अय्‍यूब 9:1-35 NNRV2012 - Bible AI

1अय्‍यूबले जवाफ दिए:

2निश्‍चय नै यो सत्‍य हो भनी म जान्‍दछु, तर परमेश्‍वरको अघि कुनै मानिसले आफूलाई कसरी धर्मी ठहराउन सक्‍छ?

3यदि कुनै मानिसले परमेश्‍वरसित बहस गर्न इच्‍छा गर्‍यो भने, त्‍यसले हजारमा एउटा प्रश्‍नको जवाफ दिन सक्‍दैन।

4उहाँ ज्ञानी हुनुहुन्‍छ, उहाँ शक्तिशाली हुनुहुन्‍छ। उहाँको प्रतिरोध गरी जिद्दी गरेर कुन मानिस बाँच्‍न सकेको होला?

5उहाँले पर्वतहरूलाई तिनीहरूले थाहै नपाई सार्नुहुन्‍छ, र क्रोधमा तिनीहरूलाई पल्‍टाउनुहुन्‍छ।

6उहाँले पृथ्‍वीलाई त्‍यसका ठाउँबाट हल्‍लाउनुहुन्‍छ, र त्‍यसका सबै जगहरू काम्‍छन्‌।

7उहाँले सूर्यलाई उदय नहुने आज्ञा गर्नुहुन्‍छ र ताराहरूका प्रकाशलाई बन्‍द गर्नुहुन्‍छ।

8उहाँले नै हो आकाश फिँजाउनुभएको, र उहाँ नै समुद्रका छालहरूमाथि हिँड्‌नुहुन्‍छ।

9उहाँले सप्‍तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारागण बनाउनुभयो।

10महान्‌ र अथाह कार्यहरू, अनगन्‍ती आश्‍चर्यका कामहरू उहाँ गर्नुहुन्‍छ।

11उहाँ मेरो छेउबाट भएर जानुहुन्‍छ, म उहाँलाई देख्‍न सक्‍दिनँ, उहाँ आफ्‍नो बाटो लाग्‍नुहुँदा मलाई थाहै हुँदैन।

12उहाँले खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्‍छ? तपाईं के गर्दैहुनुहुन्‍छ भनी कसले उहाँलाई सोध्‍न सक्‍छ?

13परमेश्‍वरले आफ्‍नो क्रोध शान्‍त गर्नुहुन्‍न, राहाबका सहयोगीहरू उहाँका खुट्टामा निहुरन्‍छन्‌।

14यसो हो भने, म कसरी उहाँसित झगड़ा गर्न सक्‍छु, अथवा उहाँसित विवाद गर्न म कसरी शब्‍दहरू पाउन सक्‍छु?

15म निर्दोष भए तापनि उत्तरै दिन सक्‍दिनँ, मलाई दोषी ठहराउनुहुनेसँग म कृपाको निम्‍ति बिन्‍ती मात्र गर्न सक्‍छु।

16उहाँलाई मैले बोलाउँदा उहाँ आउनुभए तापनि उहाँले मेरो उजूर सुन्‍नुहुन्‍छ भनी म विश्‍वासै गर्न सक्‍दिनँ।

17उहाँले मलाई आँधीद्वारा पिस्‍नुहुन्‍छ। विनाकारण मेरा चोटहरू बढ़ाउनुहुन्‍छ।

18उहाँले पुन: सास फेर्न पनि दिनुहुन्‍न, तर आपद्‌-विपद्‌ले मेरो मन व्‍याकुल पार्नुहुन्‍छ।

19यदि यो सामर्थ्‍यको कुरा हो भने, उहाँ महान्‌ हुनुहुन्‍छ, र यदि यो इन्‍साफको कुरा हो भने, उहाँलाई कसले बोलाउन सक्‍छ?

20म निर्दोष भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ। म निरपराधी भए तापनि यसले मलाई दोषी घोषणा गर्नेछ।

21“यद्यपि म निर्दोष छु, तापनि म आफ्‍नो निम्‍ति केही वास्‍ता गर्दिनँ, म आफूलाई घृणा गर्दछु।

22तर कुरो त एउटै छ, यसैकारण म भन्‍दछु, ‘उहाँले निर्दोष र दुष्‍ट दुवैलाई नष्‍ट गर्नुहुन्‍छ।’

23जब विपत्तिले एक्‍कासि मृत्‍यु ल्‍याउँछ, उहाँले निर्दोषको दशामाथि ठट्टा गर्नुहुन्‍छ।

24जब जमिन दुष्‍टहरूको हातमा पर्छ, उहाँले सबै न्‍यायकर्ताहरूका आँखा बन्‍द गरिदिनुहुन्‍छ। अथवा त्‍यो गर्नुहुने उहाँ हुनुहुन्‍न भने त को हो?

25मेरो आयु धावकभन्‍दा पनि वेगसित दौड़न्‍छ, कुनै हर्षको झल्‍कोविना नै त्‍यो बित्‍दै जाँदैछ।

26निगालाको डुङ्गाजस्‍तै ती चाँड़ो बगेर जान्‍छन्, चीलहरू आफ्‍नो शिकारमाथि वेगले झम्‍टेझैँ।

27म आफ्‍ना दु:ख बिर्सनेछु, म खुशीको अनुहार देखाएर हाँस्‍नेछु, भनी मैले भने तापनि,

28मैले भोग्‍नुपर्ने सबै दु:खदेखि म डराउँछु, म जान्‍दछु कि तपाईंले मलाई निर्दोष ठहराउनुहुन्‍न।

29म दोषी ठहरिसकेको छु भने, म किन व्‍यर्थमा परिश्रम गरौं?

30मैले आफूलाई साबूनले नुहाएँ तापनि, अथवा सोडाले आफ्‍नो हात सफा गरी धोएँ भने,

31तापनि तपाईं मलाई हिलैमा फाल्‍नुहुन्‍छ, र मेरा लुगाले पनि मलाई घृणा गर्नेछन्‌।

32“उहाँ मजस्‍तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकौं, अथवा अदालतमा हामी एउटा अर्काको सामना गर्न सक्‍छौं।

33हाम्रा बीचमा कोही मध्‍यस्‍थ भए, हामी दुईमाथि हात राख्‍ने कोही भएता,

34परमेश्‍वरको लाठो मेरो पीठबाट हटाउनुहुने कोही भएता यसरी उहाँको त्रास अबदेखि ममाथि आउनेथिएन।

35तब म उहाँसँग नडराई बोल्‍ने थिएँ, तर अहिलेको यो अवस्‍थामा म सक्‍दिनँ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>