1मैले आफ्नो मनमा विचार गरें, “आऊ, अब असल कुरोचाहिँ के हो भनी पत्ता लाउन म सुख-विलाससित तिम्रो जाँच गर्नेछु।” तर त्यो पनि व्यर्थै रहेछ भनी प्रमाणित भयो।
2मैले भनें, “हाँसो मूर्खता हो। अनि सुख-विलासले के फाइदा गर्छ?”
3दाखमद्य पिएर तथा मूर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्ल तुल्याउन कोशिश गरें— मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्याउँदैथियो। आकाशमुनि यस छोटो जीवनमा मानिसहरूका निम्ति असल काम के हो सो जान्न भनी मैले इच्छा गरें।
4मैले ठूला योजनाहरू थालें। मैले मेरो निम्ति घरहरू बनाएँ। मैले दाखको खेत स्थापना गरें।
5मैले बगैँचाहरू र उद्यानहरू बनाएँ र तिनमा सबै प्रकारका फलफूलका रूखहरू रोपें।
6लहलह बढ्दैगरेका वृक्षहरूका उद्यानहरूलाई सिँचाइ गर्न मैले पानीका ठूला-ठूला जलाशयहरू बनाएँ।
7मैले कमारा-कमारीहरू किनें र मेरो घरमा जन्मेका अरू कमारा-कमारी पनि थिए। मअघि यरूशलेममा हुने अरू कुनैका पनि मेरा भन्दा धेरै गाईबस्तुका बथान र भेड़ाबाख्राहरूका बगाल थिएनन्।
8मैले मेरो निम्ति सुन र चाँदी तथा राजाहरू र देश-देशबाट धन-सम्पत्ति थुपारें। मैले गायक र गायिकाहरू र एउटा स्त्रीगृह पनि मानिसका हृदयको मनोरञ्जनको निम्ति प्राप्त गरें।
9यरूशलेममा मेरो अघिका सबैभन्दा म धेरै महान् भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रह्यो।
10मेरा आँखाले अभिलाषा गरेको केही प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ। कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो।
11तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्येक कुरा व्यर्थ थियो। बतासलाई खेदेको जस्तो मात्र रहेछ। सूर्यमुनि केही उपलब्धि भएन।
12तब बुद्धि, तथा पागलपन र मूर्खता पनि के रहेछन् भनी सोच्नलाई मैले मेरा विचार त्यसतिर फर्काएँ। राजाले अघि नै गरिराखेका कामभन्दा तिनको पछि आउनेले अरू के बढ़ी गर्न सक्छ र?
13मैले के देखें भने जसरी अँध्यारोभन्दा उज्यालो असल हुन्छ, त्यसरी नै मूर्खताभन्दा बुद्धि असल हुन्छ।
14बुद्धिमान् मानिसका आँखा त्यसको शिरमा हुन्छन्, तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ। तर मैले थाहा पाएँ कि यी दुवैमाथि एउटै दशा आइपर्नेछ।
15तब मैले आफ्नो मनमा विचार गरें, “मूर्खको दशा ममाथि पनि आइलाग्नेछ। म बुद्धिमान् भएको के लाभ भयो त?” मैले मेरो मनमा भने, “यो पनि व्यर्थै रहेछ।”
16किनकि बुद्धिमान् मानिसको पनि मूर्खको झैँ धेरै सम्झना रहँदैन। आउने दिनहरूमा दुवै जना बिर्सिइनेछन्। मूर्खजस्तै बुद्धिमान् मानिस पनि मर्नैपर्छ।
17यसैले मैले मेरो जीवनलाई घृणा गरें, किनभने सूर्यमुनि गरेको काम मेरो निम्ति दु:खदायी रहेछ। ती सबै व्यर्थ हुन्, बतासलाई खेदेको जस्तो मात्र।
18सूर्यमुनि सबै कुरा, जसका निम्ति मैले परिश्रम गरेको छु, ती सबै मैले घृणा गरें, किनभने मैले ती मपछि आउनेको निम्ति छोड्नैपर्छ।
19अनि कसले जान्दछ, त्यो बुद्धिमान् हो कि मूर्ख? तापनि मैले सूर्यमुनि गरेका सबै कार्यहरू त्यसकै अधीनमा रहनेछन्, जसमा मैले मेरा सारा प्रयास र सीप लगाएको छु। यो पनि व्यर्थ हो।
20तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्झेर म स्वयम् निराश भएँ।
21किनभने बुद्धि, ज्ञान र निपुणतासित कुनै मानिसले काम गरे तापनि त्यसले प्राप्त गरेका सबै अरू कसैको लागि छोड़िदिनैपर्छ, जसले त्यसको निम्ति काम गरेकै छैन। यो पनि व्यर्थ, र ठूलो दुर्भाग्य हो।
22सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्तासहितको परिश्रमबाट मानिसले के पाउँछ र?
23त्यसका सबै दिनका काम पीर र दु:ख हुन्। राती पनि त्यसको मनले विश्राम पाउँदैन। त्यो पनि व्यर्थै हो।
24मानिसले खानु, पिउनु र आफ्नो काममा सन्तुष्ट रहनुभन्दा अरू अझ बढ़ी केही गर्न सक्दैन। यो पनि परमेश्वरको हातबाट आएको म देख्छु।
25किनभने उहाँविना कसले खान वा सुख प्राप्त गर्न सक्छ र?
26जुन मानिसले परमेश्वरलाई खुशी तुल्याउँछ त्यसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ। तर पापीलाई चाहिँ उहाँले परमेश्वरलाई खुशी तुल्याउने व्यक्तिको निम्ति धन-सम्पत्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ। यो पनि व्यर्थ, र बतासलाई खेदेको जस्तो मात्र हो।