1योसेफ आफ्ना बुबामाथि घोप्टो परेर रोए, र तिनलाई म्वाइँ खाए।
2तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्ना पिताको लाशमा सुगन्धित लेप मल्न लगाए। यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्धित लेप मले।
3यसको निम्ति चालीस दिन लागेको थियो, किनकि सुगन्धित लेप लाउन यति नै दिन लाग्थ्यो। तिनको निम्ति मिश्रीहरूले पनि सत्तरी दिन शोक मनाए।
4तिनको निम्ति शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि तिम्रो निगाह ममाथि छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदेओ।
5मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु। कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्नू।’ यसकारण कृपा गरी गएर मेरा बुबालाई त्यहीँ गाड़ेर फर्किआउन पाऊँ।”
6फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड़।”
7यसैले आफ्ना बुबालाई गाड्न योसेफ गए। तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्य मानिसहरू,
8साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए। केवल तिनीहरूका बालबच्चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोड़िएर रहे।
9तिनका साथमा रथहरू र घोड़चढ़ीहरू पनि गए। त्यो एउटा ठूलो मलामीको समूह थियो।
10जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्यहाँ योसेफले सात दिनसम्म आफ्ना बुबाको निम्ति विलाप गरे।
11त्यस देशका बासिन्दा कनानीहरूले आतादको खलामा गरेको विलाप देखेर भने, “यो त मिश्रीहरूको ठूलो विलाप रहेछ।” यसकारण यर्दननेरको त्यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो। त्यो यर्दन पारिपट्टि छ।
12यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे।
13तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, र हित्ती एप्रोनसँग खेतसमेत अब्राहामले चिहान बनाउनलाई किनेको ओड़ार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओड़ारमा तिनलाई गाड़े।
14आफ्ना बुबालाई गाड़िसकेपछि आफ्ना दाजुभाइहरू र आफ्ना बुबालाई गाड्न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के।
15बुबाको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्मनी गर्नेछ, र हामीले उसलाई गरेका सबै खराबीको बदला लिनेछ।”
16यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्दा अघि तपाईंका बुबाले यस्तो आज्ञा दिनुभएको थियो:
17‘तिमीहरूले योसेफलाई भन: कृपा गरी उनीहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर।’ अब बिन्ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्वरका दासहरूका अपराध क्षमा गर्नुहोस्।” उनीहरूको यस्तो कुरा सुनेपछि योसेफ रोए।
18तिनका दाजुहरू पनि आएर तिनका सामुन्ने घोप्टो परेर भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौं।”
19तर योसेफले उनीहरूलाई भने, “नडराओ, के म परमेश्वरको स्थानमा छु र?
20तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्।
21यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्त्वना दिए।
22योसेफ र तिनका बुबाका परिवारहरू मिश्रमै बसे, र योसेफ एक सय दश वर्षसम्म बाँचे।
23योसेफले एफ्राइमको पनातिसम्म पनि देखे। मनश्शेका छोरा माकीरका भर्खर जन्मेका बालबच्चा पनि योसेफकै घुँड़ामा राखिए।
24तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्वरले निश्चय नै तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ।”
25अनि योसेफले इस्राएलका सन्तानलाई शपथ खान लाएर भने, “परमेश्वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।”
26यसरी योसेफ एक सय दश वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप मलेर बाकसमा हालेर मिश्रमा नै राखे।