अय्‍यूब 30:1-31 NNRV2012 - Bible AI

1“तर अब जवानहरू ममाथि ठट्टा गरेर हाँस्‍छन्, ती मानिसहरू, जसका बुबाहरूलाई मेरा भेड़ा रुँग्‍ने कुकुरहरूसँग राख्‍न पनि म अयोग्‍य ठान्‍थें।

2तिनीहरूका बलिया पाखुरा मेरो निम्‍ति के कामको थियो? किनभने तिनीहरूको शक्तिशाली पुरुषार्थ खतम भइसकेको थियो।

3तिनीहरू यति धेरै गरीब र भोकाएका हुन्‍थे, कि राती उजाड़ ठाउँहरूका सुक्‍खा ठाउँमा तिनीहरू घुम्‍थे।

4खानका निम्‍ति तिनीहरू नुनिलो झार र ऐरेलु र झ्‍याउका जराहरू उखेल्‍थे।

5तिनीहरू मानिसहरूको समाजबाट लखेटिएर, हल्‍लाखल्‍लासाथ चोरहरूझैँ खेदिएका भएर

6तिनीहरू सुक्‍खा खोलाका सतहमा, जमिनका प्‍वालहरू र चट्टानका चिराहरूमा बस्‍थे।

7पशुहरूजस्‍तै तिनीहरू झाड़ीहरूमा कराउँथे, र पोथ्राहरूमुनि गुटमुटिएर बस्‍थे।

8नीच घरानामा जन्‍मेका बेनामी मानिसको दल जो देशबाट खेदिए।

9अब मलाई तिनीहरूका छोराहरूले गिल्‍ला गर्दछन्, तिनीहरूका बीचमा म ठट्टाको पात्र बनेको छु।

10तिनीहरू मलाई घीन गर्दछन्, तिनीहरू मबाट टाढ़ा रहन्‍छन्, तिनीहरू मेरो मुखमा थुक्‍न हिचकिचाउँदैनन्‌।

11परमेश्‍वरले मेरो धनु फुकालिदिनुभएको र मलाई पीड़ा दिनुभएको हुनाले, तिनीहरू मेरो विरुद्धमा आफ्‍ना सारा रीस पोखाउँछन्‌।

12तिनीहरू मेरो दाहिनेतिर मलाई आक्रमण गर्छन्, तिनीहरू मेरो खुट्टाको लागि पासो थाप्‍छन्, तिनीहरू आफ्‍ना घेरा-मचान मेरो विरुद्धमा खड़ा गर्छन्‌।

13तिनीहरू मेरो बाटो भत्‍काइदिन्‍छन्, कसैको सहायताविना नै तिनीहरू मलाई नाश गर्न सफल हुन्‍छन्‌।

14भ्‍वाङ्ग परेका प्‍वालहरूबाट तिनीहरू अटाई-नअटाई पस्‍छन्, भत्‍केका पर्खालबाट तिनीहरू ठेलमठेल गर्दै आउँछन्‌।

15त्रासमाथि त्रासले मलाई घेर्छ, त्‍यसले मेरो गौरवलाई बतासले झैँ उड़ाएर लैजान्‍छ, मेरो सुरक्षाचाहिँ बादलझैँ हराइहाल्‍छ।

16अनि अब मेरो प्राण मभित्रै शेष हुँदै जाँदैछ र कष्‍टका दिनहरूले मलाई आफ्‍नो पन्‍जामा पक्रेका छन्‌।

17राती पीडाले मेरो हड्डी-हड्डीमा घोच्‍छ र मेरा पीडाहरूले कहिल्‍यै आराम लिँदैनन्‌।

18परमेश्‍वर आफ्‍नो शक्तिमा मेरो लुगाझैँ हुनुभएको छ, कमीजको कठालाले झैँ उहाँले मलाई घाँटीमा अँठ्याउनुहुन्‍छ।

19परमेश्‍वर आफैले मलाई हिलोमा जाकिदिनुभएको छ, र म धूलो र खरानीसरह भएको छु।

20हे परमेश्‍वर, सहायताको लागि मैले तपाईंलाई पुकारें तर तपाईंले मलाई जवाफ दिनुभएन, मेरो मामिला पेश गर्नलाई म खड़ा हुन्‍छु, तर तपाईं वास्‍ता गर्नुहुन्‍न।

21तपाईं मलाई निष्‍ठुरताको व्‍यवहार गर्नुहुन्‍छ र आफ्‍नो सारा शक्तिले मलाई सताउनुहुन्‍छ।

22मलाई झट्‌कारेर आँधीको अघि फालिदिनुहुन्‍छ, र प्रचण्‍ड आँधीमा मलाई फ्‍याँकिदिनुहुन्‍छ।

23मलाई थाहा छ कि तपाईंले मलाई मृत्‍युको हातमा सुम्‍पनुहुन्‍छ, त्‍यस ठाउँमा, जो सबै जीवितहरूका निम्‍ति तपाईंले ठहराउनुभएको छ।

24“आफ्‍नो दु:खमा सहायताको लागि पुकार्दा तोड़िएको मानिसमाथि कसैले हात उठाउँदैन।

25आफ्‍नो जीवन कष्‍टमा बिताउनेको निम्‍ति के म रोइनँ र? के गरीबको निम्‍ति मेरो मन दुखेन र?

26तापनि जब मैले भलाइको आशा गरें, दुष्‍टता पो आइलाग्‍यो, उज्‍यालोको प्रतीक्षा गरेको थिएँ, तर अँध्‍यारो पो आयो।

27मभित्रको हलचल कहिल्‍यै थामिँदैन, कष्‍टका दिनहरू मैले भोग्‍नुपर्छ।

28म कालो भई हिँड्‌छु तर सूर्यले ता होइन; सहायताको निम्‍ति बिन्‍ती गर्नलाई, म सभामा खड़ा हुन्‍छु।

29स्‍यालहरूको म भाइ भएको छु, लाटोकोसेराहरू मेरा साथी भएका छन्‌।

30कालो भएको मेरो छाला पत्रै-पत्र भएर झर्छ र जरोले मेरो शरीर जलेको छ।

31वीणाको लय त मृत्‍युको गीत भएको छ, मेरो बाँसुरीचाहिँ रुनेहरूको सोरझैँ भएको छ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>