अय्‍यूब 6:1-30 NNRV2012 - Bible AI

1तब अय्‍यूबले जवाफ दिए:

2“हाय, मेरो मनको दु:ख जोख्‍न मात्र सकिए त, अनि मेरा सबै विपत्ति तीसँगै तराजूमा राखिएको भए त!

3समुद्रका बालुवाभन्‍दा पनि ती गह्रौँ हुनेथिए— मेरा वचन उग्र भएकोमा कुनै आश्‍चर्य छैन।

4सर्वशक्तिमान्‌का काँड़ ममा गाड़िएका छन्, अनि तिनका विष मेरो आत्‍माले पिउँदछ, परमेश्‍वरका त्रास मेरो विरुद्धमा खड़ा छन्‌।

5के वन-गधा घाँस पाउँदा कराउँछ? अथवा आफ्‍नो कुँड़ो पाउँदा गोरु डुक्रन्‍छ?

6के खल्‍लो खानेकुरा नूनविना खान सकिन्‍छ? के अण्‍डाको सेतो भागमा केही स्‍वाद हुन्‍छ?

7मलाई भोक लाग्‍दा पनि ती छुन मन लाग्‍दैन, यस्‍तो भोजनले मलाई बिरामी बनाउँछ,

8हाय! मैले बिन्‍ती गरेको कुरा पाए त हुनेथियो! मैले आशा गरेको थोक परमेश्‍वरले मन्‍जूर गर्नु भए त हुनेथियो!

9मलाई धूलोपीठो पार्न परमेश्‍वर इच्‍छुक भए ता हुनेथियो! उहाँको हात स्‍वतन्‍त्र भएर मलाई खतम पारे त हुनेथियो!

10त्‍यसले बरु मलाई शान्‍ति हुनेथियो! र कष्‍टमा पनि म आनन्‍दले उफ्रनेथिएँ! किनभने पवित्र जनका वचन मैले इन्‍कार गरेको छैनँ।

11ममा के शक्ति छ र म अझ पनि आशा गरौं, मेरो अन्‍त के हुन्‍छ र म धैर्य धारण गरूँ?

12के मेरो शक्ति ढुङ्गाको जस्‍तै छ र? अथवा के मेरो मासु काँसाको हो र?

13के ममा आफूलाई सहायता गर्न केही बल रहेको छ? किनकि अब सफलता मबाट हटाइएको छ।

14“सर्वशक्तिमान्‌तर्फको विश्‍वास त्‍यागेको भए तापनि निराश भएको मानिसलाई मित्रहरूको आस्‍था त हुनुपर्ने थियो!

15तर मेरा दाजुभाइहरू ता पहाड़का सुक्‍ने र भल आउने खोलाझैँ, भरोसा गर्न नसकिने भए, भल आउने खोला झैँ।

16जब पग्‍लेका बरफले, अथवा हिउँ पग्‍लेर भल आउँछ।

17तर सुक्‍खा ऋतुमा बग्‍न छोड्‌छन्, र तापले ती नालाबाट हराइहाल्‍छन्‌।

18तब यात्री-दल आफ्‍ना बाटोबाट तर्केर जान्‍छन्, तिनीहरू विनाशतिर उक्‍लन्‍छन्‌ र नष्‍ट हुन्‍छन्‌।

19तेमाका यात्री-दल आफ्‍ना निम्‍ति ती खोलाका पानी खोज्‍छन्, शेबाका व्‍यापारी दल तिनको आशासहित हेर्छन्‌।

20आफूले भरोसा गरेका सबै कुरामा तिनीहरू निराश हुन्‍छन्, तिनीहरू निराश हुनलाई मात्र त्‍यहाँ पुग्‍छन्‌।

21अब तपाईंहरू पनि सहायताविहीन हुनुहुन्‍छ भनी साबित भयो, तपाईंहरूले केही डरलाग्‍दो कुरा देख्‍नुभयो र भयभीत हुनुभयो।

22‘मेरो पक्षमा केही दिनुहोस्, मेरो निम्‍ति तपाईंहरूको धन-सम्‍पत्तिबाट, मेरो छुटकाराको धरौटी तिरिदिनुहोस्‌ भनी मैले भने र?

23मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्, निष्‍ठुर मानिसहरूका हातबाट दाम तिरेर मलाई मुक्त गर्नुहोस्, भनी मैले कहिल्‍यै भने?

24“मलाई सिकाउनुहोस्, र म चूपचाप बसेर सुन्‍नेछु, मैले कहाँ गल्‍ती गरें, मलाई देखाइदिनुहोस्‌।

25ईमानदार वचनहरू कति कष्‍टप्रद छन्‌। तर तपाईंहरूको तर्कले के प्रमाणित गर्दछ?

26मैले भनेका कुराहरू तपाईंहरू सच्‍याउन चाहनुहुन्‍छ, र निराश मानिसको वचनलाई बतासझैँ ठान्‍नुहुन्‍छ?

27तपाईंहरू टुहुराहरूलाई चिट्ठा हाल्‍नुहुन्‍छ? र आफ्‍नै साथीहरूलाई साट्‌नुहुन्‍छ।

28“यसैले, अब म बिन्‍ती गर्दछु, फर्केर मलाई हेर्नुहोस्, के म तपाईंहरूको मुखकै सामुन्‍ने असत्‍य बोल्‍नेजस्‍तै छु र?

29कमलो हुनुहोस्, ममाथि अरू अन्‍याय नगर्नुहोस्, फेरि सम्‍झनुहोस्, किनभने यहाँ मेरो ईमानदारीको सवाल छ।

30के मेरा ओठहरूमा कुनै दुष्‍टता छ? के मेरो मुखले असल र खराबको बीचमा छुट्ट्याउन सक्‍दैन र?

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>