1परमप्रभुको हात ममाथि पर्यो, अनि उहाँले मलाई परमप्रभुका आत्माद्वारा ल्याउनुभई हाड़ै-हाड़ भएको बेँसीमा राख्नुभयो।
2उहाँले मलाई ती हाड़हरू भरिएको बीचमा तल-माथि लानुभयो, र मैले त्यस बेँसीको जमिनमा थुप्रै हाड़हरू देखें। ती हाड़हरू असाध्य सुकेका थिए।
3उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरो, के यी हाड़हरू फेरि जीवित हुन सक्छन्?”
4तब उहाँले मलाई भन्नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’
5यी हाड़हरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ।
6म तिमीहरूमा नसाहरू टाँसिदिनेछु, र तिमीहरूमा मासु बढ़ाइदिन्छु, र छालाले म ढाकिदिनेछु, र तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ’।”
7यसैले उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरें। जब मैले अगमवाणी गर्दैथिए, तब त्यहाँ कर्याककुरुक आवाज भयो, र ती हाड़हरू एक-अर्कोसित जोड़िन लागे।
8अनि मैले हेर्दाहेर्दै तिनमा नसा र मासु भरिए र ती छालाले ढाकिए, तर तिनमा सासचाहिँ थिएन।
9तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, सासलाई अगमवाणी गर्। अगमवाणी गर्, र त्यसलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएकाहरूमाथि फुकिदे, र ती जीवित भएर उठून्’।”
10तब उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गर्न लागें, र सास तिनमा पस्यो। तिनीहरू जीवित भएर आ-आफ्ना खुट्टामा उभिए, र त्यहाँ एक अत्यन्तै ठूलो सेना भयो।
11तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, यी हाड़हरू जम्मै इस्राएलको घराना हो। तिनीहरू भन्छन्, ‘हाम्रा हाड़हरू सुकिसके, र आशा नै हरायो। हामी त्यागियौ’।
12यसकारण अगमवाणी कहेर तिनीहरूलाई भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे मेरा प्रजा, म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकाल्नेछु। म तिमीहरूलाई इस्राएलका देशमा फेरि ल्याउनेछु।
13तब हे मेरा प्रजा, जब म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ।
14म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरू बाँच्नेछौ। म तिमीहरूलाई तिमीहरूको आफ्नै देशमा बसाल्नेछु। तब तिमीहरूले यो जान्नेछौ, कि म परमप्रभुले नै यो भनेको हुँ, र मैले नै यो गरेको हुँ, परमप्रभु भन्नुहुन्छ’।”
15परमप्रभुको यो वचन मकहाँ आयो:
16“हे मानिसको छोरो, काठको एउटा लट्ठी लिएर त्यसमा यो लेख्, ‘यहूदा र त्यसका इस्राएली सहयोगीहरू’। त्यसपछि अर्को एउटा लट्ठी लिएर त्यसमा यो लेख्, एफ्राइमको लट्ठी, जो योसेफ र त्यसका सबै इस्राएली सहयोगीहरूको हो’।
17तब ती दुवैलाई एउटै बनाएर जोड़िदे। ती तेरो हातमा एउटै लट्ठी हुनेछ।
18“जब तेरा देशवासीहरूले त्यसको अर्थ के हो भनी सोध्छन्,
19तब तैंले तिनीहरूलाई भन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म योसेफ र त्यसका इस्राएली सहयोगीहरूको लट्ठी लिनेछु, जो एफ्राइमको हातमा छ, र त्यो लिएर त्यसमा यहूदाको लट्ठी जोड़िदिनेछु। यसरी म तिनीहरूलाई एउटै लट्ठी तुल्याइदिनेछु, र ती मेरो हातमा एउटै हुनेछन्।’
20तिनीहरूकै आँखाको सामु तैंले लेखेका ती लौरा समातिराख्,
21र तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म इस्राएलीहरूलाई तिनीहरू गएका जातिहरूबाट निकाल्नेछु। म तिनीहरूलाई चारैतिरबाट भेला गराउनेछु, र तिनीहरूलाई आफ्नै देशमा ल्याउनेछु।
22म तिनीहरूलाई आफ्नै देशमा, इस्राएलका पहाड़हरूमा एउटै जाति बनाउनेछु। तिनीहरू सबैमाथि एउटै राजा हुनेछ, र तिनीहरू फेरि कहिल्यै दुई अलग-अलग जाति अथवा दुई अलग-अलग राज्यमा विभक्त हुनेछैनन्।
23तिनीहरू फेरि कहिल्यै तिनीहरूका मूर्तिहरू वा प्रतिमाहरू अथवा अरू कुनै अपराधहरूबाट आफैलाई अशुद्ध पार्नेछैनन्, किनकि म तिनीहरूका पापी चालहरूबाट तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई शुद्ध पार्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।
24“‘मेरो दास दाऊद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरूको एउटै गोठालो हुनेछ। तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा विधिहरू पालन गर्नलाई वास्ता गर्नेछन्।
25मैले मेरो दास याकूबलाई दिएको देशमा तिनीहरू बस्नेछन्, र जहाँ तिनीहरूका पिता-पुर्खाहरू बसेका थिए। तिनीहरू र तिनीहरूका सन्तान-दरसन्तानहरू सदासर्वदा त्यहाँ बस्नेछन्, र मेरो दास दाऊद सदासर्वदाको निम्ति तिनीहरूको राजकुमार हुनेछ।
26म तिनीहरूसित शान्तिको करार बाँध्नेछु, र त्यो सदासर्वदाको निम्ति हुनेछ। म तिनीहरूलाई स्थापित गर्नेछु, र म तिनीहरूको संख्या बढ़ाउनेछु, तिनीहरूका बीचमा सदासर्वदाको निम्ति म र मेरो पवित्रस्थान राख्नेछु।
27मेरो वासस्थान तिनीहरूसँगै हुनेछ। म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्।
28तब जाति-जातिहरूले यो जान्नेछन्, कि म परमप्रभुले नै इस्राएललाई पवित्र बनाउँछु, जब मेरो वासस्थान तिनीहरूका बीचमा सदासर्वदा रहिरहन्छ’।”