1तब याकूब उठेर आफ्नो बाटो लागे, र पूर्ववासीहरूको देशमा पुगे।
2त्यहाँ तिनले मैदानमा एउटा इनार देखे, र त्यसको नजिक भेड़ाका तीन बगाल बसिरहेका थिए, किनकि त्यही इनारबाट मानिसहरूले बगाललाई पानी खुवाउँथे। इनारको मुख ढाक्ने एउटा ठूलो ढुङ्गा थियो।
3जब सबै बगालहरू त्यहाँ जम्मा हुन्थे, तब गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुड़ाएर भेड़ाहरूलाई पानी खान दिन्थे। त्यसपछि तिनीहरूले इनारको मुखमा फेरि त्यो ढुङ्गा राखिदिन्थे।
4याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?”
5तिनले भने, “तिमीहरू नाहोरका नाति लाबानलाई चिन्छौ?”
6याकूबले तिनीहरूलाई सोधे, “के उहाँ सन्चै हुनुहुन्छ?”
7तिनले भने, हेर, साँझ परेको छैन। भेड़ाबाख्राहरूलाई जम्मा गर्ने बेला भएको छैन। भेड़ाहरूलाई पानी खुवाएर फेरि चराउन लैजाओ।
8तिनीहरूले भने, “सबै बगालहरू जम्मा नभई अनि इनारको मुखबाट ढुङ्गा नगुड़ाइकन हामी त्यसो गर्न सक्दैनौं। त्यसपछि मात्र हामी भेड़ाहरूलाई पानी खुवाउँछौं।”
9याकूब तिनीहरूसँग कुरा गरिरहँदा, राहेल आफ्ना बुबाका भेड़ाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि भेड़ाहरू तिनले नै चराउने गर्थिन्।
10जब याकूबले आफ्ना मामा लाबानकी छोरी राहेल र आफ्ना मामाका भेड़ाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुड़ाइदिए, र आफ्ना मामा लाबानका भेड़ाहरूलाई पानी खुवाइदिए।
11तब याकूबले राहेललाई म्वाइँ खाए, र रुन लागे।
12याकूबले राहेललाई “म तिम्रा बाबुको नातेदार, रिबेकाको छोरा हुँ” भनी बताइदिए। तब राहेल कुदेर गइन् र आफ्ना बाबुलाई यो कुरा बताइदिइन्।
13आफ्ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई कुदेर आए, र तिनलाई अँगालो हालेर म्वाइँ खाए, अनि तिनलाई आफ्नो घरमा ल्याए।
14अनि याकूबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, “वास्तवमा तिमी मेरो हाड़ र मासु हौ।”
15लाबानले तिनलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्ने? ज्याला कति हुनुपर्छ मलाई भन।”
16लाबानका दुई छोरीहरू थिए। जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो।
17लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ सुडौल र सुन्दरी थिइन्। याकूबले राहेललाई प्रेम गरे।
18तिनले भने, “तपाईंकी कान्छी छोरी राहेलको निम्ति सात वर्षसम्म म तपाईंको सेवा गर्नेछु।”
19लाबानले भने, “त्यसलाई अरू कोहीसँग विवाह गरिदिनुभन्दा त तिमीलाई दिनु नै असल हो। हुन्छ, मसँगै बस।”
20यसकारण याकूबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो।
21त्यसपछि याकूबले लाबानलाई भने, “मैले तपाईंको सेवा गरिसकें। अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्। म तिनीसँग सहवास गर्न चाहन्छु।”
22तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए।
23तर साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे।
24लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारी हुनलाई दिए।
25याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्। तब तिनले लाबानलाई भने, “तपाईंले मप्रति किन यस्तो गर्नुभयो? मैले राहेलको निम्ति सेवा गरेको होइन र? तपाईंले किन मसित यसरी छल गर्नुभयो?”
26लाबानले भने, “हाम्रो देशमा जेठीको भन्दा कान्छीको विवाह अघिबाट गर्नुहुँदैन।
27लेआसँग एक साता पूरा गर, र अर्को सात वर्ष मेरो सेवा गरेको सट्टामा म तिमीलाई कान्छी पनि दिइहाल्छु।”
28याकूबले त्यसै गरे, र लेआसँग एक साता पूरा गरे। तब लाबानले आफ्नी छोरी राहेललाई पनि याकूबकी पत्नीको रूपमा दिए।
29लाबानले आफ्नी कमारी बिल्हालाई आफ्नी छोरी राहेलकी कमारी हुनलाई दिए। याकूबले राहेलसँग पनि सहवास गरे।
30तिनले लेआलाई भन्दा राहेललाई बढ़ी प्रेम गर्थे, र अर्को सात साल याकूबले लाबानको सेवा गरे।
31लेआलाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो। तर राहेलचाहिँ बाँझी नै रहिन्।
32लेआ गर्भवती भएर एक जना छोरो जन्माइन्, र तिनले त्यसको नाउँ यसो भनेर रूबेन राखिन्, “साँच्ची नै परमप्रभुले मेरो दु:ख देख्नुभएको छ। अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ।”
33तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्। तिनले भनिन्, “म अवहेलित भएकी छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो।” र तिनले त्यसको नाउँ शिमियोन राखिन्।
34तिनी फेरि गर्भवती भइन् र एक जना छोरो जन्माएर भनिन्, “यस पाली त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति तीन जना छोराहरू पाइसकें।” यसकारण त्यसको नाउँ लेवी राखियो।
35तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।” यसैले त्यसको नाउँ यहूदा राखियो। त्यसपछि तिनले जन्माउन छोड़िन्।