इजकिएल 35:1-15 NNRV2012 - Bible AI

1परमप्रभुको यो वचन मकहाँ आयो:

2“हे मानिसको छोरा, सेइर पर्वततिर तेरो मुख फर्का, र त्‍यसको विरुद्धमा अगमवाणी कहेर भन्‌:

3“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे सेइर पर्वत, म तेरो विरुद्धमा छु। म मेरो हात तँमाथि उठाउनेछु र तँलाई निर्जन र उजाड़ तुल्‍याइदिनेछु।

4म तेरा सहरहरूलाई भग्‍नावशेष पारिदिनेछु, र तँ उजाड़ हुनेछस्‌। तब तैंले म नै परमप्रभु हुँ भनी जान्‍नेछस्‌।

5“‘तैंले प्राचीनकालको वैरभावलाई मनमा राखिस्, र इस्राएलीहरूलाई तिनीहरूका विपत्तिको समयमा, अर्थात्‌ तिनीहरूको आखिरी दण्‍डको समयमा तिनीहरूलाई तरवारले काटिनलाई तैंले सुम्‍पिदिइस्‌।

6यसैकारण परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जस्‍तो म जीवित छु, म तँलाई रक्तपातले सुम्‍पिदिनेछु, र त्‍यसले तेरो खेदो गर्नेछ। तैंले रक्तपात घृणा नगरेको कारण, रक्तपातले नै तेरो खेदो गर्नेछ।

7सेइर पर्वतलाई म निर्जन र उजाड़ पार्नेछु, र आवतजावत गर्ने सबैलाई त्‍यसतिर जानदेखि म रोक्‍नेछु।

8म तेरा पहाड़हरू मारिएकाहरूले भर्नेछु। तरवारले मारिएकाहरू तेरा डाँड़ाहरू र तेरा बेँसीहरू र खोल्‍साहरूमा खस्‍नेछन्‌।

9म तँलाई सधैँको निम्‍ति उजाड़ तुल्‍याउनेछु। तेरा सहरहरूमा कोही बासिन्‍दा हुनेछैनन्‌। तब तैंले म नै परमप्रभु हुँ भनी जान्‍नेछस्‌।

10“‘म परमप्रभु त्‍यहाँ भए तापनि तैंले यसो भनेको छस्, “ती दुई जाति र देशहरू हाम्रा हुनेछन्, र हामी तिनीहरूलाई अधिकार गर्नेछौं।”

11यसैकारण, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘जस्‍तो म जीवित छु, क्रोध र डाहा देखाई तैंले तिनीहरूलाई घृणा गरेर जे गरेको थिइस्, म पनि तँलाई त्‍यसै नै गर्नेछु। मैले तेरो न्‍याय गर्दा म आफूलाई तिनीहरूकहाँ प्रकट गर्नेछु। तब तैंले जान्‍नेछस्,

12कि म परमप्रभुले इस्राएलका पहाड़हरूका विरुद्धमा तैंले भनेका सबै निन्‍दाजनक कुरा सुनेको छु। तैंले भनिस्‌ “इस्राएलका पहाड़हरू उजाड़ भएका छन्, र ती खानलाई हामीलाई दिइएका छन्‌।”

13तैंले मेरो विरुद्धमा घमण्‍ड गरिस्, र मेरो विरुद्धमा तैंले बोलिस्‌ र मैले त्‍यो सुनें।

14परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: सारा पृथ्‍वीले रमाहट गर्दैगर्दा, म तँलाई चाहिँ उजाड़ बनाउनेछु।

15इस्राएलका घरानाको उत्तराधिकार उजाड़ हुँदा तैंले रमाहट गरिस्‌। यसैकारण म पनि तँसित त्‍यस्‍तै व्‍यवहार गर्नेछु। हे सेइर पर्वत, तँ, सारा एदोमसमेत उजाड़ हुनेछस्‌। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌’।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>