1के पृथ्वीमा मानिसले कठिन कार्य गर्नुपर्दैन? अनि के त्यसका दिनहरू ज्यालामा काम गर्नेहरूका जस्तै छैनन् र?
2बेलुकीको शीतल छाया खोज्ने दासले झैँ अथवा आफ्नो ज्यालाको निम्ति उत्सुकतापूर्वक पर्खिरहने नोकरझैँ,
3यस्तै व्यर्थका महिना मेरा भाग भएका छन्, दु:खका रातहरू मेरो निम्ति ठहराइएका छन्।
4जब म ढल्कन्छु, तब म विचार गर्दछु, कहिले उज्यालो हुन्छ, र म उठूँ? रात लामो हुन्छ र मिरमिरे उज्यालो नहोउञ्जेल, म यताउता छटपटाइरहन्छु।
5मेरो शरीर कीरै-कीराले र पाप्राले भरिएको छ, र मेरो छालामा चिराचिरा परेर पीप निस्कन्छ।
6जुलाहाको थुरीभन्दा चाँड़ो मेरा दिन बित्छन्, मेरा दिनहरू आशाविना अन्त हुन्छन्।
7हे परमेश्वर, मेरो जीवन ता हावाको एक झोँक्का मात्र हो भनी सम्झनुहोस्। मैले फेरि सुदिन देख्न पाउनेछैनँ।
8अहिले मलाई देख्ने आँखाले फेरि कहिल्यै देख्नेछैन, तपाईंले मलाई खोज्नुहुनेछ, तर म लोप भइहाल्नेछु।
9जसरी बादल फाटेर छताछुल्ल र लोप हुन्छ, त्यसरी नै चिहानमा [1] जाने फेरि कहिल्यै फर्कनेछैन।
10त्यो फेरि कहिल्यै घरमा फर्केर आउँदैन, अनि त्यसलाई चिन्नेहरूले त्यसलाई बिर्सनेछन्।
11“यसकारण म चूप लागि बस्नेछैनँ, मेरो मनको पीरमा म बोल्नेछु, मेरो प्राणको व्याकुलतामा म उजूर गर्नेछु,
12के म समुद्र हुँ? अथवा समुद्रको भयानक जन्तु हुँ? र तपाईं मलाई पहराको निगरानीमा राख्नुहुन्छ?
13मेरो ओछ्यानमा म सान्त्वना पाउँछु, र निद्राले मलाई मेरो कष्टबाट छुटकारा दिन्छ भनी जब म सम्झन्छु,
14तब तपाईंले मलाई सपनाले तर्साउनुहुन्छ, र दर्शनहरूद्वारा तपाईं मलाई डर देखाउनुहुन्छ।
15यसरी म यो मेरो शरीरभन्दा निमोठ्याई र मृत्युलाई रुचाउँछु।
16म मेरो जीवनलाई घृणा गर्दछु, बाँचिरहने मेरो इच्छा छैन। मलाई छोड़िदिनुहोस्, किनभने मेरो जीवनको अर्थ छैन।
17“मानिस के हो र तपाईं त्यसको यति धेरै ख्याल गर्नुहुन्छ? ⓝ अनि तपाईं त्यसको यति धेरै फिक्री गर्नुहुन्छ?
18बिहानैपिच्छे त्यसलाई तपाईं परीक्षा गर्नुहुन्छ? अथवा प्रतिक्षण त्यसको जाँच गर्नुहुन्छ?
19के एक क्षण पनि तपाईं मबाट अन्त कतै हेर्नुहुन्न? अथवा मलाई एकलै छोड्नुहुन्न।
20हे मानिसहरूका हृदय जाँच्नुहुने, यदि मैले पाप गरेको भए, मैले कसरी तपाईंको हानि गरें त? तपाईंले किन मलाई आफ्नो निशाना बनाउनुभयो? के म तपाईंको निम्ति बोझ भएको छु?
21तपाईं किन मेरो अपराध माफ गर्नुहुन्न र मेरा पाप क्षमा गर्नुहुन्न? किनकि चाँड़ै म चिहानमा सुतिजानेछु, तपाईंले मलाई खोज्नुहुँदा पनि मलाई पाउनुहुनेछैन।”