1कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले मेरा आँखासित वाचा बाँधे।
2मानिसको निम्ति परमेश्वरले स्वर्गबाट ठहराउनुभएको भाग कुनचाहिँ हो? उँभोबाट सर्वशक्तिमान्ले दिनुभएको सम्पत्ति?
3के दुराचारीको लागि नाश, खराबी गर्नेहरूको लागि विपत्ति होइन र?
4के परमेश्वर आफैले मेरा चाल देख्नुहुन्न र? र मेरो हरेक पाइला गन्नुहुन्न र?
5यदि म झूटा कुरामा हिँड़ेको छु अथवा मेरा पाउ छलको पछि हिँड़ेका भए,
6न्यायको तराजूमा परमेश्वरले मलाई तौलून् र उहाँले जान्नुहुनेछ कि म निर्दोष छु।
7यदि मेरो पाइला सोझो बाटोदेखि तर्किएको छ भने, यदि मेरो मनले आँखाको इच्छाअनुसार गरेको छ भने अथवा मेरो हातमा मैला टाँसिएको छ भने,
8मैले रोपेको अन्न अर्काले खाओस् र मेरा बाली जरैसमेत उखेलिऊन्!
9यदि मेरो हृदय कुनै स्त्रीले मोहित पारेको रहेछ भने अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,
10मेरी पत्नी अर्को मानिसको कमारी भइजाओस् र अरू मानिसहरूले त्यससित सम्भोग गरून्।
11किनभने त्यो त दुष्ट कर्म हो, न्याय गरिने एउटा अपराध हो।
12त्यो ता भस्म गर्ने र नाश गर्ने आगो हुनेछ, चारैतिर मेरो बालीलाई खाने भयङ्कर आगो।
13“यदि मैले मेरो दास वा दासीलाई इन्साफ इन्कार गरेको भए, तिनीहरूले मकहाँ आफ्नो उजूर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने,
14परमेश्वरले मेरो सामना गर्नुहुँदा म के गरुँला? उहाँले लेखा लिनुहुँदा मैले के जवाफ दिने?
15गर्भमा मलाई रच्नुहुनेले तिनीहरूलाई पनि रच्नुभएको होइन र? के एउटै परमेश्वरले हामीलाई गर्भमा सृष्टि गर्नुभएको होइन र?
16यदि गरीबहरूलाई तिनीहरूले चाहेका कुरा इन्कार गरेको छु भने अथवा विधवाको आँखा आँसुले धमिल्याइदिएको छु भने,
17यदि मैले मेरो गाँस एकलै खाएको छु भने र टुहुरा-टुहुरीसित त्यो बाँड़ेको छैन भने—
18तर मैले त टुहुरो केटालाई त्यसको बुबालेजस्तै पालनपोषण गरें। र मैले आफू जन्मेको दिनदेखि नै विधवालाई डोर्याएँ।
19यदि मैले कसैलाई लुगाफाटाको अभावले नष्ट भएको अथवा कुनै गरीब मानिसलाई ओढ्ने नभएको देखेको छु भने,
20र मेरो भेड़ाको ऊनले त्यसलाई न्यानो पार्न नदिएको कारण त्यसले मलाई हृदयसमेतले प्रशंसा गरेको छैन भने,
21मानिसहरूले अदालतमा मेरो प्रभाव छ भनी जानेर पनि यदि मैले मेरो हात टुहुरा-टुहुरीहरूमाथि उठाएको छु भने,
22मेरो पाता काँधबाट खुस्कोस्, मेरो पाखुरा जोर्नीबाट खुस्कोस्!
23तर परमेश्वरको त्रास ममाथि साह्रै नै परेको थियो, अनि उहाँको महामहिमाको डरले गर्दा मैले यी सबै कुरा गर्न सकिनँ।
24“यदि मैले सुनमा मेरो भरोसा राखेको भए, वा ‘तँ मेरो सुरक्षा होस्’ भनी निखुर सुनलाई यो भनेको छु भने,
25यदि मैले मेरो धन-सम्पत्तिमा र सम्पत्तिको बढ्तीमा रमाहट गरेको भए,
26यदि मैले सूर्यको प्रतापलाई अथवा चन्द्रमाको सम्पूर्ण सौन्दर्यलाई हेरेर,
27मेरो हृदयलाई गुप्तमा बहकाएको भए र तिनलाई पूज्न मेरा हात उठाएको भए,
28ती ता इन्साफ गरिने योग्यका पाप हुनेथिए, किनभने स्वर्गमा हुनुहुने परमेश्वरको विरुद्धमा म अविश्वासी हुनेथिएँ।
29मेरा विरोधीहरूका विनाशलाई देखेर म रमाएको छु भने, अथवा दु:खले त्यसलाई घेर्दा म खुशी भएको छु भने,
30‘त्यो मरिजाओस्’ भनी सराप दिएर मैले कहिल्यै पाप गरिनँ।
31मेरो निम्ति काम गर्ने सबै मानिसहरूले यो कहिल्यै नभनेको भए, “अय्यूबको भोजबाट को तृप्त भएको छैन र?”
32तर परदेशीहरूलाई राती सड़कहरूमा सुत्न परेको छैन, किनकि यात्रुको लागि मेरो घर सधैँ खुल्ला थियो।
33अरू मानिसहरूले आफ्ना पाप लुकाउन चेष्टा गरेझैँ, मैले मेरो हृदयमा मेरा पाप लुकाएको छु भने,
34किनकि भीड़ले के भन्लान् भनी म डराएँ, र कुटुम्बहरूका गिल्लाको डरले, म चूप लागि बसें, घरभित्रै बसिरहेँ।
35(म जे भनिरहेछु कसैले सुनिदिने भए ता, म शपथ खाएर भन्दछु, कि एक-एक कुरा सत्य छ, सर्वशक्तिमान् परमेश्वरले जवाफ देऊन्! मेरा विरोधीहरूले मेरो विरुद्धमा ल्याएका दोषहरू लेखिदेऊन्।
36म ती मेरो गलामा पहिरिनेथिएँ, मुकुट झैँ पहिरने थिएँ।
37मैले गरेका सबै काम म उनलाई बताउनेथिएँ, म उनको सामुन्ने राजकुमारझैँ जानेथिएँ।)—
38“यदि मेरो खेत मेरो विरुद्ध कराएको भए, र त्यसका ड्याङहरूमा आँसुले भिजेको भए,
39उमार्नेहरूलाई भोकै राखेर मैले खाएको भए, किसानहरूका आत्मा रुवाएको भए,
40जौको सट्टामा झार र गहूँको सट्टामा लुहुढ़े-काँढ़ा उम्रून्।”