1“चाहनुहुन्छ भने बोलाएर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ दिन्छ? कुन पवित्र जनहरूतिर तपाईं फर्कनुहुनेछ?
2रीसले मूर्खलाई मार्छ, अनि ईर्ष्याले सोझाहरूलाई।
3मूर्खले जरा गाड़ेको मैले देखेको छु, तर त्यसको घर एक्कासि श्रापित भयो।
4त्यसका बालकहरू सुरक्षित नभएका, अदालतमा प्रतिवाद गरिदिने कोही नभई पेलिएका मैले देखेको छु।
5त्यसले कटनी गरेको फसल भोकाहरूले खान्छन्, काँढ़ाहरूका बीचबाट उम्रेका पनि बटुलेर लान्छन्, तिर्खाएकाहरूले त्यसका धन-सम्पत्तिको तृष्णा गर्छन्।
6किनकि माटोबाट कष्ट उब्जँदैन, न त जमिनबाट दु:ख उत्पन्न हुन्छ।
7आगोको फिलिङ्गो माथि उड़ेझैँ, मानिस पनि दु:खकै लागि जन्मन्छ।
8“तर यदि म भएको भए, म मेरो अर्जी परमेश्वरमा नै चढ़ाउने थिएँ, र मेरो मामिला उहाँकै सामुन्ने राख्नेथिएँ।
9उहाँले महान् र बुझ्न नसकिने कार्यहरू, अनगन्ती आश्चर्यकर्महरू गर्नुहुन्छ।
10उहाँले पृथ्वीमा पानी वर्षाउनुहुन्छ, र खेतहरूमा पानी पठाउनुहुन्छ।
11उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ, र शोक गर्नेहरूलाई सुरक्षामा उचाल्नुहुनेछ,
12धूर्तहरूका युक्तिलाई उहाँले विफल गराउनुहुन्छ, अनि तिनीहरूले सफलता पाउँदैनन्।
13उहाँले ज्ञानीहरूलाई तिनीहरूका चलाकीमा पक्रनुहुन्छ, र धूर्तहरूका योजना खलबल पारिदिनुहुन्छ। ⓚ
14तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्छन्, र मध्यदिनमा तिनीहरू रातमा झैँ छामेर हिँड्छन्।
15उहाँले दरिद्रहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र कङ्गालीहरूलाई बलियाहरूका पन्जादेखि जोगाउनुहुन्छ।
16यसैले गरीबहरूको आशा हुन्छ, र अन्यायले आफ्नो मुख बन्द गर्नेछ।
17“त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले चेताउनुहुन्छ। ⓛ यसकारण सर्वशक्तिमान्को अनुशासनलाई इन्कार नगर।
18किनभने उहाँले चोट पार्नुहुन्छ, ⓜ तर उहाँले पट्टी बाँध्नुहुन्छ, उहाँले चोट पार्नुहुन्छ, तर उहाँको हातले निको पनि पार्नुहुन्छ।
19छ पल्ट तिमीमाथि आपत् आइपरे तापनि उहाँले तिमीलाई बचाउनुहुनेछ, सात पल्टको हानिले पनि तिमीलाई छुनेछैन।
20अनिकालको बेलामा उहाँले तिमीलाई मृत्युबाट बचाउनुहुनेछ, उहाँले तिमीलाई युद्धमा तरवारबाट जोगाउनुहुनेछ।
21उहाँले तिमीलाई निन्दाको कोर्राबाट सुरक्षित राख्नुहुनेछ, विनाश आउँदा तिमी डराउनुपर्नेछैन।
22विनाश र अनिकालमाथि तिमी हाँस्ने छौ, अनि जङ्गली जनावरहरूदेखि तिमी डराउनुपर्नेछैन।
23खेतका ढुङ्गाहरूसित तिमी वाचा बाँध्नेछौ र वन-पशुहरूले तिमीसँग मेलमिलाप राख्नेछन्।
24तिम्रो पाल सुरक्षित छ भनी तिमीलाई थाहा हुनेछ, र तिमीले आफ्ना बगालको सम्पत्तिको लेखा राख्दा केही अभाव पाउनेछैनौ।
25तिम्रा सन्तान-दरसन्तानहरू धेरै भएका र तिम्रा छोराछोरीहरू जमिनका घाँसहरूझैँ भएका तिमीलाई थाहा हुनेछ।
26आफ्नो ठीक ऋतुमा खलामा बाली आएझैँ पूरा वृद्धावस्थामा तिमी आफ्नो मृत्युमा पुग्नेछौ।
27“हामीले यी सबै जाँचेका छौं, र यो सत्य हो। यसैले यो सुन्नुहोस्, अनि आफूमा त्यो लागू गर्नुहोस्।”