उत्‍पत्ति 1:1-31 NNRV2012 - Bible AI

1आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।

2पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो।

3अनि परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो होस्‌।” तब उज्‍यालो भयो।

4र परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो, त्‍यो असल थियो। उहाँले उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नुभयो।

5परमेश्‍वरले उज्‍यालोलाई “दिन” र अँध्‍यारोलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— पहिलो दिन।

6अनि परमेश्‍वरले भन्‍नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्‍यसले पानीलाई दुई भाग गरोस्‌।”

7परमेश्‍वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्‍यस्‍तै भइहाल्‍यो।

8परमेश्‍वरले यस अन्‍तरिक्षलाई आकाश भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— दोस्रो दिन।

9अनि परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्‍मा होस्‌ र ओबानो भूमि देखा परोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।

10परमेश्‍वरले ओबानो भूमिलाई “पृथ्‍वी” भन्‍नुभयो, र जम्‍मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

11अनि परमेश्‍वरले भन्‍नुभयो, “भूमिले वनस्‍पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू पृथ्‍वीमा उमारोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।

12भूमिले वनस्‍पति, बीउ हुने बोटहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू उमार्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

13साँझ पर्‍यो र बिहान भयो— तेस्रो दिन।

14अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌।

15र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।

16अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।

17अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई,

18दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

19साँझ पर्‍यो र बिहान भयो— चौथो दिन।

20अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।”

21यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

22अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।”

23अनि साँझ पर्‍यो र बिहान भयो— पाँचौँ दिन।

24अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो।

25परमेश्‍वरले पृथ्‍वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्‍तुहरू बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

26अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”

27यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

28परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”

29अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌।

30अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।

31आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। वास्तवमा त्‍यो साह्रै राम्रो थियो। अनि साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन।