इजकिएल 9:1-11 NNRV2012 - Bible AI

1तब उहाँले ठूलो सोरमा कराउनुभएको मैले सुनें, “सहरका गारदहरूलाई हरेकको हातमा आफ्‍नो हतियारसमेत ल्‍याओ।”

2तब छ जना मानिसहरू हरेकले आ-आफ्‍नो हातमा घातक हतियार लिएर उत्तरतिर फर्केको माथिल्‍लो प्रवेशद्वारबाट आइरहेका मैले देखें। सूती कपड़ा लगाएको र कम्‍मरमा मसीदानी भिरेको एक जना मानिस तिनीहरूसित थियो। तिनीहरू भित्र आए, र काँसाका वेदीको छेउमा उभिए।

3अब इस्राएलका परमेश्‍वरको महिमाचाहिँ करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो। तब परमप्रभुले त्‍यो सूती कपड़ा लाउने र मसीदानी भिर्ने मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो,

4र त्‍यसलाई भन्‍नुभयो, “यरूशलेम सहरका चारैतिर गएर त्‍यसमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदार-निदारमा एउटा चिन्‍ह लगा।”

5मैले सुनिरहँदा उहाँले अरूहरूलाई चाहिँ भन्‍नुभयो, “तिमीहरूचाहिँ दया वा करुणा नगरी सहरभित्र त्‍यसको पछिपछि गएर मार।

6बूढ़ा मानिस, तरुण-तरुणी, स्‍त्री र बालकहरू सबैलाई खतम पार, तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ। मेरो पवित्रस्‍थानदेखि नै सुरु गर।” यसैले तिनीहरूले मन्‍दिरको सामुन्‍ने भएका धर्म-गुरुहरूदेखि नै यो काम सुरु गरे।

7तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मन्‍दिर बिटुलो पारिदेओ, र चोकहरू मारिएकाहरूका लाशहरूले भरिदेओ। जाओ!” यसैले तिनीहरू गएर सहरका चारैतिर मार्न सुरु गरे।

8जब तिनीहरूले मार्दैथिए, र मचाहिँ एकलै छोड़िएँ, तब घोप्‍टो परेर रुँदै मैले भनें, “हे परमप्रभु परमेश्‍वर, यरूशलेममाथि आफ्‍नो क्रोध खन्‍याउनुहुँदा इस्राएलका बचेकाहरू जम्‍मैलाई पनि के तपाईं सर्वनाश गर्नुहुन्‍छ र?”

9उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठूलो छ। देश रक्तपातले भरिएको छ, र सहरचाहिँ अन्‍यायले भरिपूर्ण छ। तिनीहरू भन्‍छन्, ‘परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, परमप्रभुले देख्‍नुहुन्‍न’।

10यसैले म तिनीहरूलाई टिठ्याएर हेर्नेछैनँ। म तिनीहरूलाई छोड्‌नेछैनँ, तर जे तिनीहरूले गरेका छन्, तिनीहरूको कामको बदला म तिनीहरूकै शिरमा खन्‍याइदिनेछु।”

11तब त्‍यो सूती कपड़ा लगाएको र कम्‍मरमा मसीदानी भिरेको मानिसले यसो भनेर खबर ल्‍यायो, “तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरें।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>