1अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्लेर नेगेवमा आए।
2पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य थिए।
3तिनी नेगेवबाट यात्रा गरेर बेथेलको त्यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाँगिएको थियो,
4र जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे।
5अब्रामको साथमा लागेका लोतका पनि भेड़ाबाख्रा र गाईबस्तुहरूका बथान र पालहरू थिए।
6त्यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्थामा धान्न सकेन, किनकि तिनीहरूका भेड़ाबाख्रा र गाईबस्तुहरूको सम्पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्ने भए।
7अब्राम र लोतका गाईबस्तुका गोठालाहरूका बीचमा झगड़ा पनि भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बस्थे।
8यसैकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्, किनकि हामी त नातेदार हौं।
9सारा देश तिम्रै अगि छ। तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।”
10लोतले आफ्ना आँखा उठाएर हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, अथवा सोअरतिरको मिश्रदेशजस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। (परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरो यो हो।)
11यसैकारण लोतले यर्दनको जम्मै बेँसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुट्टिए।
12अब्रामचाहिँ कनान देशमा नै बस्न लागे। लोतचाहिँ बेँसीका सहरहरूमा वास गरे। तिनले आफ्नो पाल सदोमसम्म सारे।
13सदोमका मानिसहरू दुष्ट थिए, र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे।
14लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “अब तेरा आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर्।
15तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु।
16म तेरा सन्तानलाई पृथ्वीको धूलोसरह बढ़ाउनेछु, यहाँसम्म कि कसैले धूलो गन्न सक्छ भने तेरा सन्तान पनि गन्न सक्नेछ।
17उठ्, देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु।”
18तब अब्रामले आफ्ना पाल सारे, र हेब्रोनमा भएका मम्रेका फलाँटका रूखहरूमा आए। त्यहाँ आएर तिनी त्यहीँ बसोबास गर्न लागे। त्यहाँ परमप्रभुको निम्ति तिनले एउटा वेदी बनाए।