उत्‍पत्ति 44:1-34 NNRV2012 - Bible AI

1तब योसेफले आफ्‍नो घरको भण्‍डारेलाई यसो भनेर हुकुम गरे, “उनीहरूले लैजान सक्‍नेजति अनाज ती मानिसहरूका धोक्राहरूमा भरिदेऊ, र हरेक मानिसको चाँदी आफ्‍नो धोक्रोको मुखमा राखिदेऊ।

2अनि मेरो कचौरा, अर्थात्‌ मेरो चाँदीको कचौराचाहिँ अनाजको चाँदीसमेत त्‍यस कान्‍छाचाहिँको धोक्राको मुखमा हालिदेऊ।” र त्‍यसले योसेफले भनेबमोजिम गर्‍यो।

3बिहान उज्‍यालो हुने बित्तिकै उनीहरूका गधाहरूसँगै तिनले ती मानिसहरूलाई पठाइदिए।

4उनीहरू सहरबाट अलिक पर पुगेपछि योसेफले आफ्‍नो भण्‍डारेलाई भने, “झट्टै ती मानिसहरूका पछिपछि जाऊ, र उनीहरूलाई भेट्टाएपछि यसो भन्‍नू, ‘तिमीहरूले किन भलोको बदला खराबी गर्‍यौ?

5यही कचौरा होइन जसबाट मेरा मालिक पिउनुहुन्‍छ र जसद्वारा उहाँलाई शकून-अपशकून पनि हुन्‍छ? यो त तिमीहरूले खराब काम गर्‍यौ’।”

6त्‍यसले उनीहरूलाई भेट्टाएपछि उनीहरूसँग त्‍यही कुरा गरे।

7उनीहरूले त्‍यसलाई भने, “हजूर, किन यस्‍तो कुरा गर्नुहुन्‍छ? यस्‍तो काम हजूरका दासहरूबाट दूर रहोस्‌!

8हेर्नुहोस्, हाम्रा धोक्राका मुखमा हामीले भेट्टाएको चाँदी त हामीले कनान देशबाट फिर्ता ल्‍यायौं भने कसरी हामीले हजूरका मालिकको महलबाट चाँदी अथवा सुन चोरी गर्थ्यौं र?

9हजूरका दासहरूमध्‍ये जससँग त्‍यो फेला पर्छ, त्‍यो मारिओस्‌। र हामी पनि हजूरका कमारा हुनेछौं।”

10त्‍यसले भन्‍यो, “तिमीहरूले भनेजस्‍तै होस्‌ त! जससँग त्‍यो फेला पर्ला त्‍यो मेरो कमारा हुनेछ। बाँकीचाहिँ निर्दोष ठहरिनेछन्‌।”

11तब हरेकले हतपत गरी आ-आफ्‍नो धोक्रो भूइँमा झारेर फुकाले।

12अनि भण्‍डारेले जेठादेखि लिएर कान्‍छासम्‍मको तलाशी लियो, र त्‍यो कचौरा बेन्‍यामीनको धोक्रोमा फेला पर्‍यो।

13तब उनीहरूले आफ्‍ना लुगा च्‍याते, र गधा लदाएर सहरतिर फर्के।

14यहूदा र उनका दाजुभाइहरू योसेफको घरमा आइपुग्‍दा तिनी त्‍यहीँ थिए, र उनीहरूले तिनको सामु लम्‍पसार परेर प्रणाम गरे।

15योसेफले उनीहरूलाई भने, “तिमीहरूले यस्‍तो के काम गर्‍यौ? मजस्‍तो मानिससँग अन्‍तर्ज्ञान छ भनी के तिमीहरूलाई थाहा थिएन?”

16यहूदाले भने, “हामी हजूरलाई के भनौं, अथवा अब हामीले कसरी आफ्‍नो सफाइ दिन सक्‍छौं र? हजूरका दासहरूको अपराध परमेश्‍वरले प्रकट गर्नुभएको छ। हेर्नुहोस्, अब हामी हजूरका कमारा भयौं। हामी र त्‍यो पनि जसको हातमा त्‍यो कचौरा फेला पर्‍यो।”

17तर योसेफले भने, “मबाट यस्‍तो कहिल्‍यै हुनेछैन। जसको हातमा त्‍यो कचौरा फेला पर्‍यो त्‍यही मात्र मेरो कमारा हुनेछ। तर तिमीहरूचाहिँ आफ्‍ना बुबाकहाँ शान्‍तिपूर्वक जाओ।”

18तब यहूदाले तिनको सामुन्‍ने गएर भने, “हे मेरा प्रभु, बिन्‍ती छ, दासलाई एउटा कुरा गर्ने अनुमति दिनुहोस्‌। हजूर राजासमान हुनुभए तापनि आफ्‍नो दासप्रति रिसानी माफ रहोस्‌।

19हजूरले आफ्‍ना दासहरूलाई यसो भनेर सोध्‍नुभएको थियो, ‘के तिमीहरूका बुबा अथवा भाइ छ कि?’

20र हामीले हजूरलाई भन्‍यौं, हाम्रा बुबा एक वृद्ध मानिस हुनुहुन्‍छ, र उहाँको वृद्धावस्‍थाको बालक हाम्रो एउटा सानो भाइ पनि छ। त्‍यसका दाजु मरिसके, र आफ्‍नी आमापट्टिको अब त्‍यो मात्र छ, र त्‍यसका बुबाले त्‍यसलाई खूबै माया गर्नुहुन्‍छ।

21“तब हजूरले आफ्‍ना दासहरूलाई भन्‍नुभयो, ‘त्‍यसलाई यहाँ मकहाँ ल्‍याओ, र म त्‍यसलाई हेर्छु।’

22हामीले हजूरलाई भन्‍यौं, ‘त्‍यस केटाले आफ्‍ना बुबालाई छोड्‌न सक्‍दैन। किनकि यदि त्‍यसले आफ्‍ना बुबालाई छोड्‌नुपर्‍यो भने त्‍यसका बुबाचाहिँ मरिजानुहुन्‍छ।’

23तर हजूरले आफ्‍ना दासहरूलाई भन्‍नुभयो, ‘तिमीहरूको कान्‍छो भाइ तिमीहरूसँग आएन भने तिमीहरू फेरि मेरो सामु आउन पाउनेछैनौ।’

24तब हामी हाम्रा बुबा, हजूरका दासकहाँ गयौं। अनि उहाँलाई हजूरका कुरा सुनायौं।

25“जब हाम्रा बुबाले ‘फेरि गएर अलिक अनाज किन’ भन्‍नुभयो,

26तब हामीले उहाँलाई भन्‍यौं, ‘हामी जान सक्‍दैनौं। यदि हाम्रो कान्‍छो भाइ हामीसित जाने हो भने मात्र हामी जान्‍छौं। किनकि हाम्रो कान्‍छो भाइ हामीसित गएन भनेता हामी ती मानिसको सामु जान पाउनेछैनौं।’

27“तब हजूरका दास मेरा बुबाले हामीलाई भन्‍नुभयो, ‘मेरी पत्‍नीतर्फबाट दुई जना छोराहरू भएका तिमीहरूलाई थाहै छ।

28एउटाले मलाई छोड़िहाल्‍यो। निश्‍चय नै त्‍यसलाई धुजाधुजा पार्‍यो होला भनी मैले भनें। त्‍यहाँदेखि मैले त्‍यसलाई देखेको छैनँ।

29यसलाई पनि तिमीहरूले मबाट लगेर यदि केही खतरा त्‍यसमाथि आइपर्‍यो भने, तिमीहरूले मेरो यो फुलेको कपाल अफसोसमै चिहानमा [1] पुर्‍याउनेछौ।’

30“यसकारण हजूरका दास हाम्रा बुबाकहाँ पुग्‍दा त्‍यो केटो हामीसँग भएन भनेता उहाँको प्राण त्‍यही केटाको प्राणसँग गाँसिएको हुनाले,

31हाम्रा साथमा त्‍यो नभएको देख्‍ने बित्तिकै उहाँको मृत्‍यु हुनेछ। हामी हजूरका दासहरूले हाम्रा बुबाको फुलेको कपाल अफसोसमै चिहानमा [2] पुर्‍याउनेछौं।

32हजूरको दास, म आफै यस केटाको निम्‍ति बुबाको अगि जमानी बसेको छु। अनि हाम्रा बुबालाई मैले यसो भनें: ‘यदि मैले त्‍यसलाई फर्काएर तपाईंकहाँ ल्‍याइनँ भनेता जीवनभरि म तपाईंको सामु दोषी ठहरिनेछु।’

33“यसकारण अब बिन्‍ती छ, यस केटाको सट्टामा म, हजूरको दासलाई नै हजूरले आफ्‍नो कमारा तुल्‍याउनुहोस्, र यस केटाले चाहिँ यसका दाजुहरूसँग जान पाओस्‌।

34किनकि यो केटो मेरो साथमा छैन भने मेरा बुबाकहाँ म कसरी जानु? मेरा बुबामाथि आइपर्ने विपत्ति म हेर्न सक्‍दिनँ।”

>