1तब परमप्रभुले अय्यूबलाई आँधीबेहरीबाट यसरी जवाफ दिनुभयो:
2“यो को हो जसले मूर्ख कुराहरू गरेर मेरो सल्लाहलाई धमिल्याउन खोज्छ?
3तेरो कम्मर कसेर मर्दझैँ खड़ा हो, म तँलाई सवाल गर्छु, र तैंले मलाई जवाफ दे।
4पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस्? तैंले बुझ्छस् भने मलाई बता।
5त्यसको नाप कसले ठहरायो? तैंले ता जान्नुपर्ने! कसले त्यसमा नापको डोरी टाँग्यो?
6त्यसलाई थाम्ने खम्बाहरू कहाँ अड़्याइएका छन्? त्यसको जगको ढुङ्गा कसले बसाल्यो?
7जब त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए, र स्वर्गदूतहरू रमाहटले कराए।
8समुद्र पृथ्वीको गर्भबाट फुटेर निस्कँदा ⓑ त्यसलाई रोक्न कसले ढोकाहरू बन्द गर्यो?
9जब मैले त्यसलाई बादलको कम्बलले ढाकें, र बाक्लो कुइरोले त्यसलाई लपेटें।
10त्यसका ढोकाहरू र आग्लाहरू ठीक ठाउँमा राखेर, जब मैले त्यसका सिमाना ठहराएँ,
11र मैले भने, ‘यतिसम्म मात्र तँ आउन सक्छस्, अरू यता आउन सक्दैनस्, तेरा शक्तिशाली छालहरू यही नै रोकिनुपर्छ’।
12तेरो जीवनकालमा के तैंले कहिल्यै बिहानीलाई आज्ञा गरेको छस्? अथवा प्रभातलाई त्यसको ठाउँ देखाएको छस्?
13र यसले पृथ्वीको छेउ समातेर दुष्टहरूलाई त्यहाँबाट हटाउन त्यसलाई हल्लाओस्?
14माटोले टाँचाको मुन्तिर आकार लिएजस्तै पृथ्वीले आकार धारण गर्छ, त्यहाँका आकृति लुगाको जस्तै प्रष्ट देखिन्छन्।
15दुष्टहरूलाई प्रकाश दिइँदैन र तिनीहरूका उठाइएका हात भाँचिन्छन्।
16के तँ समुद्रको मूलहरूसम्म झरेको छस्? अथवा जानै नसकिने गहिराइमा हिँड़ेको छस्?
17के मृत्युका मूल ढोकाहरू तँलाई प्रकट गरिएका छन्? के तैंले अँध्यारो ठाउँका ढोकाहरूलाई कहिल्यै देखेको छस्?
18के तैंले पृथ्वीको विस्तृत फैलावटलाई बुझेको छस्? यी सबै तैंले जानेको भए मलाई बता।
19ज्योतिको मुहान कता छ? र अन्धकार कहाँ वास बस्छ?
20के तैंले तिनीहरू हरेकलाई तिनीहरूका ठहराएका सिमानामा लैजान सक्छस्? र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ?
21नि:सन्देह तैंले यी सबै कुरा जान्दछस् होला, किनकि तँ जन्मिसकेको थिइस्! तँ कति धेरै वर्ष बाँचिसकिस्!
22“के तँ हिउँको भण्डारमा पुगेको छस्? अथवा असिना थुपारेको स्थान तैंले देखेको छस्?
23जो मैले विपत्तिको दिन, युद्ध र लड़ाइँको घड़ीको निम्ति जोगाएर राखेको छु।
24कुन बाटोहरूदेखि बिजुली यताउता फैलिन्छ, अथवा पूर्वीय बतास पृथ्वीमा चारैतिर उड़ाइन्छ?
25महावृष्टिको लागि कसले नहर खनेको छ? र तूफानको निम्ति बाटो कसले तयार गरेको छ?
26निर्जन ठाउँमा उजाड़-स्थानलाई भिजाउनका निम्ति
27उजाड़ र रूखो जमिनहरूलाई हरियोभरियो बनाउनलाई र सुक्खा जमिनमा घाँसहरू उमार्नलाई कसले बाटो तयार गर्यो?
28के वृष्टिको कुनै बुबा छ? शीतको थोपालाई जन्माउने बुबा को हो?
29कसको गर्भले हिउँलाई जन्मायो? आकाशबाट झर्ने तुसारोको आमाचाहिँ को हो?
30कहिले पानी ढुङ्गाजस्तै कड़ा बन्दछ, कहिले गहिरो महासागरको सतह जम्छ?
31“के तँ किरकिटी ताराहरूलाई बाँध्न सक्छस्? ⓒ अथवा मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्?
32के तैंले ग्रह नक्षत्रहरूलाई तिनका ऋतु-ऋतुमा निकाल्न सक्छस्? अथवा सप्तर्षि-तारा र तिनका दललाई डोर्याउन सक्छस्?
33आकाशको शासन गर्ने नियमहरूलाई के तैंले जानेको छस्? पृथ्वीको प्राकृतिक नियमहरूलाई तैंले ठहराउन सक्छस्?
34र आफूलाई पानीको भलले ढाक्न सक्छस्?
35के तैंले बिजुलीलाई तिनीहरूको मार्गमा पठाउँछस्? के तिनीहरूले ‘हामी यहाँ छौं’ भनी तँलाई भन्छन् र?
36कसले हृदयलाई बुद्धि दियो? अथवा मनलाई समझदारी दियो?
37को यस्तो बुद्धिमानी छ जसले मेघलाई गन्न सक्छ? र आकाशमा भएको पानीको भण्डारलाई रित्त्याउँछ?
38कहिले धूलो माटो कड़ा हुन्छ, र माटोको डल्ला एकसाथ टाँसेर बस्छ?
39“के सिंहनीको निम्ति तैंले शिकार खोजिदिन्छस्? र सिंहको भोकलाई तैंले तृप्त पार्न सक्छस्?
40जब तिनीहरू आफ्नो ओड़ारमा ढुकिबस्छन्, अथवा आफू लुकेको ठाउँमा पर्खिरहेका हुन्छन्?
41कागका बचेराहरूले खानेकुराको अभावमा परमेश्वरको पुकारा गर्दा, कसले कागलाई त्यसको आहार जुटाइदिन्छ?”