1इस्राएलका कति जना धर्म-गुरुहरू मकहाँ आएर मेरो सामुन्ने बसे।
2तब परमप्रभुको यो वचन मकहाँ आयो:
3“हे मानिसको छोरो, यी मानिसहरूले मूर्तिहरूलाई आफ्ना हृदयमा राखेका छन्, र आफ्नो अधर्मका ठक्कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राखेका छन्। के तिनीहरूलाई मेरो विषयमा सोध्न मैले दिनुपर्छ र?
4यसकारण तिनीहरूसित कुरा गरेर तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: जब इस्राएलका घरानाको कुनै पनि मानिसले आफ्नो हृदयमा मूर्तिहरू राख्दछ, र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामुन्ने राख्तछ, र पनि अगमवक्ताकहाँ जान्छ, तब त्यसको मूर्तिपूजाअनुसार म परमप्रभु आफै त्यसलाई जवाफ दिनेछु।
5तिनीहरूका मूर्तिहरूको कारण मलाई त्याग्ने इस्राएलको घरानाका हृदयलाई म फेरि फसाउनलाई यसो गर्नेछु’।
6“यसकारण इस्राएलको घरानालाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: पश्चात्ताप गर! आफ्ना मूर्तिहरूदेखि फर्किआओ, र आफ्ना सबै घिनलाग्दा व्यवहारहरू परित्याग गर!
7“‘जब इस्राएलका घरानाको कोही पनि अथवा इस्राएलमा प्रवास गर्ने कुनै पनि प्रवासी मबाट अलग्गै गएर आफ्नो हृदयमा मूर्तिहरू राख्छ र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामुन्ने राख्तछ, र पनि मबाट जवाफ सोध्नलाई कुनै अगमवक्ताकहाँ जान्छ, तब म परमप्रभु आफै त्यसलाई जवाफ दिनेछु।
8म त्यस मानिसदेखि मुख फर्काउनेछु, र म त्यसलाई एउटा नमूना र गिल्लाको पात्र तुल्याउनेछु। त्यसलाई मेरो प्रजाको बीचदेखि बहिष्कार गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।
9“‘अनि यदि अगमवक्ताले केही अगमवाणी उच्चारण गर्नलाई फस्यो भनेदेखि, म परमप्रभुले त्यस अगमवक्तालाई फसाएको हुँ र म मेरो हात त्यसको विरुद्धमा पसार्नेछु, र मेरो प्रजा इस्राएलको बीचदेखि त्यसलाई नाश गर्नेछु।
10तिनीहरू दुवैले आ-आफ्नो अपराधको दोष भोग्नेछन्— अगमवक्ताको दोष र सल्लाह लिनेको दोष बराबर हुनेछन्।
11तब इस्राएलका मानिसहरू मदेखि फेरि कहिल्यै बरालिनेछैनन् र तिनीहरूले आफ्ना सबै पापहरूले फेरि कहिल्यै आफैलाई अपवित्र पार्नेछैनन्। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
12परमप्रभुको यो वचन मकहाँ आयो:
13हे मानिसको छोरो, यदि कुनै देशले विश्वासघात गरेर मेरो विरुद्धमा पाप गर्छ, र त्यसको विरुद्धमा आफ्नो हात पसारेर त्यसको खाद्य भण्डार म नाश गरिदिउँला, र त्यहाँ अनिकाल ल्याइदिउँला र मानिस र पशु दुवैलाई म नाश गरिदिउँला भने,
14अनि नोआ, दानिएल र अय्यूब, यी तीन जना मानिसहरू त्यहाँ भए भने पनि तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्नेथिए, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
15“अथवा यदि मैले त्यस देशमा जङ्गली जनावरहरू पठाइदिएँ, र तिनीहरूले त्यसलाई निर्वंश तुल्याइदिए र त्यो देश उजाड़ भयो, र ती पशुहरूले गर्दा कुनै पनि मानिस त्यताबाट जान सकेन भने,
16यदि यी तीन जना मानिस त्यहाँ भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्नेथिएनन्। तिनीहरू आफै मात्र बाँच्नेथिए, तर देशचाहिँ उजाड़ हुनेथियो।”
17“अथवा यदि मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ र ‘देशका चारैतिर तरवार चलोस्’ भनी भनें, र मैले त्यस देशका मानिसहरू र पशुहरूलाई नाश गरें भने,
18अनि यी तीन जना मानिस त्यहाँ भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्नेथिएनन्। तिनीहरू आफै मात्र बाँच्नेथिए।
19“अथवा यदि मैले देशमा रूढ़ी पठाएँ र रगत बगाई त्यसका मानिसहरू र पशुहरूलाई मारेर मैले मेरो क्रोध पोखाएँ भने,
20यदि नोआ, दानिएल र अय्यूब त्यहाँ भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्नेथिएनन्। तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्नेथिए।
21“किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले यरूशलेममा मेरा चार भयानक दण्डहरू— तरवार, अनिकाल, जङ्गली जनावरहरू र रूढ़ी त्यहाँका मानिसहरू र पशुहरूलाई मार्न पठाएँ भने, झन् कस्तो खराब हुन्छ होला!
22तापनि मानिसहरूमध्ये कोही बाँचेका हुनेछन्— छोराहरू र छोरीहरू त्यहाँबाट बाहिर निस्केर आउनेछन्। अनि तिनीहरू तिमीहरूकहाँ आउनेछन्, र जब तिमीहरूले तिनीहरूका चालचलन र क्रियाकलाप देख्छौ, तब मैले यरूशलेममाथि ल्याएका ती सर्वनाशको विषयमा तिमीहरूले सान्त्वना पाउनेछौ— त्यसमाथि मैले ल्याएको प्रत्येक सर्वनाश।
23तिनीहरूका चाल र क्रियाकलाप देखेर तिमीहरूले सान्त्वना पाउनेछौ, किनकि मैले त्यहाँ जे-जे गरें, ती मैले कारणविना गरिनँ भनी तिमीहरूले जान्नेछौ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”