अय्‍यूब 32:1-22 NNRV2012 - Bible AI

1तब ती तीन जना मानिसहरूले अय्‍यूबलाई जवाफ दिन छोड़े, किनभने तिनले आफूलाई निर्दोष नै छु भनी सम्‍झे।

2तर रामको सन्‍तानको बुजी बारकेलका छोरा एलीहूलाई रीस उठ्यो। किनभने अय्‍यूबले आफूलाई परमेश्‍वरभन्‍दा पनि धेरै धर्मी तुल्‍याए।

3ती तीन जना मित्रहरूसँग पनि तिनी रिसाए। किनभने अय्‍यूबलाई जवाफ दिन तिनीहरूसित केही जवाफै रहेन। यद्यपि तिनीहरूले तिनलाई दोषी ठहराए।

4उनीहरू अय्‍यूबसँग कुरा गरुञ्‍जेल एलीहूचाहिँ चूप लागी बसेका थिए, किनकि उनीहरूभन्दा तिनी उमेरमा सानो थिए।

5तर ती तीन जनासँग अय्‍यूबलाई फर्काउन जवाफ केही नभएको देखेर तिनले आफ्‍नो रीस थाम्‍न सकेनन्‌।

6तब बुजी बारकेलका छोरा एलीहूले भन्‍न सुरु गरे:

6“म त उमेरमा सानै छु, अनि तपाईंहरू पाको हुनुहुन्‍छ। यसैकारण तपाईंको सामुन्‍ने मेरो ज्ञान देखाउन चाहिनँ र चूप लागी बसेको थिएँ।

7मैले यस्‍तो विचार गरें, ‘उमेरले बोल्‍नुपर्छ, र उमेर ढल्‍केकाहरूले आफ्‍ना बुद्धि प्रकट गर्नुपर्छ’।

8तर मानिसमा त परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ, र सर्वशक्तिमान्‌को सास, जसले त्‍यसलाई समझशक्ति दिन्‍छ।

9बूढ़ाहरू मात्रै ता बुद्धिमानी हुँदैनन्, अथवा जे ठीक छ सो बुझ्‍ने पाकाहरू मात्र हुँदैनन्‌।

10“यसैकारण म भन्‍दछु: मेरो कुरा सुन्‍नुहोस्‌। मैले जे जानेको छु सो भन्‍नेछु

11हेर्नुहोस्, म त तपाईंहरूका कुरा सुन्‍दैथिएँ, तपाईंहरूले शब्‍दहरू खोज्‍नुहुँदा तपाईंहरूका विचारको अन्‍त के हुन्‍छ भनी, म त ध्‍यानसित सुनिरहेको थिएँ।

12तपाईंहरूको विचारको अन्‍त के हुन्‍छ भनी मैले पूर्ण ध्‍यान दिएको थिएँ। तर तपाईंहरूमध्‍ये कसैले पनि अय्‍यूबलाई खण्‍डन गर्नुभएन, न त तिनको बहसको जवाफै दिनुभयो।

13यसो नभन्‍नुहोस्, ‘हामीले बुद्धि पाएका छौं, मानिसले होइन परमेश्‍वरले नै तिनको खण्‍डन गरून्‌।’

14तर अय्‍यूबले मेरो विरुद्धमा बोलेका छैनन्, तपाईंहरूजस्‍तै म तिनलाई जवाफ दिनेछैनँ।

15“तिनीहरू हैरान भएका छन्, र भन्‍नलाई केही बाँकी छैन।

16के तिनीहरू बोल्‍दैनन्‌ भनेर मैले पर्खिबस्‍ने र? किनभने तिनीहरू त्‍यहाँ उभिबस्‍छन्, र फेरि जवाफै दिँदैनन्‌।

17होइन, अब म मेरै जवाफ दिनेछु, र म जे जान्‍दछु, म तपाईंहरूलाई भन्‍नेछु।

18किनभने मेरो मुखभरि जवाफ आएको छ, मेरो मनमा कुरा भरिएको छ।

19मद्यले जस्‍तै मेरो पेट फुलेको छ, दाखरसको नयाँ थैलीझैँ पूरा फुलेको छ।

20शान्‍ति पाउनलाई मैले बोल्‍नैपर्छ, मैले मेरो मुख खोलेर जवाफ दिनैपर्छ।

21म कसैको पक्ष लिनेछैनँ, म कुनै मानिसलाई सर्काउनेछैनँ।

22किनकि म चाप्‍लुसी गर्न जान्‍ने भए, मेरा सृष्‍टिकर्ताले मलाई चाँड़ै उठाइलैजानुहुने थियो।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>