उत्‍पत्ति 34:1-31 NNRV2012 - Bible AI

1याकूबबाट लेआले जन्‍माएकी छोरी दीना त्‍यस ठाउँका स्‍त्रीहरूसँग भेट गर्न गइन्‌।

2त्‍यस ठाउँका रजौटा हिव्‍वी हमोरका छोरा शकेमले तिनलाई देखे, र लगेर तिनीसित सहवास गरेर तिनको अपमान गरे।

3उनको मन याकूबकी छोरी दीनातर्फ बस्‍यो। उनले ती कन्‍यासित प्रेम गरेर मीठा-मीठा कुरा गरे।

4तब शकेमले आफ्‍ना बुबा हमोरलाई यसो भने, “मेरी पत्‍नी तुल्‍याउनलाई त्‍यो कन्‍या मलाई ल्‍याइदिनुहोस्‌।”

5शकेमले आफ्‍नी छोरी दीनालाई बिगारेको कुरा याकूबले सुने। तर तिनका छोराहरू चरनमा गाईबस्‍तुसँग गएका हुनाले तिनीहरू नफर्कुञ्‍जेल तिनी चूपै लागिबसे।

6तब शकेमका बुबा हमोरचाहिँ कुरा गर्न याकूबकहाँ आए।

7भएका घटनाहरू सुनेर याकूबका छोराहरू चरनबाट आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए, किनभने याकूबकी छोरीलाई बिगारेर शकेमले इस्राएलको बेइज्‍जत गरिदिएका थिए। यस्‍तो काम गर्नु उचित थिएन।

8तर हमोरले तिनीहरूसँग यसो भनेर कुरा गरे, “मेरो छोरो शकेमको मन तपाईंकी छोरीतर्फ आसक्‍त भएको छ। कृपा गरी त्‍यसलाई दीनासँग विवाह गर्न दिनुहोस्‌।

9तपाईंहरू हामीसँग बिहाबारी गर्नुहोस्‌। तपाईंका छोरीहरू हामीलाई दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरू लिनुहोस्‌।

10तपाईंहरू हामीसँगै बस्‍नुहोस्, र यो ठाउँ तपाईंहरूका निम्‍ति खुला रहनेछ। यहीँ बसोबास गर्नुहोस्, व्‍यापार गर्नुहोस्‌ र सम्‍पत्ति जोड्‌नुहोस्‌।”

11शकेमले पनि ती कन्‍याका बाबु र दाजुभाइहरूलाई भने, “ममाथि तपाईंहरूको निगाह रहोस्‌। तपाईंहरू मसँग जे भन्‍नुहुन्‍छ म दिनेछु।

12दाइजो र विवाहको उपहार जत्तिसुकै भन्‍नुहुन्‍छ माग्‍नुहोस्, र तपाईंहरूले भन्‍नुभएबमोजिम म दिनेछु। केवल त्‍यो कन्‍यासँग मलाई विवाह गर्न दिनुहोस्‌।”

13शकेमले तिनीहरूकी बहिनी दीनालाई बिगारेका हुनाले याकूबका छोराहरूले शकेम र हमोरसँग कपट राखेर जवाफ दिए।

14तिनीहरूले उनीहरूलाई भने, “खतना नभएकोलाई हाम्री बहिनी दिने काम हामीबाट हुनै सक्‍दैन। किनभने त्‍यसो गर्‍यौं भने हाम्रो बेइज्‍जत हुन्‍छ।

15यही शर्तमा मात्र हामी तपाईंले भन्‍नुभएको कुरा मान्‍नेछौं, कि तपाईंहरू पनि हामीजस्‍तै हुनुहोस्, अर्थात्‌ प्रत्‍येक पुरुषको खतना गरिओस्‌। तब मात्र हामी हाम्रा चेलीहरू तपाईंहरूलाई दिनेछौं,

16र हामी तपाईंहरूका चेलीहरू लिनेछौं, र हामी तपाईंहरूसँगै एउटै जाति भएर बसोबास गर्नेछौं।

17तर हाम्रो कुरा सुनेर पनि तपाईंहरूले खतना गर्न मान्‍नुहुन्‍न भनेता हाम्री छोरी लिएर हामी यहाँबाट गइहाल्‍नेछौं।”

18हमोर र उनका छोरा शकेमलाई तिनीहरूको कुरा मन पर्‍यो।

19ती युवकले यो काम गर्नु कति पनि ढिलाएनन्, किनभने याकूबकी छोरीसित उनी मोहित भएका थिए। उनी आफ्‍ना बुबाको घरानाका सबैभन्‍दा बढ़ी आदरणीय थिए।

20यसकारण हमोर र उनका छोरा शकेम सहरको मूल ढोकामा आएर सहरवासीहरू सबैलाई यसो भने,

21“यी मानिसहरू शान्‍तिप्रिय छन्‌। तिनीहरू यस देशमा बसेर व्‍यापार गरून्‌। तिनीहरूका निम्‍ति जमिन पनि प्रशस्‍तै छ।

22हाम्रा र तिनीहरूका बीचमा बिहाबारी पनि चलोस्‌। तिनीहरू हामीसित बसोबास गरेर एउटै जाति बन्‍न यही शर्तमा मन्‍जूर गर्छन्‌ कि तिनीहरूको खतना भएझैँ हामीहरूको हरेक पुरुषको खतना हुनुपर्छ।

23के तिनीहरूका गाईबस्‍तु र धन-सम्‍पत्ति र सबै वस्‍तुहरू हाम्रै हुनेछैनन्‌ र? केवल हामी तिनीहरूको कुरा मन्‍जूर गरौं, र तिनीहरू हामीसित बस्‍नेछन्‌।”

24सहरको मूल ढोकाबाट निस्‍कने सबैले हमोर र उनका छोरा शकेमको कुरा माने, र ती सबैको खतना भयो।

25तेस्रो दिन जब उनीहरू साह्रै पीडित अवस्‍थामा थिए, तब याकूबका दुई छोराहरू, दीनाका दाजुहरू शिमियोन र लेवी आ-आफ्‍नो तरवार लिएर गुप्‍त रूपले सहरमा पसे, र सबै पुरुषहरूलाई मारे।

26तिनीहरूले हमोर र उनका छोरा शकेमलाई पनि तरवारले काटेर मारे, र शकेमको घरबाट दीनालाई लिएर गए।

27अनि याकूबका छोराहरूले तिनीहरूकी बहिनीलाई उनीहरूले बिगारिदिएका हुनाले ती मारिएकाहरूकहाँ आएर त्‍यस सहरलाई लुटे।

28तिनीहरूले उनीहरूका बगाल र बथानहरू, गधाहरू, र त्‍यस सहरमा र खेतमा भएका सबै कुरा पनि लगे।

29उनीहरूका सबै धन-सम्‍पत्ति, सबै बालबच्‍चा, र उनीहरूका पत्‍नीहरू कैद गरे र घरमा जे-जति थिए ती सबै तिनीहरूले लुटे।

30तब याकूबले शिमियोन र लेवीलाई भने, “कनानी र परिज्‍जीहरूको यस देशका बासिन्‍दाहरूमा तिमीहरूले मलाई अप्रिय तुल्‍याएर सङ्कष्‍टमा पारिदिएका छौ। मेरा मानिसहरू थोरै छन्‌। यदि उनीहरू सबै भेला भएर मेरो विरुद्धमा हमला गरे भने मलाई र मेरो घरका सबैलाई खतम पार्नेछन्‌।”

31तर तिनीहरूले उत्तर दिए, “के त्‍यसले हाम्री बहिनीलाई वेश्‍याजस्‍तै तुल्‍याउनु हुन्‍छ त?”

>