उत्‍पत्ति 14:1-24 NNRV2012 - Bible AI

1यसै समयमा शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योक र एलामका राजा कदोर्लाओमेर तथा गोयीमका राजा तिदालले

2सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका (अर्थात्‌ सोअरका) राजाका विरुद्धमा युद्ध गरे।

3तिनीहरू सबै सिद्दीम, अर्थात्‌ खारा समुद्रको [1] बेँसीमा जम्‍मा भए।

4बाह्र वर्षसम्‍म त तिनीहरू कदोर्लाओमेरको अधीनमा बसेका थिए। तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।

5चौधौँ वर्षमा कदोर्लाओमेर र उनका मित्र राजाहरू आएर अस्‍तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,

6तथा होरीहरूलाई सेइरको पहाड़ी देशमा मरुभूमिनेर भएको एल-पारानसम्‍म अधीन गराए।

7त्‍यसपछि उनीहरू फर्केर एन-मिशपातमा (अर्थात्‌ कादेशमा) आएर अमालेकीहरूको जम्‍मै देशलाई र हासेसोन-तामारमा बस्‍ने एमोरीहरूलाई पनि अधीन गराए।

8तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात्‌ सोअरका) राजाहरू निस्‍केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्‍मा भए।

9एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू।

10सिद्दीमको बेँसीचाहिँ अलकत्राको धापले भरिएको थियो। र सदोम र गमोराका राजाहरू भाग्‍दाभाग्‍दै तिनीहरूका कोही मानिसहरू त्‍यहीँ जाकिए। बाँकी मानिसहरूचाहिँ पहाड़तिर भागे।

11ती चार राजाहरूले सदोम र गमोराका जम्‍मै मालसामान र खानेकुरा लिएर आफ्‍नो बाटो लागे।

12उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए।

13उम्‍केर भागेको एक जनाले आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्‍कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाँटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए।

14अब्रामले आफ्‍ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्‍नो घरमा जन्‍मेर तालीम पाएका तीन सय अठाह्र जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्‍मै खेदेर गए।

15तिनले शत्रुहरूमाथि आक्रमण गर्न राती आफ्‍ना दासहरूका बीचमा दल-दल बनाए र उनीहरूलाई परास्‍त गरे, र दमस्‍कसको उत्तरतर्फको होबासम्‍मै उनीहरूलाई खेदे।

16तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धन-सम्‍पत्ति, स्‍त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्‍याए।

17कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्‍यका, अर्थात्‌ राजाको उपत्‍यकामा सदोमका राजा तिनलाई भेट गर्न आए।

18अनि शालेमका [2] राजा मल्‍कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए।

19उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए,

19“स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुहुने सर्वोच्‍च परमेश्‍वरबाट अब्रामलाई आशिष्‌ मिलोस्‌।

20सर्वोच्‍च परमेश्‍वर धन्‍यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्‍पिदिनुभयो।”

20अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।

21तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्‍नू।”

22तर अब्रामले सदोमका राजालाई भने, “स्‍वर्ग र पृथ्‍वीका परमप्रभु, सर्वोच्‍च परमेश्‍वरमा मैले यसरी शपथ खाएको छु,

23कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्‍याएँ’ भनेर तपाईंले भन्‍नुहुनेछ।

24मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्‍सा लिनेछैनँ। आनेर, एश्‍कोल र मम्रेले चाहिँ आफ्‍ना भागहरू लिऊन्‌।”

>