उत्‍पत्ति 48:1-22 NNRV2012 - Bible AI

1केही समयपछि “हजूरका पिता बिरामी हुनुहुन्‍छ” भनेर कसैले योसेफलाई खबर दियो। यसकारण आफ्‍ना दुई छोरा मनश्‍शे र एफ्राइमलाई आफ्‍नो साथमा लिएर तिनी याकूबकहाँ गए।

2अनि “तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्‌” भन्‍ने खबर कसैले याकूबलाई सुनायो। तब इस्राएल आफै बल गरेर पलङ्गमा बसे।

3याकूबले योसेफलाई भने, सर्वशक्तिमान्‌ परमेश्‍वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो, र उहाँले मलाई आशीर्वाद दिएर भन्‍नुभयो,

4हेर, म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु, र संख्‍यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु, र तँपछि तेरा सन्‍तानलाई यो देश अनन्‍तसम्‍म अधिकार गर्न दिनेछु।

5“अब म मिश्रमा आउन अगि मिश्रमा जन्‍मेका तेरा यी दुई छोराहरू मेरै हुन्‌। रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्‍शे मेरै हुनेछन्‌।

6तिनीहरूभन्‍दा पछि जन्‍मेका सन्‍तानहरूचाहिँ तेरा हुनेछन्‌। यिनीहरूले हक पाउँदा एफ्राइम र मनश्‍शेका नाउँमा यिनीहरू बोलाइनेछन्‌।

7किनभने म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्‍न अझ केही टाढ़ा छँदै कनान देशमा राहेल मरिन्, र एप्रात, अर्थात्‌ बेथलेहेममा जाने बाटैमा मैले तिनलाई गाडें।”

8योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्‌?”

9योसेफले आफ्‍ना बुबालाई भने, “परमेश्‍वरले मलाई यहाँ दिनुभएका यी मेरा छोराहरू हुन्‌।” तब इस्राएलले भने, “तिनीहरूलाई यहाँ मकहाँ ल्‍याइदे। म तिनीहरूलाई आशीर्वाद दिनेछु।”

10त्‍यस बेला उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, र तिनी राम्ररी देख्‍न सक्‍दैनथे। यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए। अनि तिनले तिनीहरूलाई म्‍वाइँ खाएर अँगालो हाले।

11इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख देख्‍न पाउँला भनी ठानेकै थिइनँ, तर हेर्, मलाई तेरा सन्‍तान पनि परमेश्‍वरले देख्‍न दिनुभयो।”

12तब योसेफले तिनीहरूलाई इस्राएलका घुँड़ाबाट हटाए, र तिनले भूइँमा घोप्‍टेर साष्‍टाङ्ग प्रणाम गरे।

13योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्‍नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्‍शेलाई आफ्‍नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्‍याए।

14तर इस्राएलले आफ्‍नो दाहिने हात पसारेर कान्‍छा एफ्राइमको टाउकोमा राखे, र मनश्‍शे जेठा भए पनि यिनैको टाउकोमा इस्राएलले आफ्‍नो देब्रे हात राखे।

15तब तिनले योसेफलाई आशीर्वाद दिएर भने, जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँड्‌थे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मलाई डोर्‍याउनुभएको छ,

16ती स्‍वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, यिनैमा मेरो नाउँ अमर भइरहोस्, र मेरा पिता अब्राहाम र इसहाकका नाउँ अमर होऊन्‌। र पृथ्‍वीमा यिनीहरू अनगन्‍ती भई संख्‍यामा बढून्‌।

16उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन्।

17तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेका देखेर योसेफलाई मन परेन, र तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात हटाउनलाई उठाए।

18तिनले बुबालाई भने, “हे बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो। तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्‌।”

19तर तिनका बुबाले अस्‍वीकार गरी भने, “मलाई थाहा छ, छोरा, मलाई थाहा छ। यसको पनि एउटा वंश हुनेछ, र यो पनि ठूलो हुनेछ। त्‍यसो भए तापनि यसको भाइचाहिँ योभन्‍दा महान्‌ हुनेछ, र त्‍यसका सन्‍तान जातिहरूको एक समूह हुनेछ।”

20इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए, यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाड़ि राखे।

20“इस्राएलले तेरो नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछ: परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌।”

21तब इस्राएलले योसेफलाई भने, “अब म मर्न लागेको छु, तर परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा लैजानुहुनेछ।

22त्‍यसबाहेक तेरा दाजुभाइहरूभन्‍दा तँ बढ़ी भएकोले मैले तँलाई एउटा पहाड़को पाखा दिएको छु, जो मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ।”

>