहुन्छ?
9जब दु:ख त्यसमाथि आइलाग्छ, के परमेश्वरले त्यसको पुकारा सुन्नुहुन्छ?
10के त्यसले सर्वशक्तिमान्बाट आनन्द पाउँछ? र हर समय उहाँको नाउँको पुकारा गर्छ र?
11परमेश्वरको शक्तिको बारेमा म तपाईंहरूलाई सिकाउनेछु, सर्वशक्तिमान्को बाटोलाई म लुकाउनेछैनँ।
12तपाईंहरू सबैले यी कुरा देख्नुभएको छ, तपाईंहरू यस्ता व्यर्थका कुरा किन गर्नुहुन्छ?
13दुष्टको निम्ति परमेश्वरले ठहराउनुभएको भाग यही हो, निष्ठुर मानिसको इनाम सर्वशक्तिमान्बाट यही हो।
14त्यसका धेरै छोराछोरीहरू भए तापनि तिनीहरू तरवारले मारिनेछन् र त्यसका सन्तानहरू भोकै रहनेछन्।
15बाँचेकाहरू रूढ़ीले मरेर चिहानमा लगिनेछन् अनि तिनीहरूका विधवा तिनीहरूका निम्ति रुनेछैन।
16त्यसले कसिङ्गरसरह अनगन्ती धन-सम्पत्ति थुपारे तापनि र थाक-थाक लुगाहरू जम्मा गरे तापनि,
17ती त्यसले जम्मा त गर्ला, तर धर्मीहरूले ती लगाउनेछन् र त्यसका धन-सम्पत्ति निर्दोष मानिसले बाँड्नेछन्।
18त्यसले बनाएको घर पुतलीको गुँड़जस्तै कमजोर हुन्छ अथवा पहरेदारको टौवाजस्तै हुन्छ।
19त्यो धनी भएर सुत्ला तर अब उसो त्यस्तो हुनेछैन त्यसले आँखा खोल्दा ती सबै गइहालेको हुन्छ।
20विनाश भलझैँ त्यसमाथि आइलाग्नेछ र आँधीबेहरीले त्यसलाई राती उड़ाएर लैजानेछ।
21पूर्वको बतासले त्यसलाई उड़ाएर लैजानेछ र त्यसको नाउँ निशानै रहनेछैन बतासले त्यसलाई त्यसको घरबाट टाढ़ा उड़ाई लैजानेछ।
22निर्दयतासाथ त्यो त्यसमाथि आइलाग्नेछ, जसै त्यो त्यसको शक्तिबाट भाग्नेछ।
23त्यसको पतनमा ताली बजाएको आवाज र त्यसको चारैतिर खिसीको सोर हुनेछन्।