उपदेशक 10:1-20 NNRV2012 - Bible AI

1जसरी मरेका झीँगाहरूले सुगिन्‍धत अत्तरलाई दुर्गन्‍धित तुल्‍याइदिन्‍छन्, त्‍यसरी नै थोरै मूर्खताले बुद्धि र सम्‍मानलाई बेकामको बनाइदिन्‍छ।

2बुद्धिमान्‌ मानिसको मन सोझो बाटोमा तर निर्बुद्धि मानिसको मन बाङ्गो बाटोमा लागेको हुन्‍छ।

3बाटोमा हिँड्‌दा पनि मूर्खले विचारै गर्दैन र सबैलाई त्‍यसले आफ्‍नो मूर्खता जनाउँछ।

4हाकिमको रीस तिम्रो विरुद्धमा उठे तापनि तिमीले आफ्‍नो काम नछोड। चूपचाप बस्‍नाले ठूला-ठूला भूल शान्‍त हुन्‍छन्‌।

5सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्‍तो किसिमको खराबी जो हाकिमबाट हुन्‍छ:

6मूर्खहरू धेरै उच्‍च पदमा राखिन्‍छन्, तर धनीहरू निम्‍न स्‍थानमा बस्‍छन्‌।

7मैले दासहरूलाई घोड़ामा सवारी भएका र राजकुमार दासझैँ पैदलै हिँड़ेका देखेको छु।

8खाड़ल खन्‍ने मानिस आफै त्‍यसमा जाकिन सक्‍छ, र पर्खाल भत्‍काउने मानिसलाई साँपले डस्‍न सक्‍छ।

9ढुङ्गा फोर्ने मानिसलाई तीबाट चोट लाग्‍न सक्‍छ, अनि दाउरा काट्‌ने मानिस ती दाउराबाटै खतरामा पर्न सक्‍छ।

10बन्‍चरो बोधो छ र त्‍यो उध्‍याएको छैन भने ज्‍यादै बल प्रयोग गर्नुपर्छ, तर सीपले सफलता ल्‍याउँछ।

11लट्ठ्याउन अघि नै साँपले डस्‍यो भने सपेरालाई केही फाइदा हुँदैन।

12बुद्धिमान्‌ मानिसको मुखका वचन शिष्‍टाचार भएका हुन्‍छन्, तर मूर्खचाहिँ आफ्‍नै बोलीले नष्‍ट हुन्‍छ।

13सुरुमा त्‍यसले अर्थहीन कुरा गर्छ। अन्‍त्‍यमा त्‍यसको कुरा दुष्‍ट पागलपना मात्र हुन्‍छ।

14मूर्खले कुरा गरेको गरेकै हुन्‍छ।

14के हुने हो कसैले जान्‍दैन— त्‍यसको पछि के हुने त्‍यसलाई कसले बताउन सक्‍छ र?

15मूर्ख आफ्‍नो कामले आफै थाक्‍छ, त्‍यसले सहर जाने बाटै चिन्‍दैन।

16जुन देशमा नोकर राजा थियो र जसमा राजकुमारहरूले एकाबिहानै भोज खान्‍छन्, त्‍यस देशलाई धिक्‍कार छ।

17त्‍यो देश सुखी छ, जसका राजा कुलीन परिवारमा जन्‍मेका छन्, र जसका राजकुमारहरूले मतवालापनको निम्‍ति होइन तर बलको निम्‍ति ठीक समयमा भोजन गर्छन्‌।

18यदि कुनै मानिस अल्‍छे छ भने, घरको धुरी भत्‍कन्‍छ। यदि त्‍यो हात बाँधेर बस्‍छ भने, त्‍यसको घर चुहिन्‍छ।

19खुशीयालीको लागि भोज तयार गरिन्‍छ, र दाखमद्यले जीवनलाई आनन्‍दित तुल्‍याउँछ। तर, पैसाले नै हर कुरा सुल्‍झाउँछ।

20आफ्‍नो सोचाइमा पनि राजाको निन्‍दा नगर, अथवा धनीलाई आफ्‍नो कोठामा नसराप। किनकि आकाशको पक्षीले तिम्रो कुरा लैजाला, र उड़िरहेको चराले तिमीले भनेको कुरा बताइदेला।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>