आमोस 2:1-16 NNRV2012 - Bible AI

1परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मोआबका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले एदोमको राजाका हड्डीहरू जलाएर चून बनाएको हुनाले

2म मोआबमा आगो पठाइदिनेछु, र त्‍यसले किर्योतका किल्‍लाहरू भस्‍म पार्नेछ। मोआबचाहिँ खैलाबैला, ठूलो युद्ध-ध्‍वनि र तुरहीको सोरमा नष्‍ट हुनेछ।

3म त्‍यसको शासक र त्‍यसका सबै अधिकारीहरूलाई सर्वनाश गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

4परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यहूदाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। तिनीहरूले परमप्रभुको व्‍यवस्‍थालाई अस्‍वीकार गरेका हुनाले, र उहाँका विधिहरू पालन नगरेकाले, र तिनीहरूका पिता-पुर्खाहरूले पछ्याएका झूटा देवताहरूद्वारा तिनीहरू भ्रममा परेका हुनाले,

5म यहूदामा आगो पठाइदिनेछु, र त्‍यसले यरूशलेमका किल्‍लाहरू भस्‍म पार्नेछ।”

6परमप्रभु यसो भन्‍नुहुन्‍छ: “इस्राएलका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। तिनीहरूले धर्मात्‍माहरूलाई चाँदीमा र दरिद्रहरूलाई एक जोर जुत्तामा बेच्‍छन्‌।

7तिनीहरू गरीबहरूका टाउकामाथि भूमिको धूलोमा गरेझैँ कुल्‍चन्‍छन्, र पीडितहरूको न्‍यायलाई नामन्‍जूर गर्दछन्‌। बुबा र छोरो एउटै तरुणीकहाँ गएर मेरो पवित्र नाउँ अपवित्र पार्छन्‌।

8तिनीहरू हरेक वेदीको छेउमा बन्‍धकका लुगाहरूमा सुत्‍छन्‌। जरीमाना स्‍वरूप पाएको दाखमद्य आफ्‍नो देवताको मन्‍दिरमा खान्‍छन्‌।

9“मैले तिनीहरूका सामुबाट एमोरीलाई सर्वनाश गरिदिएँ, जसको अल्‍गाइ देवदारुको र बलचाहिँ फलाँटका रूखको जस्‍तै थियो। मैले त्‍यसका माथितिरका फल र त्‍यसका तलतिरका जरा नष्‍ट पारिदिएँ।

10“एमोरीहरूको देश दिनलाई मैले तिमीहरूलाई मिश्रदेशदेखि निकालेर ल्‍याएँ, र मरुभूमिमा चालीस वर्ष डोर्‍याएँ।

11त्‍यसबाहेक मैले तिमीहरूका छोराहरूमध्‍येबाट अगमवक्ताहरू र तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू खड़ा गरें। हे इस्राएलका मानिसहरू हो, के यो कुरा सत्‍य होइन?” परमप्रभु भन्‍नुहुन्‍छ।

12“तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन लायौ, र अगमवक्ताहरूलाई ‘अगमवाणी नभन’ भनी आज्ञा दियौ।

13“हेर त, अब म तिमीहरूलाई अन्‍न भरिएको गाड़ाले किचेझैँ किच्‍नेछु।

14वेगसित दगुर्नेले उम्‍कन पाउनेछैन, र बलियाले आफ्‍नो बल प्रयोग गर्न सक्‍नेछैन, न त शक्तिशालीले आफ्‍नो प्राण बचाउन सक्‍नेछ।

15धनु चलाउने खड़ा हुनेछैन, र फूर्तिसित दगुर्नेले आफैलाई बचाउन सक्‍नेछैन, न त घोड़ामा सवार हुनेले आफ्‍नो प्राण बचाउन सक्‍छ।

16सबैभन्‍दा साहसी योद्धाहरू पनि त्‍यस दिन नाङ्गै भाग्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
>