1“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: भित्री चोकको पूर्वपट्टिको मूल ढोका हप्ताको छ दिनसम्मै थुनिराख्नुपर्छ। केवल शबाथ र औंसीको दिन त्यो खुला रहोस्।
2राजकुमार बाहिरबाट ढोकाको दलान भएर आउनुपर्छ, र ढोकाका खामाको छेउमा तिनी उभिरहनुपर्छ। पूजाहारीहरूले राजकुमारको होमबलि र मेलबलि चढ़ाऊन्। तब तिनले ढोकाको सँघारमा दण्डवत् गरेर बाहिर जानुपर्छ, तर ढोकाचाहिँ बेलुकीसम्मै नथुनिओस्।
3शबाथ र औंसीमा देशका मानिसहरूले त्यही ढोकाको प्रवेशद्वारमा परमप्रभुको सामुन्ने दण्डवत् गर्नुपर्छ।
4शबाथ-दिनमा राजकुमारले परमप्रभुको निम्ति चढ़ाउनुपर्ने होमबलि यस्तो हुनुपर्छ: छ वटा निष्खोट थुमा र एउटा निष्खोट भेड़ा।
5भेड़ासित चढ़ाइने अन्नबलि एक एपा होस्, र थुमाहरूसित चढ़ाइने अन्नबलि जति इच्छा लाग्छ त्यत्ति नै। त्यसबाहेक हरेक एपाको साथ एक हीन तेल चढ़ाइओस्।
6औंसीमा तिनले एउटा बाछो, छ वटा थुमा र एउटा भेड़ा चढ़ाउनुपर्छ। ती जम्मै निष्खोट हुनुपर्छ।
7बाछो र भेड़ासित अन्नबलि एक एपा र थुमाहरूसित चढ़ाइने अन्नबलि जति इच्छा लाग्छ त्यति नै, साथै हरेक एपासित एक हीन तेल तिनले थपेर चढ़ाऊन्।
8जब राजकुमार भित्र आउँछन्, तब तिनी मूल ढोकाको दलान भएर भित्र पसून्, र त्यही बाटो भएर बाहिर निस्कून्।
9“‘तोकिएका चाड़हरूका दिनमा जब मानिसहरू परमप्रभुको सामुन्ने आउँछन्, तब उत्तरको मूल ढोकाबाट दण्डवत् गर्नलाई भित्र पस्ने मानिस दक्षिणको मूल ढोकाबाट बाहिर निस्कोस्। दक्षिणको मूल ढोकाबाट भित्र पस्ने मानिसचाहिँ उत्तरको मूल ढोकाबाट बाहिर निस्कोस्। भित्र आएको ढोकातिर फर्केर कोही पनि त्यसैबाट बाहिर नजाओस्, तर सीधै विपरीत ढोकाबाट त्यो जाओस्।
10राजकुमार पनि तिनीहरू भित्र जाँदा र बाहिर आउँदा तिनीहरूसँगै आउने-जाने गरून्।
11“‘चाड़हरू र चाड़का तोकिएका दिनहरूमा अन्नबलिचाहिँ एक एपा एउटा बाछासित, एक एपा एउटा भेड़ासित, र थुमासित जति इच्छा लाग्छ त्यति नै, साथै हरेक एपासित एक हीन तेल चढ़ाइऊन्।
12जब राजकुमारले परमप्रभुमा आफ्नै राजीखुशीको होमबलि वा मेलबलि चढ़ाउँछन्, तब तिनको निम्ति पूर्वपट्टि फर्केको मूल ढोका खोलिदिनुपर्छ। तिनले आफ्नो होमबलि र मेलबलि शबाथ-दिनमा चढ़ाएझैँ चढ़ाउनुपर्छ। तिनी बाहिर निस्केपछि ढोका झट्टै थुन्नुपर्छ।
13“‘तिमीहरूले परमप्रभुको निम्ति एक वर्षे निष्खोट थुमा दिनहुँ होमबलि गरी चढ़ाओ। तिमीहरूले त्यो बिहान-बिहान जुटाउनुपर्छ।
14त्यससँग बिहानैपिच्छे अन्नबलि एपाको छैटौँ भाग र पीठो भिजाउनलाई हीनको एक तिहाइ भाग तेल जुटाउनुपर्छ। परमप्रभुमा यो अन्नबलि चढ़ाउनु एउटा अनन्तको विधि हो।
15यसरी बिहानैपिच्छे नियमित होमबलि गरी थुमा, अन्नबलि र तेल चढ़ाइनुपर्छ।
16“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: यदि राजकुमारले आफ्नो कुनै एक जना छोरालाई आफ्नो उत्तराधिकारबाट दान दिन्छन् भने, त्यो दान तिनको छोराका सन्तानको पनि होस्। त्यो त्यसका उत्तराधिकारको एउटा भाग हुनेछ।
17तर यदि तिनले यस्तो दान आफ्ना दासहरूमध्येको कुनै एक जनालाई दिन्छन् भने, दासत्वबाट मुक्त हुने वर्षसम्म मात्रै त्यो त्यसको होस्। त्यसपछि त्यो फेरि राजकुमारकै हुनेछ। तिनको उत्तराधिकार आफ्ना छोराहरूको मात्रै हुन्छ, र त्यो तिनीहरूकै हुनेछ।
18राजकुमारले मानिसहरूलाई आफ्ना जग्गाजमिनबाट निकालेर तिनीहरूका उत्तराधिकार खोस्नुहुँदैन। तिनले आफ्नै जग्गाजमिनबाट केही भाग आफ्ना छोराहरूलाई उत्तराधिकारको रूपमा दिनुपर्छ, ताकि मेरा प्रजामध्ये कोही पनि आफ्नो जग्गाजमिनबाट नछुट्टिओस्’।”
19तब ती मानिसले मलाई मूल ढोकाको छेउमा भएको प्रवेशद्वारबाट भएर उत्तरतिर फर्केका पवित्र कोठाहरूमा ल्याए, जुन कोठा पूजाहारीहरूका निम्ति अलग राखिएका थिए, र पश्चिमको कुनामा एउटा ठाउँ मलाई देखाए।
20तिनले मलाई भने, “यो त्यही ठाउँ हो, जहाँ पूजाहारीहरूले दोषबलि र पापबलिका मासु पकाउने गर्नेछन् र अन्नबलि पोल्ने गर्नेछन्, कि तिनीहरूले ती बलिहरू बाहिरी चोकमा नलगून् र मानिसहरूलाई पवित्र नगरून्।”
21त्यसपछि तिनले मलाई बाहिरी चोकमा र चोकका चारै कुनातिर ल्याए, र मैले हरेक कुनामा एउटा अर्को चोक देखें।
22बाहिरी चोकका चारै कुनामा यी चारै चोक पर्खालले घेरिएका र एकै नापका थिए। यी चोकहरू चालीस हात लामो र तीस हात चौड़ा थिए।
23चारै चोकका चारैपट्टि ढुङ्गाका लहर थिए। ती लहरहरूमुनि चारैतिर चुलाहरू बनाइएका थिए।
24तिनले मलाई भने, “यी ती नै भान्साघरहरू हुन्, जहाँ मन्दिरमा सेवा गर्नेहरूले मानिसहरूका बलिदानहरू पकाउनेछन्।”