उत्‍पत्ति 25:1-34 NNRV2012 - Bible AI

1अब्राहामले अर्की एउटी पत्‍नी विवाह गरे। तिनको नाउँ कतूरा थियो।

2तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्‍माइन्‌।

3योक्षान शेबा र ददानका पिता भए। ददानका सन्‍तान अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू थिए।

4मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए। यी सबै कतूराका सन्‍तान हुन्‌।

5अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई नै दिए।

6तर आफू जीवित छँदै उनका उपपत्नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्‍ना छोरा इसहाकबाट छुट्ट्याएर तिनीहरूलाई पूर्व देशतिर पठाइदिए।

7अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे।

8अब्राहाम दीर्घायु भई पूरा बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए।

9उनका छोराहरू इसहाक र इश्‍माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्‍पेलाको ओड़ारमा गाड़े।

10त्‍यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्‍यहीँ नै अब्राहाम आफ्‍नी पत्‍नी सारासित गाड़िए।

11अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो। त्‍यस बेला इसहाक बेअर-लहै-रोइनेर बसोबास गरे।

12साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलको वृत्तान्‍त यही हो।

13जन्‍म क्रमको सूचीअनुसार इश्‍माएलका छोराहरूका नाउँ यी नै हुन्‌: इश्‍माएलको जेठो छोरो नबायोत, र केदार, अदबेल, मिब्‍साम,

14मिश्‍मा, दुमा, मस्‍सा,

15हदद, तेमा, यतूर, नापीश र केदमा।

16इश्‍माएलका छोराहरू यी नै हुन्‌। तिनीहरूका बस्‍ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै हुन्‌।

17इश्‍माएलको जम्‍मा उमेर एक सय सैँतीस वर्ष थियो, तब तिनको मृत्‍यु भयो र तिनी आफ्‍ना पिता-पुर्खाहरूसँगै मिल्‍न गए।

18मिश्रको सिमानानेर, अश्‍शूर देशतर्फ हवीलादेखि शूरसम्‍म तिनीहरू बसोबास गर्थे। अनि तिनीहरू आफ्‍ना दाजुभाइको शत्रुतामा बस्‍थे।

19अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो। अब्राहाम इसहाकका पिता भए।

20इसहाकले चालीस वर्षको उमेरमा पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गरे।

21तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्‍नुभयो, र रिबेका गर्भवती भइन्‌।

22गर्भमा भएका बालकहरूले एक-अर्कासँग लड़न्‍त गर्न लागे।

22“किन मलाई यस्‍तो भयो?” भनी तिनले परमप्रभुसँग सोध्‍न लागिन्‌।

23परमप्रभुले तिनलाई भन्‍नुभयो,

23“तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्‍मँदाखेरि नै दुई जाति छुट्टाछुट्टै जन्‍मनेछन्‌। एक जना अर्कोभन्‍दा बलवान्‌ हुनेछ, र जेठाले कान्‍छाको सेवा गर्नेछ।”

24तिनको सुत्‍केरी हुने बेला आयो, र तिनको कोखमा जुम्‍ल्‍याहा रहेछन्‌।

25जेठोचाहिँ रातो वर्णको, शरीरभरि रौँको लुगा लाएजस्‍तै जन्‍म्‍यो। यसकारण त्‍यसको नाउँ एसाव राखियो।

26त्‍यसपछि त्‍यसको भाइचाहिँ एसावको कुर्कुच्‍चा हातले समातेर निस्‍क्‍यो। यसैकारण त्‍यसको नाउँ याकूब [1] राखियो। रिबेकाले यिनीहरूलाई जन्‍माउँदा इसहाक साठी वर्ष पुगेका थिए।

27यिनीहरू बढ़ेपछि एसावचाहिँ सिपालु शिकारी र मैदानमा डुलिहिँड्‌ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्‍त स्‍वभावका मानिस भए।

28इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌।

29एक पल्‍ट याकूबले सुरुवा पकाइराखेको बेलामा एसाव मैदानबाट आए। उनलाई भोकले भाउन्‍न छुटेको थियो।

30एसावले याकूबलाई भने, “मलाई त्‍यो रातो सुरुवा अलिकता खान देऊ। मलाई भोकले भाउन्‍न छुटेको छ।” (यसैकारण उनलाई एदोम पनि भनिन्‍थ्‍यो।)

31याकूबले भने, “पहिले मलाई तपाईंको ज्‍येष्‍ठ-अधिकार बेच्‍नुहोस्‌।”

32एसावले भने, “म त मर्नै आँटें। अब मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?”

33याकूबले भने, “पहिले शपथ खाएर मलाई भन्‍नुहोस्‌।” तब उनले शपथ खाए, र आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे।

34त्‍यसपछि याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाव आफ्‍नो बाटो लागे। यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए।

>