इजकिएल 2:1-10 NNRV2012 - Bible AI

1उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, खड़ा हो, र म तँसित कुरा गर्नेछु।”

2जब उहाँ मसित बोल्‍नुभयो, तब उहाँका आत्‍मा मकहाँ आएर मलाई उभ्‍याउनुभयो। अनि उहाँले मसित कुरा गर्नुभएको मैले सुनें।

3उहाँले भन्‍नुभयो, “हे मानिसको छोरो, म तँलाई इस्राएली जातिकहाँ पठाउँदैछु, एउटा बागी जातिकहाँ, जो मेरो विरुद्धमा बागी भएको छ। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरू पनि आजको दिनसम्‍मै मेरो विरुद्धमा बागी भएका छन्‌।

4ती मानिसहरू, जसकहाँ म तँलाई पठाउँदैछु, तिनीहरू निर्लज्‍ज र अटेरी भएका छन्‌। तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ’।

5अनि तिनीहरूले सुनून्‌ अथवा सुन्‍नलाई अस्‍वीकार गरून्‌— किनकि तिनीहरू बागी घरानाका हुन्‌— तिनीहरूले आफ्‍ना बीचमा एक जना अगमवक्ता त रहेछन्‌ भन्‍ने कुरा जान्‍नेछन्‌।

6अनि तँचाहिँ हे मानिसको छोरो, तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा चारैतिर सिउँड़ी र काँढ़ा भए, अथवा तँ बिच्‍छीहरूका बीचमा बसे तापनि तँ नडरा। तिनीहरूले जे भने पनि नडरा, अथवा तिनीहरूदेखि भयभीत नहो, यद्यपि तिनीहरू त बागी सन्‍तान हुन्‌।

7तैंले तिनीहरूसित मेरो वचन बोल्, चाहे तिनीहरूले सुनून्‌ चाहे नसुनून्‌ किनभने तिनीहरू बागी हुन्‌।

8तर तैंलेचाहिँ, हे मानिसको छोरो, म तँलाई जे भन्‍छु, त्‍यो कुरा ध्‍यानसित सुन्‌। त्‍यो बागी घरानाझैँ तँ बागी नहो। तेरो मुख खोल्, र म जे दिन्‍छु, त्‍यो खा।”

9तब मैले हेरें, र एउटा हात मतिर पसारेको मैले देखें। त्‍यसमा एउटा मुट्ठो थियो,

10जो उहाँले मेरै सामु खोलेर फिँजाइदिनुभयो। त्‍यसका अगाड़ि र पछाड़ि दुवैतिर शोक र विलाप र विपत्तिका कुरा लेखिएका थिए।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>