1“चाँदीका खानीहरू हुन्छन् र सुन विशुद्ध गर्ने ठाउँहरू छन्।
2जमिनबाट फलाम निकाल्ने स्थानहरू छन् र काँचो धातु गलाएर तामा निकालिन्छ।
3मानिसले अन्धकारलाई शेष गरिदिन्छ, ऊ पृथ्वीको गहिरोभित्र अँध्यारोमा खनिजको खोजी गर्छ।
4मानिसहरू बसेका ठाउँभन्दा धेरै टाढ़ामा, अथवा मानिसहरूका खुट्टाले नटेकेको ठाउँमा उसले खानीमा तल जाने प्वालहरू खन्छ, त्यहीँ ऊ एकान्तमा, डोरीमा झुण्डिएर सुरुङमा काम गर्छ।
5अन्न उम्रने माटोलाई आगोमा परिवर्तन गरिन्छ।
6त्यसका चट्टानहरूबाट नीर निस्कन्छ र त्यसको धूलोमा सुनका कण हुन्छन्।
7कुनै शिकारी-पक्षीले त्यहाँ जाने बाटो चिन्दैन अनि बाजको तीखो आँखाले पनि त्यो देखेको हुँदैन।
8रवाफिला पशुले त्यसमाथि टेक्दैनन्, कुनै सिंह पनि त्यहाँ पस्दैन।
9मानिसले आफ्नो हातले कड़ा ढुङ्गा काट्दछ, र पहाड़हरूका फेदलाई उदाङ्ग बनाउँछ।
10त्यसले चट्टानमा सुरुङ खन्दछ, त्यसले बहुमूल्य पत्थरहरू देख्तछ,
11त्यसले खोलाका मूलहरू खोज्दछ, र जमिनभित्र भएका गाड़धनहरू निकाल्दछ।
12“तर बुद्धिचाहिँ कहाँ पाइन्छ? समझशक्तिको मूल कहाँ छ?
13मानिसले त्यसको मूल्य थाहा पाउँदैन, जीवित मानिसहरूको देशमा त्यो पाइँदैन।
14महासागरको गहिराइले भन्दछ, ‘त्यो मसँग छैन’। अनि समुद्र भन्दछ, ‘त्यो मसित छैन’।
15निखुर सुनले त्यो किन्न सकिँदैन, न त चाँदीसँग त्यसको मोल गर्न सकिन्छ।
16ओपीरको सुनले त्यो किन्न सकिँदैन अथवा बहुमूल्य आनिक्स वा नीरसित त्यो किन्न सकिँदैन।
17सुन र स्फटिकसँग त्यसको तुलना गर्न सकिँदैन, न त निखुर सुनको गहनासित त्यो साट्न सकिन्छ।
18मूगा र बिल्लौरको ता कुरै गर्नुपर्दैन, बुद्धिको मूल्य मानिकभन्दा धेरै हुन्छ।
19कूश देशको पुष्पराज त्यसको बराबर हुन सक्दैन। निखुर सुनले त्यो किन्न सकिँदैन।
20“तब बुद्धि कहाँबाट आउँछ? र समझशक्तिको मूल कहाँ छ?
21संसारको कुनै जीवित प्राणीले त्यो देख्न सक्दैन, आकाशको पक्षीबाट पनि त्यो लुकाइएको हुन्छ।
22विनाश र मृत्युले भन्दछन्, ‘हामीले ता सुनेका मात्र हौं’।
23परमेश्वरले त्यसको चाल बुझ्नुहुन्छ, उहाँले मात्र त्यो कहाँ बस्छ जान्नुहुन्छ।
24किनभने उहाँले पृथ्वीको पल्लो छेउसम्म देख्नुहुन्छ, र उहाँले आकाशमुनिका सबै कुरालाई निरीक्षण गर्नुहुन्छ।
25जब परमेश्वरले बतासलाई शक्ति दिनुभयो, र समुद्रको सिमाना बाँधिदिनुभयो,
26जब उहाँले वृष्टिको हद तोकिदिनुभयो, र बिजुली बज्रको मार्ग तोकिदिनुभयो।
27त्यस बेला उहाँले बुद्धिलाई देखेर त्यसलाई जाँच्नुभयो। उहाँले त्यसलाई विचार गर्नुभयो, र त्यसको भेद बुझ्नुभयो।
28अनि उहाँले मानिसलाई भन्नुभयो, ⓥ परमेश्वरको डर नै बुद्धि हो र दुष्टताबाट अलग रहनु समझशक्ति हो।”