अय्‍यूब 36:1-33 NNRV2012 - Bible AI

1एलीहूले फेरि भन्‍न लागे:

2“एक छिन धैर्य धारण गर्नुहोस्, र परमेश्‍वरको तर्फमा मैले अझै भन्‍नुपरेको छ भनी म देखाउनेछु।

3म मेरो ज्ञान टाढ़ाबाट प्राप्‍त गर्छु, न्‍यायको लागि म मेरा सृष्‍टिकर्तालाई आदर दिन्‍छु।

4निश्‍चित हुनुहोस्, मैले गरेको विचारमा केही असत्‍य छैन। ज्ञानमा सिद्ध एक जना तपाईंसित हुनुहुन्‍छ।

5“परमेश्‍वर शक्तिमान्‌ हुनुहुन्‍छ, तर उहाँले कसैलाई घृणा गर्नुहुन्‍न, उहाँ आफ्‍नो सङ्कल्‍पमा शक्तिशाली र दृढ़ हुनुहुन्‍छ।

6उहाँ दुष्‍टहरूलाई जीवित राख्‍नुहुन्‍न, र गरीबहरूको उचित न्‍याय गर्नुहुन्‍छ।

7उहाँले धार्मिकहरूबाट आफ्‍नो दृष्‍टि हटाउनुहुन्‍न, उहाँले तिनीहरूलाई राजासित बसाल्‍नुहुन्‍छ, र सधैँको लागि तिनीहरूलाई उचाल्‍नुहुन्‍छ

8तर तिनीहरूलाई साङ्गलाले बाँधिएका, दु:ख-कष्‍टका साङ्गलाले बाँधिए भने,

9उहाँ तिनीहरूलाई तिनीहरूले के गरे अर्थात्‌ तिनीहरूले हठपूर्ण पाप गरे भनी भन्‍नुहुन्‍छ,

10उहाँको चेताउनी तिनीहरूका कानमा गुञ्‍जिरहन्‍छ, र तिनीहरूका दुष्‍ट चालहरूबाट फर्कनलाई तिनीहरूलाई आज्ञा गर्नुहुन्‍छ।

11यदि तिनीहरूले उहाँको कुरा सुने भने, तिनीहरूले आफ्‍ना बाँकी दिन उन्‍नतिमा र आफ्‍ना वर्ष सुख-शान्‍तिमा बिताउनेछन्‌।

12तर तिनीहरूले उहाँका कुरा सुनेनन्‌ भने, केही थाहै नपाई तिनीहरू तरवारद्वारा मर्छन्‌।

13ईश्‍वरहीन मानिसहरू रिसाई नै रहन्‍छन्, परमेश्‍वरबाट दण्‍ड पाउँदा पनि, तिनीहरू सहायताको लागि उहाँको पुकारा गर्दैनन्‌।

14मन्‍दिरका पुरुष वेश्‍याका बीचमा तिनीहरू आफ्‍ना जवानीपन मै मर्छन्‌।

15तर दु:ख पाउनेहरूलाई उहाँले दु:खबाट छुटाउनुहुन्‍छ, तिनीहरूका दु:खमा उहाँ तिनीहरूसित बोल्‍नुहुन्‍छ।

16“परमेश्‍वरले तपाईंलाई कष्‍टबाट निकालेर सुरक्षित स्‍थानमा, असल खानेकुरा प्रशस्‍त भएको स्‍थानमा राख्‍नलाई फकाउनुहुन्‍छ।

17तर अब ता तपाईं दुष्‍टताको कारण आफूले पाउनुपर्ने दण्‍ड भोग्‍दैहुनुहुन्‍छ। इन्‍साफ र न्‍यायले तपाईंलाई समातेका छन्‌।

18होशियार हुनुहोस्, कसैले तपाईंलाई धनले नलोभ्‍याओस्, घूसले तपाईंलाई नभर्माओस्,

19के तपाईंको सम्‍पत्ति अथवा तपाईंका सबै शक्तिशाली कोशिशले पनि, तपाईंलाई संकष्‍टबाट बचाइरहन सक्‍छ?

20मानिसहरूलाई तिनीहरूका घरबाट घिस्‍स्‍याउनलाई रात परोस्‌ भनी तपाईं इच्‍छा नगर्नुहोस्‌।

21दुष्‍ट कामतिर नफर्कनुहोस्, जसलाई तपाईं दु:खको सट्टामा रुचाउनुहुन्‍छ।

22“परमेश्‍वर त हामीभन्‍दा अति उच्‍च महिमामा रहनुहुन्‍छ, उहाँजस्‍तो शिक्षक को छ र?

23कसले उहाँलाई उहाँको मार्ग तोकिदिएको छ, अथवा तपाईंले त गल्‍ती पो गर्नुभएको छ, भनी कसले उहाँलाई भनेको छ?

24मानिसहरूले भजनद्वारा उहाँको कार्यको प्रशंसा गरेझैँ, तपाईंले पनि उहाँको कामको प्रशंसा गाउन नभुल्‍नुहोस्‌।

25सबै मानिस-जातिले, यसलाई देखेका छन्, मानिसहरूले टाढ़ैबाट यसलाई हेर्छन्‌।

26परमेश्‍वर कत्ति महान्‌ हुनुहुन्‍छ त्‍यो हाम्रो समझभन्‍दा टाढ़ो छ, अथवा उहाँका वर्षहरू हाम्रो खोजीभन्‍दा पर छ।

27“उहाँले समुद्रबाट पानीको थोपा खिँच्‍नुहुन्‍छ, र आफूले बनाउनुभएको मेघबाट झरी बर्साउनुहन्‍छ।

28वृष्‍टिको मेघले मुसलधारा पानी बर्साउँछ, मानिस-जातिमाथि ती झरी भएर झर्छन्‌।

29आकाशमा फैलिएको उड़िरहने बादल र आफ्‍नो वासस्‍थानबाट गर्जन पठाउनुहुने रहस्‍य कुन मानिसले जान्‍दछ र?

30उहाँले कसरी आकाशका चारैतिर बिजुली पठाउनुहुन्‍छ, र समुद्रका गहिराइहरूचाहिँ अँध्‍यारो नै रहन्‍छन्‌।

31यसरी उहाँले जाति-जातिहरूको पोषण गर्नुहुन्‍छ, र तिनीहरूलाई प्रशस्‍त गरी खानेकुरा दिनुहुन्‍छ।

32उहाँले बिजुली-वाणलाई आफ्‍नो हातमा लिनुहुन्‍छ, र सीधै निशानामा प्रहार गर्न अह्राउनुहुन्‍छ।

33उहाँको गर्जनले आउँदो आँधीबेहरीको सूचना दिन्‍छ, गाईबस्‍तुले पनि त्‍यसको आगमनको ज्ञान दिन्‍छ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>