इजकिएल 32:1-32 NNRV2012 - Bible AI

1बाह्रौँ वर्षको बाह्रौँ महिनाको पहिलो दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:

2“हे मानिसको छोरो, मिश्रदेशको राजा फारोको विषयमा विलाप गर्, र त्‍यसलाई भन्‌:

2“‘जाति-जातिहरूका बीचमा तँ एक सिंहजस्‍तै छस्‌। समुद्रहरूभित्र तँ एक अजिङ्गरजस्‍तै छस्‌। तेरो हलचलले खोलाहरू यताउता छर्कंदै, र खुट्टाले पानी मन्‍थन गर्दै, र खोलाहरूलाई हिलै-हिलो पार्दैजाने तँ होस्‌।

3“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “‘मानिसहरूको एउटा ठूलो भीड़सँग, म मेरो जाल तँमाथि नै हान्‍नेछु, र तिनीहरूले मेरो जालमा तँलाई तानेर पाखामा ल्‍याउनेछन्‌।

4म तँलाई जमिनमा मिल्‍काइदिनेछु, म तँलाई पाखामा हुत्त्याइदिनेछु। आकाशमा सबै पक्षीहरूलाई म तँमाथि बस्‍न दिनेछु, र पृथ्‍वीका जम्‍मै पशुहरूलाई तेरो मासु लुछ्‌न दिनेछु।

5तेरो मासु म पर्वतहरूमा छरिदिनेछु, र तेरो मृत शरीरले म बेँसी भरिदिनेछु।

6तँबाट बगेको रगतले म पहाड़हरूसम्‍म जमिन भिजाइदिनेछु, र खोँचहरू तेरो मासुले भरिनेछन्‌।

7मैले तेरो नामनिशाना मेट्‌दा म आकाश ढाकिदिनेछु, र त्‍यसका ताराहरूलाई अँध्‍यारो पारिदिनेछु। म सूर्यलाई बादलले ढाक्‍नेछु, र चन्‍द्रमाले प्रकाश दिनेछैन।

8आकाशका सबै चम्‍कने ज्‍योतिहरूलाई म तँमाथि अँध्‍यारो पारिदिनेछु, र तेरो देशमा म अन्‍धकार ल्‍याउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

9जब म तँलाई जाति-जातिहरूका बीचमा तैंले नजानेका देशहरूमा तेरो सर्वनाश ल्‍याउनेछु, तब म धेरै मानिसहरूका हृदयलाई व्‍याकुल तुल्‍याउनेछु।

10म धेरै मानिसहरूलाई तँसित तर्सने तुल्‍याउनेछु। तिनीहरूका राजाहरूका अगि मैले मेरो तरवार चलाउँदा, ती राजाहरू थरथर काम्‍नेछन्‌। तेरो पतनको दिनमा तिनीहरू हरेक आ-आफ्‍नो जीवनको खातिर प्रत्‍येक क्षण काम्‍दै बस्‍नेछ।

11“‘किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘बेबिलोनका राजाको तरवार तेरो विरुद्धमा आउनेछ।

12म तेरा सबै सैन्‍य-दलहरूलाई शक्तिशाली मानिसहरूका तरवारद्वारा ढालिदिनेछु— तिनीहरू सारा जातिहरूमा सबैभन्‍दा क्रूर छन्‌। तिनीहरूले मिश्रदेशको घमण्‍डलाई चूर पार्नेछन्, र त्‍यसका सबै सैन्‍य-दलहरू परास्‍त पारिनेछन्‌।

13प्रशस्‍त पानीहरूका छेउबाट त्‍यसका सबै गाईबस्‍तुहरूलाई म सर्वनाश गर्नेछु। त्‍यसपछि त्‍यो पानी न त मानिसको खुट्टाले हल्‍लाइनेछ न पशुको खुरले हिल्‍याइनेछ।

14तब म त्‍यसको पानी शान्‍त पारिदिनेछु, र त्‍यसका खोलाहरू तेलझैँ सलसल बग्‍न लाउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

15जब म मिश्रदेशलाई उजाड़ पारिदिनेछु, र त्‍यस देशमा भएको हरेक थोकलाई खोसिलैजानेछु, जब त्‍यसमा बस्‍ने सबैलाई प्रहार गरेर मार्नेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।’

16“तिनीहरूले त्‍यसको लागि गाउने विलापको गीत यो हो। जाति-जातिका छोरीहरूले यो गाउनेछन्‌। मिश्रदेश र त्‍यसका सारा सैन्‍य-दलहरूका निम्‍ति तिनीहरूले यो गीत गाउनेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

17बाह्रौँ वर्षमा महिनाको पन्‍ध्रौँ दिनमा परमप्रभुको यो वचन मकहाँ आयो:

18“हे मानिसको छोरो, मिश्रदेशका सैन्‍य-दलहरूका निम्‍ति रो, र त्‍यसलाई र शक्तिशाली जातिहरूका छोरीहरूलाई, मृत-लोकमा जानेहरूसित पृथ्‍वीको तलतिर जानलाई नियुक्त गरिदे।

19तिनीहरूलाई भन्, ‘के तँ अरूभन्‍दा बढ़ी निगाहको पात्र छस्‌ र? तल जा, र खतना नभएकाहरूका साथमा पड़िरह।

20तरवारले मारिएकाहरूसँगै तिनीहरू लोट्‌नेछन्‌। तरवार थुतिएको छ। त्‍यसका सारा सैन्‍य-दलहरूसँगै त्‍यो घिस्‍स्‍याएर लगिओस्‌।

21चिहानभित्रबाट शक्तिशाली नेताहरूले मिश्रदेश र त्‍यसका मित्रराष्‍ट्रहरूका विषयमा भन्‍नेछन्, ‘तिनीहरू तल आएका छन्, र तरवारले मारिएकाहरूसित र खतना नभएकाहरूसित तिनीहरू पड़िरहेका छन्‌।’

22अश्‍शूर देश, त्‍यसका सबै सेनासमेत त्‍यहाँ छ, त्‍यसका मारिएकाहरू, तरवारले लोटेकाहरूका चिहानहरूले त्‍यसलाई चारैतिर घेरिराखेका छन्‌।

23तिनीहरूका चिहानहरू मृत-लोकको गहिराइभित्र छन्‌। त्‍यसको सेना त्‍यसकै चिहानका चारैतिर छ। जीवितहरूको देशमा त्रास फैलाउनेहरू सबै मारिएका छन्, तरवारद्वारा तिनीहरू ढालिएका छन्‌।

24“एलाम त्‍यहाँ छ, र त्‍यसको चिहानका चारैतिर त्‍यसका सैन्‍य-दलहरू छन्‌! यी सबै तरवारले काटिएर मारिएकाहरू हुन्‌। जीवितहरूको देशमा त्रास फैलाउने सबै पृथ्‍वीको तलतिर खतना नभईकन गए। मृत-लोकमा जानेहरूसँगै तिनीहरूले बेइज्‍जत भोग्‍दछन्‌।

25त्‍यसको चिहानका चारैतिर त्‍यसका सैन्‍य-दलहरूसँगसँगै मारिएकाहरूका बीचमा त्‍यसको निम्‍ति एउटा विश्राम-स्‍थान बनाइएको छ। ती सबै तरवारले मारिएका बेखतनावालहरू हुन्‌। जीवितहरूको देशमा तिनीहरूले त्रास फैलाएका हुनाले तल मृत-लोकमा जानेहरूसँगै तिनीहरूले बेइज्‍जत भोग्‍दछन्‌। तिनीहरू मारिएकाहरूसँगै गाड़िएका छन्‌।

26मेशेक र तूबल पनि त्‍यहाँ छन्, र तिनीहरूका चिहानका चारैतिर तिनीहरूका सबै सैन्‍य-दलहरू छन्‌। तिनीहरू सबै बेखतनावालहरू हुन्, र तिनीहरूले जीवितहरूको देशमा त्रास फैलाएका हुनाले तिनीहरू सबै तरवारले मारिएका थिए।

27के तिनीहरू ती अरू बेखतना भएका योद्धाहरूसित पड़िरहँदैनन्, जुन योद्धाहरू लोटेका छन्, र आ-आफ्‍ना लड़ाइँका हतियारका साथ चिहानमा गएका छन्, र जसका तरवारहरू आ-आफ्‍नो टाउको मुनि राखिएका छन्‌? ती योद्धाहरूले जीवितहरूको देशमा त्रास फैलाए तापनि तिनीहरूका पापको दण्‍ड तिनीहरूकै हड्डीमा परेको छ।

28“तँ पनि हे फारो, बेखतनावालहरूसित, तरवारले मारिएकाहरूसितै तँ ध्‍वंस भएर लोट्‌नेछस्‌ र पड़िरहनेछस्‌।

29“एदोम आफ्‍ना राजाहरू र सबै राजकुमारहरूसँग त्‍यहाँ छ। तिनीहरूको आफ्‍नो शक्ति भए तापनि तरवारले मारिएकाहरूसितै तिनीहरू पड़िरहेका छन्‌। तिनीहरू तल मृत-लोकमा जानेहरूसँग, बेखतनावालहरूसँगै पड़िरहेका छन्‌।

30“उत्तरका सबै राजकुमारहरू र सबै सीदोनीहरू त्‍यहाँ छन्‌। तिनीहरूले आफ्‍नो शक्तिले त्रास मच्‍चाए तापनि तिनीहरू मारिएकाहरूसितै बेइज्‍जती भई तलतिर गए। तिनीहरू खतना नभईकन तरवारले मारिएकाहरूसितै पड़िरहेका छन्, र मृत-लोकमा जानेहरूसितै तिनीहरूले बेइज्‍जत भोग्‍छन्‌।

31“फारो, त्‍यो र त्‍यसका सेनाले तिनीहरूलाई देखेर तरवारले मारिएका आफ्‍ना सबै सैन्‍य-दलहरूका लागि सान्‍त्‍वना पाउनेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

32जीवितहरूको देशमा त्रास फैलाउन मैले त्‍यसलाई लगाएँ, तापनि फारो र आफ्‍ना सबै सैन्‍य-दलहरू बेखतनावालहरूका बीचमा, तरवारले मारिएकाहरूसँगसँगै पड़िरहनेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>