1लाबानका छोराहरूले यसो भनिरहेका याकूबले सुने, “हाम्रा बुबाका सबै थोक याकूबले लिइसके, र हाम्रा बुबाकै सम्पत्तिबाट तिनले यत्ति धेरै पाएका छन्।”
2र याकूबले लाबानको व्यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिलेजस्तै नभएको देखे।
3तब परमप्रभुले याकूबलाई भन्नुभयो, “तेरा पिता-पुर्खा र तेरो कुटुम्बकहाँ फर्केर जा, र म तँसँग हुनेछु।”
4यसकारण याकूबले राहेल र लेआलाई आफ्ना बगाल भएको खर्कमा बोलाइपठाए,
5र तिनीहरूलाई भने, “तिमीहरूका बुबाको मप्रतिको भावना पहिलेजस्तै नभएको म देख्दैछु। तर मेरा पिताका परमेश्वर मसँग हुनुभएको छ।
6मेरो बलले भ्याएसम्म मैले तिमीहरूका बुबाको सेवा गरेको तिमीहरूलाई थाहै छ।
7तापनि तिमीहरूका बुबाले मलाई ठग्नुभएको छ, र मेरो ज्याला दश पल्ट बदल्नुभएको छ। तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनुभएन।
8उनले थोप्ले जत्ति तिम्रो ज्याला होस् भन्दा सबै बगालले थोप्ले नै बियाए। अनि उनले पेटारे जत्ति तिम्रो ज्याला होस् भन्दा सबै बगालले पेटारे नै बियाए।
9यसरी परमेश्वरले तिमीहरूका बुबाका बगालहरू लिएर मलाई दिनुभयो।
10“बगाल मिसिने बेलामा बगालमाथि चढ्ने बोकाहरू पेटारे, थोप्ले र छिर्केमिर्के भएका सपनामा मैले देखें।
11त्यस बेला परमेश्वरका दूतले सपनामा मलाई ‘ए याकूब’ भन्नुभयो। मैले भनें ‘हजूर।’
12र उहाँले भन्नुभयो, ‘तेरा आँखा उठाएर बगालमाथि चढ्ने सबै बोकाहरूलाई हेर्। ती पेटारे, थोप्ले र छिर्केमिर्के छन्, किनकि लाबानले तँमाथि जे गरिरहेछ सो मैले देखेको छु।
13तैंले खामामा तेल खन्याएको र भाकल गरेको ठाउँ बेथेलका परमेश्वर म नै हुँ। अब उठ्, यस ठाउँबाट फर्केर तेरो जन्मभूमिमा जा’।”
14तब राहेल र लेआले तिनलाई भने, “हाम्रा बुबाको घरमा हाम्रा निम्ति हकको केही अंश छ र? के उहाँले हामीलाई विदेशीजस्तै सम्झनुभएको छैन र?
15उहाँले त हामीलाई बेचिदिनुभयो, र हाम्रा निम्ति दिइएको पैसा पनि आफैले चलाइसक्नुभएको छ।
16हाम्रा बुबाबाट परमेश्वरले लानुभएको सबै सम्पत्ति हाम्रै र हाम्रा छोराछोरीहरूको भएको छ। अब परमेश्वरले तपाईंलाई जे-जसो गर्नू भन्नुभयो त्यसै गर्नुहोस्।”
17तब याकूब उठेर आफ्ना छोराहरू र पत्नीहरूलाई ऊँटहरूमाथि राखे।
18अनि तिनले आफ्ना सबै गाईबस्तुलाई अगि धपाई पद्दन-आराममा रहँदा आफूले प्राप्त गरेका जम्मै सम्पत्ति लिएर आफ्ना पिता इसहाककहाँ कनान देशमा जानलाई तिनी निस्के।
19त्यस बेला जब लाबानचाहिँ आफ्ना भेड़ाको ऊन कत्रन गएका थिए, तब राहेलले आफ्ना बुबाका घर-देवताहरू चोरेर लगिन्।
20त्यसबाहेक अरामी लाबानलाई याकूबले झुक्क्याए, कारण तिनको भाग्ने मति छ भनेर तिनले उनलाई बताएनन्।
21यसरी आफूसँग भएका सबै कुरा लिएर याकूब भागेर महानदी यूफ्रेटिस तरे, र गिलादको पहाड़ी देशतर्फ लागे।
22तेस्रो दिनमा याकूब भागेको खबर लाबानले सुने,
23अनि उनले आफ्ना दाजुभाइहरूलाई साथमा लिएर सात दिनसम्म तिनलाई लखेटे, र गिलादको पहाड़ी देशमा तिनलाई भेट्टाए।
24तब अरामी लाबानकहाँ राती सपनामा परमेश्वर देखा पर्नुभयो, र उनलाई भन्नुभयो, “होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही कुरा नभन्।”
25लाबानले याकूबलाई भेट्टाउँदा याकूबले आफ्नो पाल गिलादको पहाड़ी देशमा टाँगेका थिए, र लाबानले पनि आफ्ना दाजुभाइहरूका साथमा त्यहीँ पाल टाँगे।
26लाबानले याकूबलाई भने, “तिमीले मलाई झुक्क्याएर मेरा छोरीहरूलाई लड़ाइँका कैदीहरूलाई झैँ लगेर यो के गरेको?
27तिमी किन मलाई नभनीकन सुटुक्क भागेर मलाई धोका दियौ? म वीणा र खैँजड़ीको खुशीयालीमा तिमीलाई पठाउनेथिएँ।
28मेरा नातिनातिना र छोरीहरूलाई बिदाइको म्वाइँ खान मलाई किन दिएनौ? यो तिमीले मूर्खता गर्यौ।
29तिमीलाई हानि गर्ने शक्ति मसँग छ। तर तिम्रा बुबाका परमेश्वरले हिजो राती मलाई यसो भन्नुभयो,
30‘होशियार गर्, तैंले याकूबलाई असल कि खराब केही पनि नभन्।’ अब तिम्रा बुबाको घरमा जान तिमीले ज्यादै इच्छा गरेका हुनाले तिमी हिँड़ेका छौ, तर मेरा देवताहरूचाहिँ किन चोर्यौ?”
31याकूबले लाबानलाई जवाफ दिए, “तपाईंले आफ्ना छोरीहरूलाई मबाट जबरजस्तसाथ खोस्नुहुन्छ कि भन्ने मलाई डर लाग्यो।
32तर तपाईंका देवताहरू जससँग भेट्टाउनुहुन्छ त्यो जीवित रहनेछैन। मसँग भएको तपाईंको कुन चीज छ सो हाम्रा कुटुम्बका सामुन्ने चिन्नुहोस्, र लिनुहोस्।” राहेलले ती चोरेकी याकूबलाई थाहै थिएन।
33तब लाबान याकूबको पालभित्र, त्यसपछि लेआको र दुवै कमारीहरूका पालभित्र पसे, तर केही पाउन सकेनन्। उनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे।
34तर राहेलचाहिँ ती घर-देवताहरू लिएर आफ्नो ऊँटको काठीमा राखी तीमाथि बसिरहेकी थिइन्। लाबानले पालमा जताततै धुँइधुँइती खोजे तर ती पाउनै सकेनन्।
35राहेलले आफ्ना बुबालाई भनिन्, “हजूर, मसँग नरिसाउनुहोला। म नछुने भएकी हुनाले मैले तपाईंको अगाड़ि उठ्नु भएन।” यसरी उनले खोज्न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन्।
36याकूब झोकिए, र लाबानलाई हप्काएर भने,
37“मेरो अपराध के छ र तपाईंले मलाई यसरी लखेट्नुभयो? अब तपाईंले मेरा सबै मालतालहरूको खानतलाशी लिनुभयो। तपाईंका घरेलु मालहरूमध्ये के भेट्टाउनुभयो खै? ती तपाईंका र मेरा कुटुम्बहरूका अगाड़ि राखिदिनुहोस्। यिनीहरूले हामी दुईका बीचमा इन्साफ गरिदिनेछन्।”
38“यी बीस वर्षदेखि म तपाईंसँग छु। त्यतिञ्जेल तपाईंका भेड़ीहरू र बाख्रीहरूका गर्भ कहिल्यै तुहेनन्। मैले तपाईंका बगालका भेड़ाहरू खाइनँ।
39जङ्गली जनावरहरूले फहराएकाहरूलाई पनि तपाईंकहाँ मैले ल्याउँदिनथें। बरु क्षतिपूर्ति मैले गर्थें। दिनमा होस् वा रातमा होस् चोरी भएकाहरूको मोल पनि तपाईंले मबाटै लिनुहुन्थ्यो।
40दिउँसोको गर्मीले र रातको चिसोले मलाई क्षीण बनाएको थियो— मेरो हालत यस्तै थियो। मेरा आँखामा पटक्कै निद्रा लाग्दैनथ्यो।
41यी बीस वर्ष म यसरी तपाईंको घरमा रहें। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष सेवा गरें, र छ वर्षसम्म तपाईंका बगालको हेरचाह गरें। र तपाईंले मेरो ज्याला दश चोटि बदल्नुभयो।
42मेरा बुबाका परमेश्वर, जो अब्राहामका परमेश्वर, जो इसहाकको “भय” हुनुहुन्छ, यदि उहाँ मसँग नहुनुभए निश्चय नै अहिले तपाईंले मलाई रित्तै हात पठाउनुहुनेथियो। तर परमेश्वरले मेरो कष्ट र मेरो हातको मेहनत देख्नुभयो, र तपाईंलाई गत रात हप्काउनुभएको हो।”
43लाबानले जवाफमा याकूबलाई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्। यी छोराछोरी पनि मेरै छोराछोरी हुन्। यी बगालहरू मेरै बगालहरू हुन्, र तिमी यहाँ जो देख्छौ सबै मेरै हुन्। तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के गर्न सक्छु र?
44अब आऊ, तिमी र म आपसमा एउटा करार बाँधौं, र तिम्रो र मेरो बीचमा त्यही नै साक्षी होस्।”
45तब याकूबले एउटा ढुङ्गो ल्याएर खामोजस्तै खड़ा गरे।
46अनि याकूबले आफ्ना दाजुभाइहरूलाई भने, “तपाईंहरू पनि ढुङ्गाहरू ल्याउनुहोस्।” तिनीहरूले ढुङ्गा ल्याएर एक थुप्रो लगाए, र तिनीहरूले त्यही ढुङ्गाको थुप्रोनेर खानपान गरे।
47लाबानले त्यस ढुङ्गाको थुप्रोको नाउँ यगर-सहदूता राखे, र याकूबले त्यसलाई गलेद भने।
48लाबानले भने, “आज यो ढुङ्गाको थुप्रो तिम्रो र मेरो बीचमा साक्षीको रूपमा खड़ा छ।”
49यसैकारण त्यसको नाउँ गलेद राखियो। त्यसको नाउँ मिस्पा पनि थियो, किनभने उनले भने, “हामी एक-अर्काबाट अलग हुँदा पनि तिम्रो र मेरो बीचमा परमप्रभुले हेरचाह गरून्।
50तिमीले मेरा छोराछोरीहरूलाई अनर्थ गर्यौ भने अथवा मेरा छोरीहरूबाहेक अरू पत्नीहरू ल्यायौ भने, हामीसँग कोही मानिस नभए तापनि याद गर, तिम्रो र मेरो बीचमा परमेश्वर साक्षी हुनुहुन्छ।
51लाबानले याकूबलाई फेरि भने, “मैले तिम्रो र मेरो बीचमा खड़ा गरेर राखेको यो ढुङ्गाको थुप्रो र खामो हेर।
52यो थुप्रो र यो खामो साक्षी रहून् कि यो थुप्रो नाघेर म तिमीकहाँ हानि गर्न पारि आउनेछैनँ, अनि यो थुप्रो र खामो नाघेर तिमी पनि मकहाँ हानि गर्नलाई वारि नआऊ।
53अब्राहामका परमेश्वर र नाहोरका परमेश्वर र उनीहरूका पिताका परमेश्वरले हाम्रा बीचमा इन्साफ गरून्।”
54याकूबले त्यस पहाड़ी देशमा बलिदान चढ़ाए, र आफ्ना कुटुम्बहरूलाई खानपान दिए। तिनीहरू खानपान गरेर त्यो रात त्यही ठाउँमा बिताए।
55लाबान बिहान सबेरै उठे, आफ्ना नाति-नातिनाहरू र छोरीहरूलाई म्वाइँ खाएर तिनीहरूलाई आशीर्वाद दिए। त्यसपछि उनी बिदा भएर घर फर्के।