1परमप्रभुको यो वचन मकहाँ आयो:
2“हे मानिसको छोरो, इस्राएलको देशलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: अन्त्य! देशका चारै दिशामा अन्त्य आइपुगेको छ।
3अब अन्त्य तँमाथि आएको छ, र म मेरो रीस तँमाथि खन्याउनेछु। तेरो चालचलनअनुसार म न्याय गर्नेछु, र तेरा सबै घिनलाग्दा कामहरूका निम्ति म तँसँग साटो फेर्नेछु।
4म तँलाई दयाको दृष्टिले हेर्नेछैनँ, तँलाई म टिठ्याउनेछैनँ। तेरो माझमा भएका घृणित व्यवहार र घिनलाग्दा कामहरूका निम्ति म तँलाई दण्ड दिनेछु। तब तैंले म नै परमप्रभु हुँ भनी जान्नेछस्।
5“परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: विपत्तिमाथि विपत्ति! सर्वनाश तँमाथि आउँदैछ!
6अन्त्य आएको छ! अन्त्य आएको छ! त्यो तिमीहरूका विरुद्धमा उठेको छ। त्यो आएको छ!
7देशमा बस्ने तिमीहरूमाथि सत्यनाश आएको छ। बेला आइपुगेको छ, दिन नजिकै छ। पर्वतहरूमा खैलाबैला भएको छ, आनन्द त होइन।
8अब म मेरो क्रोध तँमाथि पोखाउनेछु, र मेरो रीस तँमाथि खन्याउनेछु। तेरो चालचलनअनुसार म न्याय गर्नेछु, र तेरा सबै घिनलाग्दा कामहरूका निम्ति म तँसँग साटो फेर्नेछु।
9म तँलाई दयाको दृष्टिले हेर्नेछैनँ, तँलाई म टिठ्याउनेछैनँ। तेरो माझमा भएका घृणित व्यवहार र घिनलाग्दा कामहरूका निम्ति म तँलाई दण्ड दिनेछु। तब प्रहार गर्नेचाहिँ म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस्।
10“त्यो दिन यहीँ छ! त्यो आएको छ। तेरो सर्वनाश निस्केर आएको छ, लट्ठीको कोपिला लागेको छ, अहङ्कारको फूल फुलेको छ!
11उपद्रव बढ़ेर दुष्टतालाई दण्ड दिने लट्ठीतुल्य भएको छ। तिनीहरूमध्येको कुनै पनि मानिस छोड़िनेछैन। कुनै धन-सम्पत्ति, कुनै बहुमूल्य चीज छोड़िनेछैन।
12बेला आएको छ, दिन आइपुग्यो। किन्नेले आनन्द नगरोस्, बेच्नेले शोक नगरोस्, किनकि क्रोध तिनीहरू जम्मै भीड़माथि परेको छ।
13ती दुवै बाँचुञ्जेल बेच्नेले आफूले बेचेको त्यो जमिन फेरि प्राप्त गर्नेछैन, किनभने समस्त भीड़को बारे यो दर्शन बद्लिनेछैन। तिनीहरूका पापको कारण एक जनाले पनि आफ्नो ज्यान जोगाउनेछैन।
14तिनीहरूले तुरही फुके र सबै कुरा तयार पारे तापनि कोही लड़ाइँ गर्न जानेछैन, किनकि मेरो क्रोध ती जम्मै भीड़माथि परेको छ।
15“बाहिर तरवार र भित्रचाहिँ रूढ़ी र अनिकाल छन्। बाहिर गाउँतिर हुने तरवारले मारिनेछन् र सहरमा हुनेचाहिँ अनिकाल र रूढ़ीको गाँस हुनेछन्।
16अनि बाँचेर उम्कने सबै पर्वतहरूमा बेँसीका ढुकुरझैँ हरेक आ-आफ्ना पापहरूको कारण शोक गर्दैरहनेछ।
17हरेक हात शिथिल हुनेछ र हरेक घुँड़ा निर्बल हुनेछ।
18तिनीहरूले कम्मरमा भाङ्ग्रा लाउनेछन् र त्रास पहिरिनेछन्। सबैका अनुहार लाजले ढाकिनेछन् र तिनीहरू सबैका कपाल खौरिनेछन्।
19तिनीहरूले आफ्नो चाँदी सड़कहरूमा फालिदिनेछन्, र तिनीहरूको सुन अशुद्ध थोकजस्तो हुनेछ। परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्नेछैनन्। सुन र चाँदीले तिनीहरूले आफ्नो भोक मार्न वा पेट भर्न सक्नेछैनन्, किनभने तिनीहरूलाई पापमा पार्ने ठक्कर यही नै थियो।
20आफ्ना बहुमूल्य गरगहनामा तिनीहरूले घमण्ड गरे, र तीबाट तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू र घृणित प्रतिमाहरू बनाए। यसकारण म यी कुरा तिनीहरूका निम्ति अशुद्ध थोक तुल्याइदिनेछु।
21म ती सबै विदेशीहरूलाई लुट्न दिनेछु। म पृथ्वीका दुष्टहरूलाई लूटको मालसरह ती कुरा दिनेछु, र उनीहरूले ती बिटुला पार्नेछन्।
22मेरो अनुहार म तिनीहरूदेखि फर्काउनेछु, र तिनीहरूले मेरो धन-सम्पत्ति संग्रह गरेको ठाउँ बिटुलो पार्नेछन्। डाँकूहरू त्यहाँ पसेर त्यसलाई बिटुलो पार्नेछन्।
23“साङ्लाहरू तयार पार, किनभने देश रक्तपातले भरिएको छ, र सहर उपद्रवले भरिएको छ।
24म जाति-जातिहरूका सबैभन्दा दुष्ट मानिसहरूलाई तिनीहरूका घरहरू अधिकार गर्नलाई ल्याउनेछु। बलिया मानिसहरूको घमण्ड म खतम गर्नेछु, र तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन्।
25जब त्रास आउँछ, तब तिनीहरूले शान्तिको खोजी गर्नेछन्। तर शान्ति कहीँ पनि पाइनेछैन।
26विपद्माथि विपद् आउनेछ, हल्लामाथि हल्ला! तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्नेछन्। पूजाहारीबाट व्यवस्थाको शिक्षा र धर्म-गुरुहरूबाट परामर्श लोप भइजानेछन्।
27राजाले शोक गर्नेछ। राजकुमार निराशमा डुब्नेछ। देशका मानिसहरूका हात त्रासले काँप्नेछन्। तिनीहरूको व्यवहारअनुसार नै म तिनीहरूसित व्यवहार गर्नेछु। तिनीहरूले गरेकै न्यायअनुसार म तिनीहरूको न्याय गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।”