उत्‍पत्ति 8:1-22 NNRV2012 - Bible AI

1तर परमेश्‍वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन-पशु र पालिने पशुहरूलाई सम्‍झनुभयो, अनि उहाँले पृथ्‍वीमा बतास चलाइदिनुभयो, र पानी घट्‌न लाग्‍यो।

2अगाधका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्‍द गरियो।

3अनि पानी पृथ्‍वीमा लगातार घट्‌दैगयो। एक सय पचास दिन बितेपछि पानी घट्यो।

4सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पहाड़हरूमा अड़ियो।

5दशौँ महिनासम्‍म पानी लगातार घट्‌दैगयो। दशौँ महिनाको पहिलो दिनमा डाँड़ाहरूका टाकुरा देखा परे।

6चालीस दिनपछि आफूले बनाएको जहाजको झ्‍याल नोआले खोले,

7र एउटा कागलाई उड़ाइदिए, अनि जमिनको पानी नसुकुञ्‍जेल त्‍यो काग यताउता उड़िरह्यो।

8तब नोआले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उड़ाइदिए।

9त्‍यस ढुकुरले आफ्‍ना खुट्टा टेक्‍ने ठाउँ नपाएकोले त्‍यो तिनीकहाँ नै जहाजमा फर्क्‍यो, किनभने पृथ्‍वीमा अझै पानी थियो। तब तिनले आफ्‍नो हात पसारेर त्‍यस ढुकुरलाई समाती आफूकहाँ जहाजभित्र ल्‍याए।

10अरू सात दिन पर्खेर तिनले फेरि त्‍यस ढुकुरलाई जहाजबाट उड़ाइपठाए।

11त्‍यो ढुकुर साँझमा तिनीकहाँ फर्क्‍यो। त्‍यसको चुच्‍चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्‍ने नोआले थाहा पाए।

12तब तिनले अरू सात दिन पर्खेर त्‍यस ढुकुरलाई फेरि उड़ाइपठाए, तर यस पाली त्‍यो तिनीकहाँ फर्केर आएन।

13नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्‍वीबाट पानी सुक्‍यो, र नोआले जहाजको छत उघारेर हेरे, जमिन सुक्‍खा थियो।

14अनि दोस्रो महिनाको सत्ताईसौँ दिनमा जमिन पूर्ण रूपले सुक्‍यो।

15तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो,

16“तँ, तेरी पत्‍नी, तेरा छोराहरू र तेरा बुहारीहरूसमेत जहाजबाट निस्‍की।

17तेरो साथमा भएको हरेक जीवित प्राणी, पशु र पक्षी दुवै, र घस्रने जन्‍तुलाई बाहिर निकाल्, र तिनीहरू पृथ्‍वीमा प्रशस्‍त गरी बढून्, र तिनीहरू पृथ्‍वीमा फैलिँदै र संख्‍यामा वृद्धि हुँदैजाऊन्‌।”

18तब नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी तथा बुहारीहरू जहाजबाट निस्‍केर आए।

19र सबै पशु, घस्रने जन्‍तु, पक्षी र पृथ्‍वीमा हिँड्‌डुल गर्ने सबै जीवजन्‍तुहरू पनि तिनीहरूका जात-जातअनुसार जहाजबाट निस्‍केर आए।

20अनि नोआले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्‍येबाट लिई होमबलि चढ़ाए।

21त्‍यसको मीठो बास्‍ना लिनुभएपछि परमप्रभुले आफ्‍नो मनमा भन्‍नुभयो, अब म फेरि कहिल्‍यै मानिसको खातिर पृथ्‍वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्‍छन्‌। अहिले मैले गरेजस्‍तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ।

22“पृथ्‍वी रहुञ्‍जेल बीउ छर्ने र फसल काट्‌ने समय, जाडो र गर्मी, ग्रीष्‍म र शिशिर, र दिन र रातको अन्‍त हुनेछैन।”