उत्‍पत्ति 7:1-24 NNRV2012 - Bible AI

1तब परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्‍तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु।

2सबै जातका शुद्ध पशुहरूमध्‍येका सात जोड़ी, अर्थात्‌ भाले र पोथी, र जुन-जुन शुद्ध छैनन्‌ तिनीहरूमध्‍येका दुई, अर्थात्‌ भाले र पोथी,

3र पक्षीहरूमध्‍येका पनि सात जोड़ी, अर्थात्‌ भाले र पोथी समस्‍त पृथ्‍वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्‍न तिनीहरूलाई तैंले ल्‍याउनू।

4अबको सात दिनमा म पृथ्‍वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु। जति प्राणीलाई मैले बनाएको छु, ती सबैलाई पृथ्‍वीबाट नाश गर्नेछु।”

5तब परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नोआले सबै गरे।

6नोआ छ सय वर्षको हुँदा पृथ्‍वीमा जलप्रलय भएको थियो।

7नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्‍नलाई जहाजमा गए।

8शुद्ध पशुहरू र अशुद्ध पशुहरू, पक्षीहरू र भूइँमा घस्रने हरेक प्राणी

9परमेश्‍वरको हुकुमबमोजिम जोड़ी-जोड़ी, अर्थात्‌ भाले र पोथी नोआकहाँ जहाजमा आए।

10अनि ठीक सात दिनपछि पृथ्‍वीमा जलप्रलयको पानी पर्न लाग्‍यो।

11नोआका जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा ठूला-ठूला अगाधका सब मूलहरू फुटे, र आकाशका द्वारहरू खुले।

12अनि चालीस दिन र रातसम्‍म पृथ्‍वीमा पानी परिरह्यो।

13ठीक त्‍यसै दिन नोआ, तिनका छोराहरू शेम, हाम र येपेत, तिनकी पत्‍नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे।

14तिनीहरू र आ-आफ्‍नो जातअनुसारका सबै वन-पशुहरू, सबै पालिने पशुहरू, भूइँमा घस्रने सबै प्राणीहरू र आ-आफ्‍नो जातका सबै थरीका पक्षीहरू पसे।

15जीवनको सास हुने सबै प्राणीका जोड़ी-जोड़ी गरी नोआकहाँ जहाजमा आए।

16परमेश्‍वरले नोआलाई हुकुम गर्नुभएबमोजिम जहाजभित्र पसेका प्राणी भाले र पोथी गरी आए। त्‍यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो।

17पृथ्‍वीमा चालीस दिनसम्‍म जलप्रलय भइरह्यो। पानी बढ़ेर जहाजलाई उचाल्‍न लाग्‍यो र त्‍यो जमिनबाट माथि जान लाग्‍यो।

18पानी धेरै परिरह्यो र चौपट्टै बढ़ेर पृथ्‍वीमा भरिन लाग्‍यो, र जहाज पानी माथि-माथि उत्रन लाग्‍यो।

19पानी पृथ्‍वीमा जोडसँग परिरह्यो र आकाशमुनिका जम्‍मै अल्‍गा-अल्‍गा पर्वतहरू ढाकिए।

20पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्‍म डुबाइदियो।

21पृथ्‍वीमा चलहल गर्ने सबै जीवित जीवात— के पक्षी, के पालिने पशु, के वन-पशु, के भूइँमा घस्रने सबै प्राणीहरू— तथा सबै मानिसहरू मरे।

22ओबानो भूमिमा भएका सास हुने सबै प्राणी मरे।

23अनि जति प्राणी जमिनमा थिए— के मानिस, के पशु, के घस्रने जन्‍तु, के पक्षी, सबै मासिए। तिनीहरू पृथ्‍वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे।

24अनि पृथ्‍वीमा पानी एक सय पचास दिनसम्‍म रहिरह्यो।