उपदेशक 4:1-16 NNRV2012 - Bible AI

1फेरि मैले हेरें, र सूर्यमुनि भइरहेका सबै अत्‍याचार देखें। अत्‍याचारमा परेकाहरूको आँसु मैले देखें, अनि तिनीहरूलाई सान्‍त्‍वना दिने कोही छैन। अत्‍याचारीहरूका पक्षमा शक्ति थियो, र अत्‍याचारमा परेकाहरूलाई सान्‍त्‍वना दिने कोही थिएन।

2यसैले मैले प्रष्‍टै भनें कि मृतकहरू जुन मरिसकेका छन्, तिनीहरू हालका जीवितहरूभन्‍दा खुशी छन्‌।

3तर ती दुवैभन्‍दा पनि अझ सुखीचाहिँ त्‍यो व्‍यक्ति हो, जो अहिलेसम्‍म भएको छैन, र जसले सूर्यमुनि गरिने दुष्‍ट काम देखेकै छैन।

4अनि मैले यो देखें कि सबै परिश्रम र उपलब्‍धिहरूचाहिँ मानिसले आफ्‍नै छिमेकीलाई ईर्ष्‍या गरेको कारणबाट मात्र हुँदारहेछन्‌। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो।

5मूर्ख आफ्‍ना हात बाँधेर बस्‍छ र आफ्‍नो विनाश आफै ल्‍याउँछ।

6परिश्रमसाथ कमाएको र बतासलाई खेदेको दुई मुट्ठी भन्‍दा शान्‍तिसित एक मुट्ठी भएको अझ असल हो।

7फेरि मैले सूर्यमुनि केही व्‍यर्थ देखें।

8एउटा एकलो मानिस थियो, त्‍यसका न त छोरा न दाजुभाइ थिए। त्‍यसको परिश्रमको अन्‍त्‍यै थिएन, तापनि त्‍यो आफ्‍नो धन-सम्‍पत्तिमा सन्‍तुष्‍ट हुँदैनथ्‍यो। त्‍यसले सोध्‍यो, “कसको लागि म मेहनत गरिरहेको छु? जीवनको सुख म किन त्‍याग्‍दैछु?” यो पनि व्‍यर्थ हो, एउटा दु:खदायी कुरा।

9एकभन्‍दा दुई असल हो, किनभने तिनीहरूले आफ्‍नो कामको असल फल पाउनेछन्‌।

10यदि एउटा लोट्‌यो भने त्‍यसको मित्रले त्‍यसलाई उठाउन सहायता गर्छ। तर लोट्‌दा पनि उठाउने कोही साथी नहुने बिचरा!

11त्‍यस्‍तै यदि दुई जना सँगै सुते भने ती न्‍याना हुन्‍छन्, तर एकलै त कसरी न्‍यानो हुने?

12एक जनालाई कसैले जित्‍ला, तर दुई जनाले त आफ्‍ना सुरक्षा गर्न सक्‍छन्‌। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन।

13चेताउनी नलिने वृद्ध तर मूर्ख राजाभन्‍दा निर्धन तर बुद्धिमान्‌ युवक अझ उत्तम हो।

14त्‍यो युवक झ्‍यालखानबाट निस्‍केर राजा हुन पुगेको होला, वा त त्‍यो आफ्‍नो राज्‍यमा निर्धन जन्‍मेको होला।

15मैले के देखें भने सूर्यमुनि जिउने र हिँड्‌डूल गर्ने सबै राजाको उत्तराधिकारी त्‍यही युवकको पछि लागे।

16तिनीहरू अघिका सबै मानिसहरूको कुनै अन्‍त्‍य थिएन, तर जो तिनीहरूपछि आए उनीहरू त्‍यस उत्तराधिकारीसँग प्रसन्‍न भएनन्‌। यो पनि व्‍यर्थ हो, र बतासलाई खेदेको जस्‍तो मात्र हो।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>