1तब अय्यूबले आफ्नो बहस गर्दैरहे:
2“बितेका महिनाहरूको म कत्ति चाहना गर्दछु, जुन समयमा परमेश्वर मेरो हेरचाह गर्नुहुन्थ्यो!
3जब उहाँको दियो मेरो शिरमाथि चम्कन्थ्यो, र त्यसको उज्यालोद्वारा म अँध्यारोमा हिँड्डुल गर्थें!
4मेरो उत्तम समयका दिनहरू, जब परमेश्वरको नजिकको सम्बन्धले मेरो घरलाई आशिष् दिन्थ्यो।
5जब सर्वशक्तिमान् अझै मेरो साथमा हुनुहुन्थ्यो, अनि मेरा छोराछोरीहरू मेरा चारैतिर खड़ा भइरहन्थे।
6जब मेरो बाटोमा दूध बग्थ्यो, र चट्टानहरूबाट जैतूनको तेल बग्थ्यो।
7चोकमा बस्नलाई जब म सहरको मूल ढोकाबाट भएर जान्थें
8जवान मानिसहरू मलाई देखेर बाटो छोड़िदिन्थे, र वृद्ध मानिसहरू खड़ा हुन्थे।
9अधिकारी वर्गको मुखै बन्द हुन्थ्यो, र आफ्नो मुख हातले छोप्थे।
10भारदारहरूको बोली नै बन्द हुन्थ्यो, तिनीहरूको जिब्रो तालुमा टाँसिन्थ्यो।
11मैले बोलेको सुन्नेहरूले मेरो गुणगान गर्थे, र मलाई देख्नेहरू मेरै योग्यताको साक्षी दिन्थे।
12किनभने सहायताको लागि पुकारा गर्दा गरीब मानिसहरूलाई, र रक्षाहीन पितृहीनहरूलाई मैले बचाएँ।
13मर्न लागेको मानिसले मलाई आशीर्वाद दिन्थ्यो, र मैले विधवाको मन आनन्दले गाउने पारिदिन्थें।
14धार्मिकतालाई मैले आफ्नो लुगाजस्तै लगाएँ, इन्साफलाई मैले मेरो पोशाक र फेटाझैँ लगाएँ।
15अन्धाको लागि म आँखा भएँ, र लङ्गड़ाको निम्ति खुट्टा भएँ।
16दरिद्रको लागि म बुबाझैँ थिएँ, र विदेशीको पक्षमा म मुद्दामा खड़ा हुन्थें।
17अधर्मीको शक्तिलाई मैले नाश गरें र त्यसको मुखबाट मैले शिकार खोसें।
18“म दीर्घायु भएर मर्नेछु र घरमा सुखसित मर्नेछु भनी आशा गरेथें।
19‘मेरा जराहरू पानीतिर फैलिएर जानेछन् र रातभरि मेरा हाँगाहरूमा शीत बस्नेछन्।
20मेरो महिमा मसित सधैँ ताजा हुनेछ र मेरो हातमा धनु सधैँ नयाँ हुनेछ’।
21“मानिसहरू ठूलो आशा लिएर मेरो कुरा सुन्थे र मेरो सल्लाहको निम्ति चूपचाप पर्खिरहन्थे।
22म बोलिसक्दा तिनीहरूले थप्ने कुरो केही हुँदैनथ्यो। मेरा वचन तिनीहरूका हृदयमा बिस्तारै भिज्दैजान्थे।
23वर्षाको प्रतीक्षा गरेझैँ तिनीहरू तिनका लागि पर्खिरहन्थे र बसन्तको झरीझैँ तिनीहरूले ती वचन पिउँथे।
24म मुसुक्क हाँसिदिँदा तिनीहरूले साहस पाउँथे, मेरो उज्यालो अनुहार तिनीहरूका निम्ति बहुमूल्य हुन्थ्यो।
25तिनीहरूले लाग्नुपर्ने बाटो मैले छानिदिन्थें र फैसला गरिदिन्थें, राजाले आफ्नो फौजलाई युद्धमा लगेझैँ म तिनीहरूलाई लान्थें र शोक गर्नेहरूलाई सान्त्वना दिनेझैँ म थिएँ।”