अय्‍यूब 35:1-16 NNRV2012 - Bible AI

1एलीहूले भने:

2“अय्‍यूब के यो न्‍यायसंगत छ? ‘परमेश्‍वरले मलाई सफाइ दिनुहुन्‍छ?’— भनी तपाईं भन्‍नुहुन्‍छ!

3तापनि तपाईं उहाँलाई सोध्‍नुहुन्‍छ, यसबाट मलाई के लाभ, र पाप नगरेर मलाई के फाइदा हुन्‍छ?

4“तपाईं र तपाईंका तीन जना मित्रहरूका विरुद्धमा म आफै बहस गर्नेछु।

5माथि आकाशमा हेर्नुहोस्‌ र विचार गर्नुहोस्, तपाईंको मास्‍तिरको बादललाई नियालेर हेर्नुहोस्‌।

6तपाईंले पाप गर्नुभएको भए त्‍यसले उहाँलाई कसरी असर पार्छ? तपाईंका अधर्म जतिसुकै भए तापनि त्‍यसले उहाँलाई के हुने हो त?

7तपाईं धर्मी हुनुभयो भने तपाईंले उहाँलाई के दिनुहुन्‍छ? अथवा तपाईंबाट उहाँलाई के लाभ हुन्‍छ र?

8तपाईंका दुष्‍टताले ता तपाईंजस्‍तै मानिसलाई मात्र छुन्‍छ। तपाईंको धार्मिकताले ता मानिसका सन्‍तानलाई मात्र प्रभाव पार्छ।

9“अत्‍याचारको भारमा परेर मानिसहरू कराउनेछन्, र ठूलाहरूको शक्तिको विरुद्धमा सहायताको निम्‍ति पुकारा गर्नेछन्‌।

10तर तिनीहरूमध्‍येका कसैले पनि यसो भनेर सोध्‍दैनन्, ‘मलाई बनाउनु हुने मेरा सृष्‍टिकर्ता कहाँ हुनुहुन्‍छ?— जसले राती गीतहरू दिनुहुन्‍छ,

11जसले हामीलाई पृथ्‍वीका पशुहरूलाई भन्‍दा बढ़ी सिकाउनुहुन्‍छ, र आकाशका चराहरूलाई भन्‍दा हामीलाई अझ बुद्धिमान्‌ तुल्‍याउनुहुन्‍छ?’

12मानिसहरूले पुकारा गर्दा उहाँ जवाफ दिनुहुन्‍न, किनभने तिनीहरू अहङ्कारी छन्‌।

13साँच्‍चै नै परमेश्‍वरले ती खोक्रा बिन्‍तीलाई सुन्‍नुहुन्‍न, सर्वशक्तिमान्‌ले त्‍यसमाथि ध्‍यानै दिनुहुन्‍न।

14“जब तपाईं भन्‍नुहुन्‍छ, म उहाँलाई देख्‍दिनँ, उहाँले तपाईंको बिन्‍ती कति कम सुन्‍नुहोला, जब तपाईंको मुद्दा उहाँको अघि छ र तपाईंले उहाँको बाटो हेर्नुपर्छ।

15परमेश्‍वरको रीसले दण्‍ड दिँदैन, र दुष्‍टतामाथि उहाँले कुनै ध्‍यान दिनुहुन्‍न।

16यसरी अय्‍यूबले फोस्रा कुरा गर्नुहुन्‍छ, र ज्ञानविनाका शब्‍दहरू मात्र थुपार्नुहुन्‍छ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>