1अनि उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, तेरो सामुन्ने भएको कुरा खा, यो मुट्ठो खा। तब गएर इस्राएलको घरानालाई भन्।”
2यसैले मैले मेरो मुख खोलें, र उहाँले यो मुट्ठो मलाई खानलाई दिनुभयो।
3त्यसपछि उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, मैले तँलाई दिएको यो मुट्ठो खा र यसले तेरो पेट भर।” यसैले मैले यो खाएँ, र यो मेरो मुखमा महझैँ गुलियो भयो।
4तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन्।
5तँ कुनै अनौठो बोली र कठिन भाषा बोल्ने मानिसहरूकहाँ पठाइएको छैनस्, तर इस्राएलको घरानाकहाँ—
6अनौठो बोली र कठिन भाषा बोल्ने मानिसहरूकहाँ होइन, जसको भाषा तैंले बुझ्दैनस्। यदि मैले तँलाई त्यस्ताहरूकहाँ पठाएको भए, उनीहरूले निश्चय नै तेरा कुरा सुन्नेथिए।
7तर इस्राएलका घरानाले त तेरो कुरा सुन्न चाहँदैनन्, किनभने मेरो कुरा सुन्न तिनीहरू इच्छा गर्दैनन्, किनकि इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन्।
8तर म तिनीहरूजस्तै तँलाई जिद्दीवाल र हठी तुल्याउनेछु।
9म तेरो निधार चकमकभन्दा कड़ा पत्थरतुल्य पारिदिनेछु। तिनीहरू बागी घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो।”
10अनि उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, मैले तँलाई भनेका सबै कुरा होशियारसित सुन् र मनमा राख्।
11ती तेरा निर्वासित मानिसहरूकहाँ अब जा, र चाहे तिनीहरूले ध्यानसित सुनून् चाहे नसुनून्, तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ’।”
12तब आत्माले मलाई माथि उठाउनुभयो, र मैले मेरो पछिल्तिर एउटा गुड़गुड़ गरेको आवाज सुनें— परमप्रभुको महिमा आफ्नो वासस्थानमा प्रशंसा होस्—
13त्यो आवाज ती जीवित जीवातहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्केको र तिनीहरूका छेउका ती पाङ्ग्राहरूको आवाज थियो, एउटा भुइँचालोको गुड़गुड़ आवाज।
14तब आत्माले मलाई उठाएर लानुभयो, र तीतो मन भएर आफ्नो आत्माको क्रोधमा म गएँ, र परमप्रभुको बलिष्ठ बाहुली ममाथि थियो।
15तब म कबार नदीको नजिक बस्ने ती देशनिकालाहरूकहाँ तेल-अबीबमा आएँ। अनि सात दिनसम्म तिनीहरू बसेको ठाउँमा म अवाक् भएर बसिरहें।
16सात दिनको अन्त्यमा परमप्रभुको वचन मकहाँ आयो:
17“हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्याएको छु। यसैले मैले भनेको कुरा सुन् अनि तिनीहरूलाई मबाट चेताउनी तैंले दे।
18जब म एक जना दुष्ट मानिसलाई ‘तँ निश्चय नै मर्नेछस्’ भनी भन्छु, तर त्यसको प्राण बचाउनलाई तैंले त्यसलाई चेताउनी दिइनस्, वा त्यसको दुष्ट चालको लागि त्यसको विरुद्ध सल्लाह दिइनस् भनेदेखि, त्यो मानिस पापको कारण मर्नेछ, र त्यसको रगतको लेखा म तँबाटै लिनेछु।
19तर यदि तैंले त्यस दुष्ट मानिसलाई चेताउनी दिइस् र त्यो आफ्नो दुष्ट्याइँ अथवा आफ्नो खराब चालदेखि फर्कंदैन भने, त्यो आफ्नो अधर्ममा नै मर्नेछ, तर तैंले चाहिँ आफ्नो प्राण बचाएको हुनेछस्।
20“फेरि जब कुनै एक जना धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर दुष्ट्याइँ गर्छ, त्यसको लागि ठक्कर खाने ढुङ्गो मैले राखें भने त्यो मर्नेछ। तैंले त्यसलाई चेताउनी नदिएकोले त्यो आफ्नै पापको कारण मर्नेछ। त्यसले गरेका धर्म कार्यहरूको केही सम्झना हुनेछैन। त्यसका रगतको लेखा म तँबाट लिनेछु।
21तर यदि त्यस धर्मी मानिसलाई पाप नगर् भनी तैंले चेताउनी दिइस् र त्यसले पाप गरेन भने, त्यो निश्चय नै बाँच्नेछ, किनभने त्यसले चेताउनी ग्रहण गर्यो, र तैंले आफ्नो प्राण बचाएको हुनेछस्।”
22परमप्रभुको हात त्यहाँ ममाथि थियो र उहाँले मलाई भन्नुभयो, “उठ्, मैदानमा जा, र त्यहाँ म तँसित कुरा गर्नेछु।”
23यसैले म उठेर मैदानमा गएँ, र कबार नदीको किनारमा मैले देखेको जस्तो परमप्रभुको महिमा त्यहाँ पनि खड़ा थियो, र म भूइँमा घोप्टो परें।
24तब आत्मा ममा आउनुभयो, र मलाई खुट्टामा उभ्याउनुभयो। उहाँले मसित कुरा गर्नुभयो, र भन्नुभयो, “जा, आफ्नो घरभित्र ढोका थुनेर बस्।
25अनि हे मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्, ताकि तँ मानिसहरूका बीचमा जान नपाएस्।
26म तेरो जिब्रो तेरो तालुमा टँसाइराख्नेछु, र तँ गूँगो हुनेछस्, अनि तिनीहरूलाई हप्काउन सक्नेछैनस्, यद्यपि तिनीहरू बागी घरानाका हुन्।
27तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, र तैंले तिनीहरूलाई भन्नेछस्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ’। सुन्न चाहनेले ध्यानसित सुनोस्, इन्कार गर्नेले इन्कार गरोस्। किनकि तिनीहरू बागी घरानाका हुन्।”