1त्यहाँबाट अब्राहाम नेगेवतिर गए, र कादेश र शूरको बीचमा बस्न लागे। तिनी गरार देशमा बसोबास गरे।
2त्यहाँ अब्राहामले आफ्नी पत्नी साराको बारेमा भने, “तिनी त मेरी बहिनी हुन्।” तब गरारका राजा अबीमेलेकले सारालाई झिकाएर लगे।
3तर राती सपनामा अबीमेलेककहाँ आएर परमेश्वरले भन्नुभयो, “हेर्, त्यस स्त्रीलाई झिकाएर ल्याएको हुनाले तँ मरेको जस्तै छस्, किनभने त्यो अर्काकी पत्नी हो।”
4अबीमेलेक अहिलेसम्म साराको नजिक गएका थिएनन्। यसकारण उनले भने, “हे परमप्रभु, के तपाईं निर्दोष जातिलाई मार्नुहुन्छ?
5‘तिनी मेरी बहिनी हुन्’ भनी त्यस मानिस आफैले मलाई भनेको थिएन र? र त्यस स्त्रीले पनि ‘तिनी मेरा दाजु हुन्’ भनी भनेकी थिइन र? मैले त यो काम आफ्नो शुद्ध विवेक र निर्दोष हातले नै गरेको हुँ।”
6तब परमेश्वरले उनलाई सपनामा भन्नुभयो, “हो, मलाई यो कुरो थाहा छ, कि तेरो शुद्ध विवेकले यो तैंले गरेको होस्। मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि म नै हुँ। यसैले त मैले तँलाई त्यसलाई छुन दिइनँ।
7अब त्यस मानिसकी पत्नी फर्काइदे, किनभने त्यो एक अगमवक्ता हो। त्यसले तेरो निम्ति प्रार्थना गरिदिनेछ, र तँ बाँच्नेछस्। तर त्यसलाई फर्काइदिइनस् भने यो कुरो याद राख्, कि तँ र तँसँग भएका सबै निश्चय नै मर्नेछन्।”
8अबीमेलेक सबेरै उठेर आफ्ना सबै अधिकारीहरूलाई बोलाएर यी सबै कुरा बताइदिए। र ती मानिसहरू साह्रै डराए।
9तब अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तपाईंले हामीलाई के गर्नुभयो? मैले तपाईंको के बिगार गरेको थिएँ, र तपाईंले म र मेरो राज्यमा यति ठूलो दोष ल्याउनुभयो? तपाईंले मसित गर्नु नहुने काम गर्नुभयो।”
10अबीमेलेकले फेरि अब्राहामलाई भने, “के सम्झेर तपाईंले मसित यस्तो काम गर्नुभयो?”
11अब्राहामले भने, “किनभने मैले त सोचेको थिएँ, यस ठाउँमा परमेश्वरको डर कसैलाई छैन, र मानिसहरूले मलाई मेरी पत्नीको कारण मार्नेछन्।
12यो कुरो सत्य पनि हो कि तिनी मेरी बहिनी हुन्। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्। र तिनी मेरी पत्नी भइन्।
13अनि जब परमेश्वरले मलाई आफ्ना पिताको घर छोड़ेर परदेशी भएर यताउता घुमिहिँड्ने तुल्याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, ‘दया गरेर तिमीले मेरो विषयमा “यिनी मेरा दाजु हुन्” भन्नू है’।”
14तब अबीमेलेकले भेड़ाबाख्रा, गाई-गोरु, कमारा-कमारीहरू ल्याएर अब्राहामलाई दिए, र तिनकी पत्नी सारालाई पनि फिर्ता गरिदिए।
15अनि अबीमेलेकले भने, “हेर्नुहोस्, मेरो देश तपाईंकै सामुन्ने छ। तपाईंलाई जहाँ मन लाग्छ त्यहीँ बस्नुहोस्।”
16उनले सारालाई भने, “हेर, तिम्रा दाजुलाई मैले चाँदीका एक हजार सिक्का दिएको छु। मैले त्यसद्वारा तिमीसित हुने सबैका नजरमा तिम्रो शिर उठाइदिएको हुँ। सबैका सामु तिमीसित न्यायसङ्गत व्यवहार गरिएको छ।”
17तब अब्राहामले परमेश्वरसित प्रार्थना गरे, र परमेश्वरले अबीमेलेक र तिनकी पत्नी र तिनका कमारीहरूलाई निको पारिदिनुभयो, र तिनीहरूले फेरि जन्माउन सकून्।
18किनभने अब्राहामकी पत्नी साराको कारणले गर्दा परमेश्वरले अबीमेलेकको घरका जम्मैको कोख बन्द गरिदिनुभएको थियो।